|
सांकेतिक तस्वीर

हेटौँडा : मकवानपुरको भीमफेदीबाट प्रहरीले चिनियाँलाई अपहरण गरेको आरोपमा ४ जना भारतीयलाई नियन्त्रणमा लिएको छ। 

काठमाडौँबाट मंगलवार एकजना चिनियाँको अपहरणमा संलग्न भएको अभियोगमा भीमफेदी गाउँपालिका–६ स्थित जुरिखेतबाट ४ जना भारतीयलाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ। 

मंगलवार दिउँसो साढे ३ बजे काठमाडौँबाट एमएच १६ डिजी ४९०४ नम्बरको भारतीय गाडीमा चिनियाँलाई अपहरण गरी हेटौँडातर्फ लगिरहेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक ललिता ढकाल नेतृत्वको टोलीले हेटौँडा–भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा जाँच तथा खोजतलाश गर्दा गाडीसहित ४ जनालाई जुरिखेतबाट नियन्त्रणमा लिएको थियो। 

प्रहरीका अनुसार पक्राउ पर्नेमा भारत महाराष्ट्र राज्य सतरा जिल्लाका ३२ वर्षीय आशुतोष दत्तात्रेय, महाराष्ट्र राज्य सतरा जिल्ला हमद नगरका ३० वर्षीय अमोल करमाटे, महाराष्ट्रका ४० वर्षीय अफसर सेख र ३३ वर्षीय अमोल श्रीसत रहेका छन्।

प्रहरी निरीक्षक ढकालले चिनियाँ अपहरणमा परेको जानकारी पाएपछि सुरक्षा जाँच कडा गरिएकोमा ती अपहरणकारी इलाका प्रहरी कार्यालयतर्फ आइपुग्नुअघि नै गाडीसहित भित्री सडकबाट २ जनालाई र त्यहाँबाट भागेका २ जनालाई पछि पक्राउ गरेको बताइन्। 

उनका अनुसार अपहरणमा पर्ने र अपहरण गर्ने दुवै समूह अपराधमा संलग्न रहेको प्रारम्भिक जानकारी पाइएको छ। चिनियाँले अवैध खेल खेलाएर ठगेको भन्दै भारतीयहरुको समूहले उनलाई काठमाडौँकै एउटा होटलबाट अपहरण गरी गाडीमा राखेर लगेका थिए। 

एमएच १६ डिजी ४९०४ नम्बरको भारतीय गाडी र उक्त गाडीमा सवार चारैजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहीका लागि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट हेटौँडा आएको टोलीको जिम्मा लगाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.