|

बागमती : हेटौँडा सिमेन्ट उद्योगमा आर्थिक सङ्कट गहिरिँदै जाँदा सिमेन्ट उत्पादन अन्योलमा परेको छ। उद्योग व्यवस्थापनले उद्योगको उपकरण मर्मत गर्ने जनाउँदै गत असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो। 
       

उपकरण मर्मतसम्भार गरी गत मङ्सिरको पहिलो साताबाटै उत्पादन शुरु गर्ने बताए पनि उपकरण मर्मतको काम नसकिएकाले उत्पादन शुरु गर्न नसकेको उद्योग प्रशासनले जनाएको छ। ‘उत्पादन सुरु हुन नसक्नुमा उपकरण मर्मत एउटा पाटो हो, तर त्यो मात्रैले पनि उत्पादन रोएिको होइन’, हेटौँडा सिमेन्ट उद्योगका प्रशासन प्रमुख तथा प्रवक्ता हरेराम आचार्यले भने, ‘आर्थिक समस्या बढ्दै गएकाले कहिलेदेखि उत्पादन शुरु गर्ने भन्ने अन्योल बढेको हो।’  
    
‘अहिले उत्पादन ठप्प छ, तर नियमित खर्च छ जस्ताको त्यस्तै छ’, हेटौँडा सिमेन्ट उद्योगका प्रशासन प्रमुख तथा प्रवक्ता हरेराम आचार्यले भने, ‘उद्योगको उत्पादन बन्द भए पनि कर्मचारीको तलब भत्ता दिनै परेको छ, केही इन्धन खर्च र समान्य मर्मत खर्च भइरहेकै छ’, ‘यसका कारण उद्योगमा आर्थिक समस्या त बढ्दै जाने कुरा त भइनै हाल्यो।
     
उत्पादन बन्द हुदा कर्मचारी त्यतिकै बसेर दिन बिताइरहेका छन्। उद्योगमा १६६ जना स्थायी, दैनिक ज्यालादारी १०० र ५२ सुरक्षाकर्मी गरी ३१८ जना कार्यरत रहेको प्रवक्ता आचार्यले बताए। 

उनका अनुसार तत्काल उद्योग सञ्चालनका लागि उद्योगलाई चाहिने आवश्यक कच्चा पदार्थको समेत समस्या छ। ‘उद्योग दैनिक सञ्चालन भयो भने कम्तीमा दैनिक १२० ट्रन कच्चा पदार्थ कोइलाको आवश्यक पर्छ’, उनले भने, ‘तर त्यो पनि छैन र कोइलाको पुरानो भुक्तानी भइनसकेकाले तत्काल कोइला आउने सम्भावना पनि छैन।’ यसबाहेक आर्थिक समस्याका कारण कर्मचारीले अतिरिक्त समयमा गरेको कामको भुक्तानी गर्न सकिएको छैन, उनले भने। 
     
आर्थिक समस्याकै कारण विद्युत् प्राधिकरणको लामो समयदेखि महसुल बुझाउन नसकिँदा अहिले बक्यौता थुप्रिएको छ। ‘विद्युत् उपभोग त गरियो तर महशुल बुझाउन सकिएको छैन’, उनले भने, ‘अहिले ठ्याक्कै कति  बक्यौता बुझाउन बाँकी भने भन्न सकिए पनि करिब ३०/४० करोड जति छ होला।’ त्यसैले पनि विद्युत् प्राधिकरणसँग नियमित विद्युत् आपूर्ति गरिदिनुस् भन्न सकिने अवस्था नरहेको उनको भनाइ छ। 
     
२०३३ मा हेटौँडाको लामसुरेमा स्थापना भएको योउद्योगले २०४३ देखि सिमेन्ट उत्पादन शुरु गरेको थियो। अहिले उपकरणहरु पुरानो भइसकेको र राम्ररी उत्पादन गर्न सक्ने अवस्थामा नरहेको प्राविधिकको भनाइ छ। ‘उपकरण पुरानो र बिग्रिसकेको अवस्थामा छ, त्यस्तो अवस्थामा हामीले अपेक्षाकृत रुपमा सिमेन्ट उत्पादन गर्न सकिरहेका छैनौँ’, उद्योगका प्राविधिक प्रमुख कामेश्वर मण्डलले भने, ‘‘त्यसैले हामी अहिले पुरानो उपकरणको मर्मत गरिरहेका छौँ। त्यसमा मेकेनिक लागिरहेका छन्। छिट्टै मर्मत काम सक्छौँ।’ त्यसपछि सिमेन्ट उत्पादन गर्न सकिने उहाँको भनाइ छ।
   
एकपछि अर्को समस्यासँग जुध्दै आएको हेटौँडा सिमेन्ट उद्योगले गत २०८१ भदौ महिनाको तेस्रो साताबाट सिमेन्ट उत्पादन शुरु गरेको सो उद्योगले यस अवधिमा ६५ हजार बोरा सिमेन्ट उत्पादन गरेको थियो। दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको उद्योग आर्थिक समस्याका कारण थलिएको छ।
     
उपकरणको मर्मत कार्य सम्पन्न भएर पुसको दोस्रो साताबाट सिमेन्ट उत्पादन शुरु गर्ने तयारी गरिए पनि उपकरण मर्मत गर्न अझ समय लाग्ने भएका कारण उत्पादनमा ढिलाइ भएको उद्योग व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले बताए।
    
‘उद्योगको क्लिनिकलर मेसिनलगायतका उपकरणको मर्मत कार्य अझै भइरहेकै छ’, अध्यक्ष भण्डारीले भने, ‘हामीले पुसको दोस्रो सातासम्ममा मर्मत सकिन्छ र त्यसलगतै पुनः सिमेन्ट न शुरु गर्ने अनुमान गरेका थियौँ।’ तर अझै उपकरण मर्मतको काम नसकिएकाले उद्योगको उत्पादन शुरु हुन अझै केही दिन लाग्न सक्ने उनको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.