|

विराटनगर : न्युट्रास्युटिकल एसोसिएशन मोरङका अध्यक्ष विपीन झाले म्याद सकिएको न्युट्रास्युटिकल (खाद्यपूरक) सामग्रीमा नयाँ उत्पादन मिति राखेर विक्री वितरण गर्दै आएको पाइएको छ। 

आफ्नै घरमा गोदाम बनाएर भारतबाट तस्कर गर्दै न्युट्रास्युटिकल ल्याउने गरेका रहेछन्। ५१ वर्षीय झाले म्याद सकिएको न्युट्रास्युटिकलको लेभल मेटाएर पुनः नयाँ उत्पादन मिति राखेर विक्री वितरणका लागि बजारमा पठाउने गरेको पाइएको छ।
 
प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोली, जिल्ला प्रहरी कार्यालय मोरङ र राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरीले आइतबार दिउँसो झाको घरमा छापा मानेर ठूलो परिमाणमा न्युट्रास्युटिकल बरामद गरेपछि उनको कर्तुत खुलेको हो।

झाको गोदाममा १४ भन्दा बढी प्रकारका न्युट्रास्युटिकल र अन्य विभिन्न कम्पनीका मल्टिभिटामिन फेला परेको मोरङ प्रहरीले जनाएको छ ।
 
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव निरीक्षक कपिल खड्का, मोरङ प्रहरीका प्रहरी निरीक्षक सरोज खनाल र राजस्व कार्यालय इटहरीका अनुसन्धान अधिकृत रामप्रसाद लुइँटेल नेतृत्वको टोलीले झाको घरमा छापा हानेर म्याद सकिएको खाद्यपूरक सामग्री बजारमा पठाउने तयारी गरेको अवस्थामा बरामद गरेको हो।

४० वटा स्ट्याम्प बरामद
झाको घर खानतलासी गर्ने क्रममा प्रहरीले खाद्यपूरक सामग्रीमा छाप लगाउने ४० वटा स्ट्याम्प समेत बरामद गरेको थियो।

बरामद गरेको खाद्यपूरक सामग्रीको अहिलेसम्म बिलबिजक पनि देखिएको छैन। यो भन्सार छली गरी ल्याएको हुनसक्ने भएकाले प्रज्ञापनपत्र र बिलबिजक माग गरे पनि सञ्चालकले अहिलेसम्म उपलब्ध नगराएको राजस्व कार्यालय इटहरीका अनुसन्धान अधिकृत रामप्रसाद लुइँटेलले जानकारी दिए।

सोमबार कार्यालयमा हाजिर हुन पत्राचार गरेको बताउँदै राजस्व कार्यालय इटहरीका अनुसन्धान अधिकृत लुइँटेलले अहिलेसम्म प्रारम्भिक चरणमा नक्कली कागजपत्र पनि फेला परेको बताए।

‘हामीले प्रज्ञापनपत्र अनुसार सामग्री छ वा छैन, त्यस विषयमा पनि अनुसन्धान सुरू गरेको छौँ’, उनले भने।

सम्पूर्ण कागजपत्र हेरेपछि कति भन्सार छली गरे ल्याएको हो भन्ने विषय त्यसपछि पत्ता लाग्ने राजस्व अनुसन्धान कार्यालयले जनाएको छ।
 
यसरी खुलेको थियो गलत धन्दा

न्युट्रास्युटिकल एसोसिएशन मोरङका अध्यक्ष विपीन झाले एक दशक अगाडिदेखि न्युट्रास्युटिकल आयत गर्ने सप्लायर्स चलाउँदै आएको उनका छिमेकीहरू बताउँछन्।

साक्षी मेडिलिंक मार्फत भारतबाट न्युट्रास्युटिकल सस्तोमा ल्याउने र यहाँ ल्याएपछि खरिद गरेकोभन्दा दश गुणा बढी मूल्य तोकेर बजार पठाउने गरेको पाइएको छ।

कतिपय न्युट्रास्युटिकल क्यारिङ गरेर पनि ल्याउने गरेको जानकारहरू बताउँछन्। कतिपय न्युट्रास्युटिकल भन्सारबाट राजस्व तिरेर ल्याउने गरेको र त्योभन्दा धेरै भरिया प्रयोग गरेर तस्करी गरी ल्याउने गरेको पाइएको छ।

आइतबार झाको घरबाट ठूलो परिमाणमा म्याद सकिएको न्युट्रास्युटिकल बरामद गर्नुमा एकजना भरिया पक्राउ गरेपछि पत्ता लागेको प्रहरीले जनाएको छ।

भारतबाट लुकाइछिपाइ ल्याउने क्रममा एकजना भरियालाई पक्राउ गरेपछि थप अनुसन्धान गर्दै जाँदा सोही भरियामार्फत झाको कर्तुत पत्ता लागेको थियो।

झाको सप्लायर्समा उनले ल्याउने गरेको बताएपछि राजस्व र प्रहरी पुग्दा ठूलो परिमाणमा गोदाममा राखिएको अवस्थामा म्याद सकिएको न्युट्रास्युटिकलमा पुनः नयाँ स्टिकर, उत्पादन मिति र मूल्य तोक्ने स्टिकर आफैँ लगाउने गरेको पाइएको हो।

मूल्य तोक्ने स्टिकर
म्याद सकिएको मिति केमिकल प्रयोग गरेर नयाँ उत्पादन मिति र मूल्य झा आफैँले तोक्ने गरेका रहेछन्। उनकोे गोदामबाट मूल्य तोक्ने स्टिकर बरामद भएको थियो। झाले आफैँ म्याद थपेर विभिन्न शहरमा न्युट्रास्युटिकल सप्लायर्स गर्दै आएका छन्।

आफूले सबैभन्दा बढी विराटनगरका विभिन्न हस्पिटल र विराटनगरको ठूलो मेडिसिन पसलमा सप्लाइ गर्ने गरेको झाले बताएका थिए। स्वास्थ्य क्षेत्रका जानकारले दिएको जानकारीअनुसार झाले भारतमा ५० रुपैयाँ पत्तामा खरिद गर्ने न्युट्रास्युटिकल यहाँ ल्याएर आफैँ मूल्य तोकेर पाँच सयसम्म बेच्ने गरेका रहेछन्।

‘एक पत्ता न्युट्रास्युटिकलमा दश गुणासम्म मुनाफा राखेर बेच्ने गरेको पाइएको छ। यसमा केही चिकित्सकको पनि मिलेमतो रहेको छ। चिकित्सकलाई धेरै प्रकारको मल्टिभिटामिन लेख्न लगाउने र एउटा पुर्जीमा पाँच हजारसम्मको न्युट्रास्युटिकल लेख्ने गरेको पाइएको छ’, एकजना फार्मेसी सञ्चालकले नाम नबताउने शर्तमा भने।

चिकित्सकले लेखिदिएपछि विरामीले खरिद गर्न बाध्यता हुने गरेको ती मार्फेसी सञ्चालकको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.