|

पर्वत : गत पुस २१ गते ग्यास लिक भएर आगलागी हुँदा गम्भीर घाइते भएका पर्वतका पुरुषको उपचारको क्रममा काठमाडौँमा मृत्यु भएको छ।

पुस २१ गते कुश्मा नगरपालिका–१० पीपलटारीमा नयाँ ग्यास सिलिन्डरमा रेगुलेटर जोड्ने क्रममा आगलागी हुँदा छिमेकी ७३ वर्षीया दुर्गादेवी पौडेलको सोही दिन जलेर मृत्यु भएको थियो। घरधनी ५२ वर्षीय ध्रुव रेग्मी गम्भीर घाइते भएका थिए।

हातगोडा दुवै काटिएको अवस्थामा उपचार चलिरहेका उनको फोक्सोमा भएको सङ्क्रमण निको नहुँदा निधन भएको हो। उनलाई बचाउने प्रयास स्वरूप आगलागी भएकै दिन पर्वत अस्पतालबाट पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा र त्यहाँबाट हेलिकप्टर चार्टर गरेर लागि कीर्तिपुर लगिएको थियो।

लगत्तै उनको उपचार कीर्तिपुरस्थित जलन अस्पतालमा थालिएको भए पनि उपचारकै क्रममा उनको निधन भएको हो। उनको बिहीबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ।

उनको उपचारमा हालसम्म २७ लाख रुपैयाँभन्दा बढी खर्च भएको छ।

उक्त घटनामा परेर घाइते भएकी ध्रुवकी श्रीमती तिला रेग्मीको भने सामान्य अवस्थामा घरमै राखेर उपचार चलिरहेको छ। उनको दुवै पैताला जलेका छन्।

घटना हुँदाका बखत छिमेकी दुर्गादेवी पौडेल रेग्मीको घरमा दूध लिन गएका वेला आगलागी भएको छिमेकीले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.