काठमाडौँ : पाठ्यक्रम सुधारसम्बन्धी अध्ययन कार्यटोलीले ‘प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमको पाठ्यक्रम सुधारसम्बन्धी अध्ययन टोलीको प्रतिवेदन २०८१’ पेश गरेको छ। कार्यटोलीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदका अध्यक्ष र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पेश गरेको प्रतिवेदन ४९ पेजको छ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी)को गत साउन २२ मा बसेको बैठकको निर्णयबमोजिम परिषदबाट सञ्चालन हुने कार्यक्रमका लागि आवश्यक हुने पाठ्यक्रमहरूलाई समय सुहाउँदो र श्रम बजारसँग सान्दर्भिक बनाउने सम्बन्धमा अध्ययन गरी एक महिनाभित्र सुझावसहित प्रतिवेदन पेश गर्न पाठ्यक्रमविज्ञ डा.लेखनाथ पौडेलको संयोजकत्वमा पाँच सदस्यीय कार्यटोली गठन भएको थियो।
सदस्यहरूमा डा.दुर्गाप्रसाद बराल, डा. प्रकाशकुमार पौडेल, डा. भीमकुमार दहाल र विनोद बडाल छन्। उक्त कार्यटोलीले आवश्यकताअनुसार पाठ्यक्रमहरूलाई समय सुहाउँदो र श्रम बजारसँग सान्दर्भिक बनाउने सम्बन्धमा सरकारलाई विभिन्न सुझाव तथा सिफारिस गरेको छ।
जसमा डिप्लोमा र प्रि-डिप्लोमा कार्यक्रमको पाठ्यक्रमसम्बन्धमा श्रम बजारको मागअनुकूल विभिन्न स्तरका सीपयुक्त जनशक्ति तयार गर्ने टिभिइटी कार्यक्रमको मुख्य उद्देश्यमा ध्यान केन्द्रित गर्दै डिप्लोमा र प्रि-डिप्लोमा पाठ्यक्रम र कार्यक्रमहरूको समीक्षा र पुनर्संरचना गर्नुपर्ने सिफारिस गरेको छ।
पाठ्यक्रम र कार्यक्रमहरूको समीक्षा र पुनर्संरचना गर्दा डिप्लोमा तहका पाठ्यक्रममा सामान्य विषयहरू जस्तै विज्ञान, गणित, नेपाली, अङ्ग्रेजी, सामाजिक शिक्षा जस्ता पाठ्यवस्तु पुनरवलोकन गरेर प्राविधिक विषय तथा सीपहरू सिकाइका लागि उपयोगी विषयवस्तु मात्र समावेश गर्ने, पाठ्यक्रममा कोर/व्यवहारकुशल सीप र कार्यस्थलमा आधारित सिकाइसहित रोजगार योग्यता सीप समावेश गर्ने लगायत पक्षमा विशेष ध्यान दिनु आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ।
त्यस्तै, पाठ्यक्रम विकास तथा कार्यान्वयन प्रक्रियामा वास्तविक पेशागत क्षेत्रको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने पनि भनिएको छ। पाठ्यक्रम विकास प्रक्रियामा सुधार गरी प्रभावकारी बनाउने। यसका लागि पाठ्यक्रमलाई सक्षमतामा आधारित बनाउने,पाठ्यक्रमको व्यापक अर्थअनुसार शिक्षण सिकाइ प्रक्रियाहरू र मूल्याङ्कन प्रणालीहरूको समीक्षासहित शिक्षण सिकाइका अभ्यासहरू र मूल्याङ्कन प्रणालीहरूसँग पाठ्यक्रमलाई सम्बन्धित गर्ने लगायत कार्य गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।
पाठ्यक्रम कार्यान्वयनलाई थप प्रभावकारी बनाउने, यसका लागि विद्यार्थीका लागि सन्दर्भ अध्ययन सामग्रीको प्रबन्ध गर्ने, प्रविधिको परिवर्तनअनुरूप सिकाइ क्रियाकलाप र सिकाइ सामग्रीमा निरन्तर सुधार गर्ने लगायत कार्य गर्नुपर्ने पनि प्रतिवेदनमा उल्लेख छ।
विद्यार्थी मूल्याङ्कन प्रणालीमा सुधारका लागि आन्तरिक र बाह्य साथै प्रयोगात्मक र सैद्धान्तिक रूपमा छुट्टाछुट्टै पास गर्ने प्रणालीमा परिवर्तन गर्ने सिफारिस गरिएको छ। सामुदायिक विद्यालयहरूमा कक्षा ९-१२ मा सञ्चालित प्राविधिक धारका पाठ्यक्रमसम्बन्धी सुझावमा सामुदायिक विद्यालयमा सञ्चालित प्राविधिक धारमा प्रस्ताव गरिएका विषयवस्तुलाई पुनरवलोकन गरी विद्यार्थीको स्तरअनुकूल बनाउनुपर्ने उल्लेख छ।
‘सामुदायिक विद्यालयमा सञ्चालित प्राविधिक धार र अन्य निकायहरूबाट सञ्चालित कार्यक्रम र सिटिइभिटीबाट सञ्चालित यस्तै कार्यक्रमहरू र डिप्लोमा कार्यक्रमहरूमा समन्वय र प्राविधिक विषयका पाठ्यक्रममा एकरूपता कायम गर्ने,’ प्रतिवेदनमा भनिएको छ, ‘माध्यमिक तहको कक्षा ९ र १० मा हालको प्राविधिक धारको सट्टामा व्यावसायिक शिक्षाउन्मुख अभिमुखीकरण हुने जस्तै पेशा, व्यवसाय, वृत्ति परामर्श जस्ता विषयहरू ऐच्छिक विषयहरूको रूपमा समावेश गर्न उपयुक्त हुने, यसमा कुनै निश्चित व्यवसायीक सीप पनि प्रदान गर्न सकिने’ प्रतिवेदनमा उल्लेख छ।
त्यसैगरी विद्यमान कक्षा ११ र १२ को प्राविधिक धारको पाठ्यक्रम परिमार्जन गरी कक्षा १० पछि र सिटिइभिटीका प्रि-डिप्लोमा तह उत्तीर्ण गरेका विद्यार्थीहरूलाई २ वर्षको कक्षागत सिकाइ र ६ महिनाको कार्यगत तालिम (ओजेटी) को व्यवस्था हुनेगरी डिप्लोमासरहको कार्यक्रम सञ्चालन गरिनु उपयुक्त हुने पनि सुझाव दिएको छ।
यस्ता छन् छोटो अवधिको तालिम पाठ्यक्रमसम्बन्धी सुझाव
छोटो अवधिको तालिम पाठ्यक्रमसम्बन्धी सुझावमा छोटो अवधिका तालिमलाई श्रम बजारको मागमा आधारित बनाउन उद्योगी, व्यवसायी तथा रोजगारदातासँग समन्वय र सहकार्य वृद्धि गर्ने उल्लेख छ।
त्यस्तै, पाठ्यक्रम निर्माणमा लाग्ने समय र एकाइ लागत कम गर्ने, तालिम कार्यक्रमको कार्यान्वयनको अनुगमन र सुपरीवेक्षणलाई प्रभावकारी बनाउने, पाठ्यक्रमले निर्दिष्ट गरेका ज्ञान तथा सीपहरूलाई प्रशिक्षण गराउन प्रशिक्षकलाई प्रशिक्षण सीपसँगै पेशागत सीप अभिवृद्धि तालिम सञ्चालन गर्ने प्रतिवेदनमा सुझाव दिइएको छ।
छोटो अवधिका तालिमका पाठ्यक्रमहरूमा दोहोरोपना हटाउन पाठ्यक्रमको नाम, समय अवधि, तहगत सीपहरूलाई एकरूपता कायम गर्नुपर्ने पनि सुझाव प्रतिवेदनमा दिइएको छ। पाठ्यक्रमसम्बन्धी नीति, कार्यनीतिसहित पाठ्यक्रमको समग्र मार्गदर्शक दस्तावेज विकाससम्बन्धी पनि कार्यटोलीले सुझाव दिएको छ।
जसअनुसार पाठ्यक्रमसम्बन्धी नीति, कार्यनीतिसहित पाठ्यक्रमको समग्र मार्गदर्शक दस्तावेजका रूपमा नेपालका लागि प्राविधिक तथा व्यवसायीक शिक्षा र तालिम सिटिइभीटीको राष्ट्रिय पाठ्यक्रम ढाँचा वा प्रारूप टिभिइटी करिकुलम फ्रेमवर्क तयार गरी सो ढाँचाअनुरूप विभिन्न कार्यक्रम तथा तिनका पाठ्यक्रम विकास तथा परिमार्जन गर्नुपर्नेछ।
‘तयार गरिएको पाठ्यक्रम ढाँचा वा प्रारूपलाई गतिशील दस्तावेजका रूपमा निश्चित समयमा पुनरवलोकन तथा आवश्यकतानुसार परिमार्जन गर्ने पद्धति अवलम्बन गर्ने,’प्रतिवेदनमा सुझाव उल्लेख छ।
११ सयभन्दा बढी संस्थामा कार्यक्रम सञ्चालन
हाल सिटीइभिटिअन्तर्गत ११ सयभन्दा बढी संस्थामा डिप्लोमा तथा प्रि-डिप्लोमा तहका कार्यक्रमहरू सञ्चालन भएका छन्। उक्त प्रतिवेदनअनुसार हाल सिटिइभिटीअन्तर्गत ६५ वटा आङ्गिक शिक्षालयहरू, ६३९ वटा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा (टेक्स) कार्यक्रम, ५८ वटा साझेदारीमा सञ्चालित शिक्षालय र चार सय ७ वटा सम्बन्धन लिएका निजी शिक्षालयहरू गरी ११ सय ६९ संस्थामा डिप्लोमा तथा प्रि-डिप्लोमा तहका कार्यक्रमहरू सञ्चालन भएका छन्।
तर विगत केही वर्षदेखि विभिन्न कार्यक्रमहरूमा भर्ना दरमा आएको कमीले कतिपय शिक्षण संस्थामा त्यस्ता कार्यक्रम बन्द भएको प्रतिवेदनमा उल्लेख छ। छोटो अवधिको सीपमूलक तालिम सञ्चालनका लागि सिटिइभिटीबाट सम्बन्धन लिएका संस्थाहरूको सङ्ख्या एक हजार ६ सय १८ रहेको छ।
‘सुझाव र सिफारिसको आधारमा पाठ्यक्रम परिमार्जन हुन्छ’
शिक्षामन्त्री विद्या भट्टराईले कार्यटोलीले बुझाएको सुझाव र सिफारिसको आधारमा सिटिइभिटीको पाठ्यक्रम परिमार्जन हुने जानकारी दिइन्। यसका लागि अहिले उक्त प्रतिवेदनको अध्ययन भइरहेको उनको भनाइ छ।
‘पाठ्यक्रम परिमार्जन गर्न डा. लेखनाथ पौडेलको संयोजकत्वमा समिति बनाइ अध्ययन अनुसन्धान गरि प्रतिवेदन आइसकेको छ, अहिले यसबारे अध्ययन भइरहेको छ,’ गत बिहीवार शिक्षा पत्रकार सञ्जाल नेपाल (इजोन)ले आयोजना गरेको शिक्षामन्त्रीसँग साक्षात्कार कार्यक्रममा उनले भनिन्, ‘सिटिइभिटी पुनर्संरचनाका लागि खाका पनि तयार भइसकेको छ।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।