काठमाडौं : एन्फा महिला लिग फुटबलमा आज शीर्ष स्थानको एपीएफ र अन्तिम स्थानको वालिङ नगरपालिकाबीच प्रतिस्पर्धा हुने भएको छ।
खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो ३ बजे सुरु हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। एन्फा महिला लिगमा अन्तिम चरणका खेल जारी रहँदा एपीएफ लगातार पाँचै खेलमा जित निकालेर १५ अंकसहित शीर्ष स्थानमा छ।
५ खेलमै हार व्यहोरेको वालिङ भने अंकविहीन रहँदै अन्तिम स्थानमा छ। वालिङ आजको खेलमा एपीएफलाई रोकेर शीर्ष चारभित्र पर्ने लक्ष्यमा मैदान उत्रिँदा एपीएफ लगातार जितको लक्ष्यमा हुनेछ।
हिजो भएको खेलमा पुलिसविरुद्ध आर्मीले १–० गोलको जित निकालेको थियो। गोलरहित बराबरी उन्मुख खेलको इन्जुरी समयमा पुलिसबाट आत्मघाती गोल भएपछि आर्मीले तालिकामा ३ अंक थपेको छ।
योसँगै एन्फा महिला लिगको अन्तिम चरणका खेलमा आर्मी १३ अंकसहित दोस्रो स्थानमा छ। तेस्रो स्थानमा रहेको पुलिसको १० अंक र चौथो स्थानको बागमतीको ३ अंक छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।