काठमाडौं : नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले मिथ्या सूचना दिनेलाई कानुनी दायरामा ल्याउने गरी सामाजिक सञ्जाल नियमन गर्ने विधेयक ल्याउनुपर्ने बताएका छन्।
सोमबार प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले यस्तो बताएका हुन्।
पछिल्लो समय सिंगो नेपाली समाज नै मिस इन्फरमेसन र डिसइन्फरमेसनबाट आक्रान्त बनेको बताए। उनले मिथ्या र भ्रामक सूचना संप्रेषण गर्नेलाई कानुनी दायरामा ल्याउन जरुरी रहेको उल्लेख गरे।
अरोप लगाउने तर त्यसको पुष्टि नहुने कुराले समाजलाई विभाजित बनाइरहेको बताए।
उनले भने, ‘पछिल्लो चरणमा के देखिन्छ भने सिंगो नेपाली समाज मिस इन्फरमेसन र डिसइन्फरमेसनबाट टोटल्ली आक्रान्त छौँ। यो चिजलाई कतै न कतैबाट कानूनी दायरामा नल्याउने हो भने यसले समाज नै विभाजित गर्दछ। कसैका बारेमा केही कुरा आरोप लगाइदियो, भन्दियो, भन्दिने मान्छेका बारेमा कुनै पुष्ट्याइँ गर्नै पर्दैन। सम्माननीय प्रधानमन्त्रीज्युका बारेमा एउटा विषय बाहिर ल्याइयो। प्रमाणका हिसावले केही पनि छैन, बोल्दियो, खोज न भनेको देख्छौँ हामी। कहाँ गएर खोज्ने? यस्ता विषयहरु जसरी आइरहेको छ, कानूनी हिसाबबाट दायरामा ल्याउनुपर्छ।’
प्रमुख सचेतक बर्तौलाले आम सञ्चार विधेयक अहिले ड्राफ्टको अन्तिम चरणमा रहेको भन्दै विधेयक चाँडो ल्याउन माग गरे।
तपाईंको ईमेल गोप्य राखिनेछ ।