काठमाडौँ : नागरिक लगानी कोषको ३०औँ वार्षिक साधारणसभाले गत आवको नाफाबाट १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
आज भएको साधारणसभाले गत आवको आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याइएको ८६ करोड ९० लाख रुपैयाँबाट ७ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश स्वीकृत गरेको हो।
साधारणसभाले कोषका अध्यक्ष सूर्यबहादुर थापाले पेश गरेको गत आवको वार्षिक प्रतिवेदन पनि पारित गरेको छ। कोषले सञ्चालन गरेको विभिन्न बचत कार्यक्रमबाट अघिल्लो आव ०७९/८० मा २ खर्ब २ अर्ब ७ करोड रुपैयाँ सङ्कलन भएकोमा गत आवमा १२ दशमलव १९ प्रतिशतले बढेर २ खर्ब २६ अर्ब ८३ करोड रुपैयाँ पुगेको उनले बताए।
चालू आवको असोज मसान्तसम्ममा सङ्कलित रकम २ खर्ब ४२ अर्ब १५ करोड रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख छ।
कोषले गत आवमा २ अर्ब ७ करोड ६४ लाख रुपैयाँ कुल आम्दानी गरेकामा सञ्चालन र अन्य खर्च कटाई करपछिको खुद मुनाफा १ अर्ब १५ करोड ८७ लाख रुपैयाँ रहेको छ।
उक्त खुद मुनाफा रकमबाट २८ करोड ९६ लाख रुपैयाँ रकम जगेडा कोषमा राखी बाँकी ८६ करोड ९० लाख रुपैयाँबाट ७ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो।
कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले वित्तीय व्यवस्थापनलाई सरल र पारदर्शी बनाउन कोष क्रियाशील रहेको बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।