काठमाडौँ : काठमाडौँको शंखरापुर नगरपालिका–३ लप्सेफेदीस्थित बोझेनीमा निर्माणाधीन विद्युतीय सबस्टेशनका लागि टावर प्याड बनाउने क्रममा आज पनि प्रहरी र स्थानीयबीच झडप भएको छ।
सबस्टेसन स्थानान्तरणको माग गर्दै आएका स्थानीयले टावर प्याड बनाउने क्रममा थप जग्गा मासिएको भन्दै काममा अवरोध पुर्याउँदै आएकोमा प्रहरी परिचालन गरी काम गर्न खोज्दा झडप भएको हो। झडपका क्रममा केही घाइतेसमेत भएका छन्। प्रहरीले केहीलाई नियन्त्रणमा लिएर बौद्ध प्रहरी वृत्तमा ल्याएको छ।
प्रहरीले आइते तामाङ, चित्र पाख्रिन, आइते पाख्रिन, निर्मला तामाङ, जुनुमाया तामाङ, तिउकी तामाङ, कान्छी तामाङलगायतलाई नियन्त्रणमा लिएको छ ।
बोझेनीमा सशस्त्र प्रहरीले क्याम्प खडा गरेर जबरजस्ती काम गर्न खोजेको भन्दै केही दिनदेखि स्थानीयले विरोध प्रदर्शन गर्दै आएका थिए । एसियाली विकास बैंकको ऋण सहयोगमा नेपाल विद्युत् प्राधिकरणले सबस्टेशन निर्माणको काम अगाडि बढाएको थियो।
आफूहरुको मागका सम्बन्धमा एसियाली विकास बैंकले वार्ताका लागि बोलाएको अवस्थामा पनि प्रहरीले अनावश्यक दमन गर्न खोजेको स्थानीय तुलराम वाइबाले बताए। उनका अनुसार अहिले पनि प्रहरीले स्थानीयको घरघरमा छापा मारेको छ। जसका कारण युवाहरु गाउँमा बस्न नसकेका बताइएको छ।
एसियाली विकास बैंकको ऋण सहयोगमा नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्ने लप्सेफेदी सबस्टेशन स्थानान्तरणको माग गर्दै आन्दोलन जारी राखेका हुन्।
सबस्टेशन निर्माण पक्ष प्राधिकरण र स्थानीय आन्दोलनरत पक्षबीचको पटकपटकको वार्ता भए पनि समस्या समाधान भएको छैन।
लप्सेफेदीमा सिन्धुपाल्चोक, दोलखा र रामेछाप बेसिन तामाकोसी र सुनकोसी नदी जलाधार क्षेत्रमा निर्माण भएका जलविद्युत आयोजनाहरूको विद्युत् काठमाडौँ लगायतमा वितरणका लागि ४००, २२० र १३२ केभीका सबस्टेशन बन्ने योजनासहित काम सुरु भएको हो तर स्थानीयवासीहरू सबस्टेशन निर्माणले आफ्नो वास उठ्न सक्ने भएकाले सबस्टेशन अन्यत्र स्थानान्तरण गर्नुपर्ने बताउँदै आएका छन्।
यसैबीच राप्रपाले बोझेनीमा निर्माण हुन लागेको विद्युत सबस्टेशन क्षेत्रका प्रभावित स्थानीयको प्रदर्शनका क्रममा प्रहरीले गरेको धरपकडको विरोध गरेको छ।
प्रवक्ता मोहनकुमार श्रेष्ठले विज्ञप्ति जारी गर्दै स्थानीयको मागलाई आपसी संवाद, छलफल र सहमतिका आधारमा सम्बोधन गरिनुपर्नेमा उत्तेजित तुल्याउने, दमन र धरपकड गरिनु अनुचित नभएको उल्लेख गरेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।