स्टेसनमा लिन को आए?

|

काठमाडौं :  सपना, बाध्यता र रहरको आयतन बढ्दै गएपछि मान्छे एक स्थानबाट अर्को स्थानमा पुग्छ। गाउँदेखि शहर, शहरदेखि परदेश। 

एक स्थानबाट अर्को स्थानमा पुगेर उतै बस्नु वा पुन आफ्नो थात थलो फर्किनु एक प्रक्रिया हो। नयाँ ठाउँ नयाँ परिवेशमा आफूलाई अभ्यस्त बनाउन मिहिनेत गर्छ मान्छे।

नेपालमा पनि एक स्थानबाट अर्को स्थानमा जाने लर्को उस्तै छ। त्यसमध्ये एक गन्तव्य हो काठमाडौं।  हरेक दिन देशका सुदूर कुना कुनाबाट यात्रु बोकेका सवारी साधनहरू काठमाडौं नाकाबाट प्रवेश गर्छन्। 

देश संघीयतामा गइसके पनि देशको सम्पूर्ण शक्ति काठमाडौंले आफ्नो मुठ्ठीमा राखेको छ।  त्यसैले नागरिकका लागि काठमाडौं आउनैपर्ने बाध्यता बन्छ।  कसैका लागि अवसर बन्छ,  कसैका लागि आफ्ना रहर।  काठमाडौं अवसर रहर र बाध्यताको ट्रान्जिट पोइन्ट हो।

देशका कुना कुनाबाट काठमाडौं आएर संघर्ष गरेका र गरिसकेका विभिन्न क्षेत्रमा आबद्ध व्यक्तिहरूलाई आज हामीले  पहिलोपटक किन र कहिले काठमाडौं आउनुभएको थियो? स्टेशनमा लिन को आएको थियो र पहिलो दिन कहाँ बास बस्नुभएको थियो? भनेर आफ्नो विगत सम्झाउने प्रयास गरेका छौँ। 

​​डा. कुन्दन अर्याल (प्रमुख, त्रिवि पत्रकारिता केन्द्रीय विभाग)

२०२८ सालमा सप्तरीबाट सिमरा हुँदै काठमाडौं आएको हुँ। मामा सुशील प्याकुरेल यहीँ हुनुहुन्थ्यो। उहाँ लिन आउनुभएको थियो। ज्ञानेश्वरमा बसेको याद छ। खासमा सानैदेखि होस्टल बसेर पढेको हुँ। समयसँगै रहर फेरिँदै गए। उमेरअनुसार आफ्ना रूचि फेरिँदै गए। पत्रकारितामा रूचि थियो। प्राध्यापन पेशाले विशेष रूपले तान्यो।

मोहन मैनाली (लेखक तथा पत्रकार)

प्रोफेसर बन्ने सपना बोकेर रत्नराज्य लक्ष्मी क्याम्पस पढ्न वि.स २०४२ सालमा पहिलोपटक झापाबाट काठमाडौं आएको थिएँ। त्यसबेला दाजु  गुरू मैनाली र फुपूको छोरी गंगा उप्रेती यहीँ पढ्दै हुनुहुन्थ्यो। दाजुको समय नमिलेर दिदी चाहिँ मलाई बसपार्कमा लिन आउनुभएको थियो।

उहाँ पद्मकन्यामा पढ्नुहुन्थ्यो। दाजु अन्य साथीहरूसँग मिलेर बाघबजारमा डेरा गरेर बस्नुहुन्थ्यो। त्यसदिन म दाजु र दाजुका साथीहरूसँग बाघबजारमा बसेको थिएँ।

तीर्थ कोइराला ( वरिष्ठ पत्रकार)

पहिलोपटक एसएलसी सकेपछि घुम्न भनेर वि. २०३४ सालमा राजधानीमा पाइला टेकेको थिएँ। मामा माइजू यतै भएकाले बसपार्कमा मलाई मामा लिन आउनुभएको थियो। त्यो दिन बागबजार बसेको थिएँ। न्याय क्षेत्रमा रूचि भएकाले ३७ सालमा कानुन पढ्न पुन: काठमाडौं आएँ।

मनीष झा (सांसद, रास्वपा)

बच्चैदेखि विभिन्न प्राइभेट ब्राण्डहरूबारे विशेष रूचि थियो। ती ब्राण्डका प्रमुखहरूको नाम सुन्दा मलाई त्यस्तै केही बन्नुपर्छ भन्ने लागेको थियो।  हाम्रा पालामा बिबिएसको विशेष चर्चा हुने गर्थ्यो। तर बिबिए पढ्ने रहर जाग्यो।

वि.स ०५७ साल हुनुपर्छ,  सान इन्टरनेशनल कलेजमा बिबिए पढ्न काठमाडौं आएको थिएँ।  त्यसदिन बसपार्कमा लिन साथी राकेश कापडी आएका थिए। उनी पनि यहीँ पढ्थे। त्यसदिन कुपण्डोल बसेको थिएँ।

केशव अधिकारी (पूर्वडिआइजी)

चितवनको नारायणी पुल बनिसकेको थिएन।  त्यसैले भैरहवाबाट वि.स २०३२ सालमा म र मेरो भाइ पोखरा हुँदै काठमाडौं आएका थियौँ। मामा लिन आउनुभएको थियो। पहिलो रात चाबहिल बसेको थिएँ। भैरहवामा हुँदा हुलाकबाट गोरखापत्रमा लेखहरू पठाउँथेँ। मलाई लेखनप्रति रूचि थियो,लेखक हुनुपर्छ भन्ने लाग्थ्यो। समयले कोल्टो फेर्‍यो, विस्तारै प्रहरीतर्फ आकर्षित भएँ, प्रहरी बनेँ।

अनिता विन्दु (पत्रकार तथा सञ्चारकर्मी)

२०५२ सालको असोजमा मेरो जीवनमा नसोचेको घटना घट्न पुग्यो। बुबाको हत्या भयो। त्यसपछि माघमा स्याङ्जाबाट काठमाडौं पढ्न बहिनीहरूसहित आएकी हुँ।

त्यसताका दाजु राजेन्द्र पोखरेल र मामा माइजू यहीँ हुनुहुन्थ्यो। पहिलो दिन भने मामा माइजूको घट्टेकुलाको घरमा बसेकी थिएँ। पत्रकार बन्ने सपना समयले देखाएको थियो। गायन र खेलमा विशेष रूचि थियो।

सुरेश गैह्रे (संगीतकार/ डिएसपी, सशस्त्र प्रहरी)

वि.स २०५४ सालमा मेरो मामाघरको हजुरबुबा (खिमानन्द खनालबिरामी भएपछि उपचार गर्न काठमाडौं आएको थिएँ। बानेश्वरमा गाउँको एकजना दाइ खेम क्षेत्री भेट हुनुभयो।  उहाँ नेपाली सेनामा कार्यरत हुनुहुन्थ्यो।

पहिलो दिन अनामनगरमा लग्नुभएको थियो। अनामनगरमा नै बास बसेँ। त्यसको केही समयपछि पढ्न काठमाडौं आएँ। रत्नराज्य लक्ष्मी क्याम्पसमा भर्ना भएँ। संगीत र प्रहरीमा नै रूचि थियो। अन्तत: यिनै रहरहरू नै पछ्याएँ।  

सीमा आभास (कवि)

विराटनगरमा आइए सकेर कम्प्युटर सिकाउने काम गर्थेँ। कसैले काठमाडौंमा कम्प्युटर सिकाउनेका लागि राम्रो आम्दानी हुन्छ भनेर सुनायो।  कम्प्युटर सिकाउने उद्देश्यले म २०५८ सालमा पहिलोपटक काठमाडौं आएकी हुँ।

त्यसबेला कपनको सरस्वतीनगरमा मेरा काइला मामा मणिराज वाग्ले बस्नुहुन्थ्यो। मलाई बसपार्कमा मामा लिन आउनुभएको थियो। पहिलो दिन मामाको घरमा बसेँ। पछिनारायण सापकोटामायालु’ भन्ने साहित्यकार साथीले विभिन्न साथीहरूलाई भेट्टाउनुभएको थियो। पछि आउने जाने भइरह्यो। डिग्री पढ्न भने पुन काठमाडौं आएँ।

डा. श्रीधर खनाल (लेखक तथा चिकित्सक)

सायद २०५५ साल हुनुपर्छ। पहिलोपटक विद्यालय टुरका क्रममा काठमाडौं आएको हुँ। पाल्पाको श्री भवानी माविमा म कक्षा ६ मा पढ्थेँ। टुरमा आउने क्रममा बालुवाटारको शिवपुरी स्कुलमा  बास बसेको याद छ।

जिन्दगीमा यो नै पेशामा आबद्द हुन्छु भन्ने थिएन तर पढाइ अवस्था हेर्दा डाक्टर हुनुपर्छ भन्ने लाग्यो। ६४ सालमा भने एमएमबिबिएस तयारी गर्न पुन काठमाडौं आइपुगेँ। 

भूपू पाण्डे (गायक)

गायनमा रूचि भएकाले गायनसम्बन्धी पढाइ काठमाडौंमा हुन्छ भन्ने सुनेको थिएँ। मलाई काठमाडौं पनि दाङको कुनै सानो सहर जस्तो होला भन्ने लाग्थ्यो। वि.स २०६२ सालमा जब म यहाँ आएँ, सोचेको काठमाडौं  र आफूले पहिलोपटक भोग्दै गरेको काठमाडौं फरक रहेछ।  यहाँ मेरो फूपुको मितिनीको भाइ  (विष्णु महर्जनबस्नुहुन्थ्यो।

कलंकी झरेर मैले उहाँलाई कल गरेको थिएँ, बबरमहल आऊ भन्नुभयो। बबरमहलमा लिन आउनुभयो। म उहाँसँग ९ दिन सँगै बसेँ। पछि रत्नराज्य लक्ष्मीमा उहाँले नै भर्ना गरिदिनुभयो। कोठा खोजिदिनुभयो

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.