|

ललितपुर : विसं २०७२ को भूकम्पले क्षति पुर्‍याएको विश्व सम्पदा सूचीमा रहेको यहाँको पाटन दरबार क्षेत्रका दुईवटा संरचनाको पुनः निर्माण हुन सकेको छैन।

ती सम्पदा पुनःनिर्माण प्रक्रिया अघि बढेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयले जनाएको छ। राणाकालीन अदालत भवन र ऐतिहासिक नरसिंह मन्दिर पुनःनिर्माण भइरहेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख मञ्जु थापाले जानकारी दिइन्।

उनले भनिन्, ‘भारत सरकारको सहयोगमा पुनःनिर्माण हुन लागेको अदालत भवनको दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको छ। ऐतिहासिक नरसिंह मन्दिरको पनि ललितपुर महानगरपालिकाको सहयोगमा पुनःनिर्माण अघि बढेको छ।’

करिब चार सय वर्ष पुरानो नरसिंह मन्दिरमा १५३ थरिका इँटा प्रयोग गरिएकाले हाल इँटा तयारी भएको ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले जानकारी दिए।

उनका अनुसार उक्त मन्दिरको पुनःनिर्माण आगामी आठ महिनाभित्र सम्पन्न हुनेछ। भूकम्पले क्षति पुर्‍याएका केही संरचना पुनःनिर्माण भई उद्घाटन भइसकेका छन्। कम क्षति पुगेका सम्पदाको सामान्य मर्मत गरिएको पाटन दरबार संग्रहालयका प्रमुख सुरेशमान लाखेले बताए।

उनका अनुसार पाटनदरबारको सबैभन्दा ठूलो मन्दिरको रूपमा चिनिने देगुतलेजु मन्दिर पुनःनिर्माण सम्पन्न भएको छ। विसं १९९० को भूकम्पले भत्काएको भाइदेव मन्दिर संरक्षणको काम अघि बढे पनि आर्थिक अभावका कारण पुनः निर्माण सम्पन्न हुनसकेको छैन।

विभिन्न दाताको सहयोगबाट पुनःनिर्माण सुरु भएको उक्त मन्दिरको काम हाल स्थगित छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.