|

काठमाडौं : नई प्रकाशनले भारतका चारजना स्रष्टालाई २०८० सालका विभिन्न पुरस्कार समर्पण गर्ने घोषणा गरेको छ। नई प्रकाशनका कुलपति श्रीमती इन्दिरा प्रसाईंको अध्यक्षतामा बसेको नई प्रकाशनको विशेष बैठकले सो निर्णय गरेको हो।

 नई प्रकाशनले दुई लाख रुपियाँ राशिको ‘नई देरुनिख अन्तर्राष्ट्रिय पुरस्कार’ भारत असमका श्री केबी नेपालीलाई समर्पण गर्ने निर्णय गरेको छ।

साहित्य सिर्जना र बिन्दु त्रैमासिकको सम्पादनका माध्यमबाट नेपाली वाङ्‍‍मयको श्रीवृद्धिका लागि विगत साढे ६ दशकदेखि निरन्तर समर्पित रहँदै नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय विस्तारमा महत्त्वपूर्ण योगदान पुर्‍याएबापत उनलाई सो पुरस्कार समर्पण गरिने भएको हो। यो पुरस्कार नेपाली–गोर्खाली मूलका विदेशी नागरिकलाई मात्र प्रदान गरिन्छ।

   विशेष गरेर नेपाली गीतको गायनका लागि उच्चस्तरीय सङ्गीत निर्माण गरी देश देशान्तरमा नेपाली भाषालाई जनप्रिय बनाउन अहोरात्र क्रियाशील सङ्गीतकार मुम्बई निवासी श्री रञ्जित गजमेरलाई ‘नई कोइलीदेवी पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ।

यसैगरी, नेपाली भाषा साहित्यको समालोचना तथा अन्वेषणमा समर्पित रही उत्कृष्टता हासिल गरेबापत दार्जिलिङका डा जीवन नामदुङलाई ‘नई ईश्वर बराल पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ।

साथै नेपाली साहित्यमा कविता, निबन्ध, कथा  र समालोचना लेखनबाट आफ्नै आकाश निर्माण गरी प्रसिद्धि कमाएकी सिक्किम निवासी साहित्यकार डा शान्ति क्षेत्रीलाई ‘नई गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ।

यी तीनवटा पुरस्कारका राशि जनही एकएक लाख रुपियाँका रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.