|

जनकपुरधाम : मधेश प्रदेशका सांसदहरुले शहीद र शहीदका परिवारका लागि गर्नुपर्ने काममा राज्य चुकेको आरोप लगाएका छन्।

वर्षेनि मधेश प्रदेश सरकारले मनाउँदै आएको बलिदानी दिवसको अवसर पारेर मधेश प्रदेशको गृह, सञ्चार तथा कानून मन्त्रालयले प्रदेशको राजधानी जनकपुरधाममा शुक्रवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अधिकांश सांसदले शहीदहरुको वलिदानीकै कारण देशमा संघिय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आएको समेत बताए। 

राष्ट्रिय प्रजातन्त्र पार्टीका मधेश प्रदेश संसदीय दलका नेता कन्चन बिच्छा साहले राज्यले शहीदको सम्मानका साथै शहीद परिवारलाई निःशुल्क शिक्षा, स्वास्थ्य उपचार र जीवनयापनको लागि रोजगारीको ग्यारेन्टी गर्नुपर्ने माग गरिन्।

नेकपा एमालेका प्रदेशसभा सदस्य राजेन्द्र चौधरीले शहीद परिवारको समस्या समाधानका लागि प्रदेश सरकारले शहीद प्रतिष्ठान गठन गरे पनि अधिकारसम्पन्न नभएको बताए। उनले प्रतिष्ठानलाई अधिकारसम्पन्न बनाउन माग गरे।

नेपाली कांग्रेस मधेश प्रदेशका प्रमुख सचेतक एवं प्रदेशसभा सदस्य कुमरकान्त झाले शहीद परिवारलाई राहतको रुपमा केही रुपियाँमा गाईभैँसी दिएर तिनीहरुको समस्या समाधान नहुने बताए। उनले उनीहरुको समस्या समाधानका लागि राज्यले नीति बनाएर ठोस काम गर्नुपर्ने बताए।

जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेशका प्रमुख सचेतक रामअशिष यादवले सरकारी सेवामा शहिद परिवारको लागि विशेष आरक्षणको व्यवस्था गर्नुपर्नेमा जोड दिए। उनले राज्यले शहीद परिवारको परिपूरणको व्यवस्था गर्नुपर्ने समेत बताए।

लोकतान्त्रिक समाजवादी पार्टीका प्रदेशसभा सदस्य रुपा यादवले शहीदका छोराछोरीको उज्वल भविष्यका लागि प्रदेश सरकारले एउटा छुट्टै कोषको व्यवस्था गर्नुपर्ने बताइन्।

कार्यक्रममा जसपा नेपालका बच्चा यादव अहिर, प्रदेश सांसद जीवछी यादव, प्रदेश सांसद शारदा थापा, प्रदेश सांसद संजयकुमार महतोसहितका प्रदेशसभा सदस्यहरु र नीति आयोग मधेश प्रदेशका सदस्य डा.शिला मिश्र, रामचन्द्र यादव सहितले शहिद परिवारको समस्या समाधानका लागि राज्यले गर्नु पर्ने कामकाजको विषयमा आफ्नो धारणा राखेका थिए।

कार्यक्रमको अध्यक्षता गरेका मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले शहीदको सपना पूरा गर्न र शहीद परिवारको समस्या समाधानका लागि प्रयास सुरु गरेको बताए। उनले मन्त्रालयको एक्लो प्रयासले मात्रै सम्भव नहुने धारणा राखे।

छलफलका क्रममा सहभागीबाट आएका सुझावहरुलाई आत्मसात गरी मन्त्रालयले शहिद परिवारको लागि आगामी दिनमा कार्यक्रमहरु तय गर्नेसमेत बताए। उनले हामीले थालेको प्रयासलाई सफल पार्न विभिन्न राजनीतिक दल, प्रदेशसभा सदस्य र कर्मचारीको पनि भूमिका त्यतिकै रहने बताए।

कार्यक्रममा मधेश प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता सुरेन्द्र महतोले शहीदको सपना र वर्तमान उपलब्धिको विषयमा सहभागीहरुलाई जानकारी गराएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.