|

काठमाडौँ : बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनसम्बन्धी रास्वपा सभापति रवि लामिछानेविरुद्ध मुद्दा दर्ता अन्तिममा रोकिएको छ। 

जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले पूरक अभियोजन लगे पनि प्राविधिक कारणले दर्ता हुन नसकेको हो। कार्यालयका प्रमुख एवं जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले अन्तिम तयारी गरिए पनि आज मुद्दा दर्ता गर्न नसकिएको थाहाखबरलाई जानकारी दिए। 

अदालत स्रोतका अनुसार सोसम्बन्धी पुरानो मुद्दाको मिसिल सर्वोच्च अदालतमा पुगेको तर उक्त  मिसिल नआएकाले प्रक्रिया पूरा हुन नसकेको हो। यसअघि वैशाख ३ गते सुप्रिम सहकारीका पूर्वअध्यक्ष एवं संरक्षक जीवी राईसहितका २८ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो। 

सुरु मुद्दामा सहकारी ठगीसम्बन्धी मात्र मुद्दा दर्ता भएको र हिजो बिहीवार १७ जनालाई संगठित अपराध पनि थप गरेर मुद्दाको अभियोजनपत्र अदालतमा पठाइएको पनि उनले थाहाखबरसँग बताए।

रास्वपा सभापति रवि लामिछाने, पूर्व डिआइजी छविराज जोशीसहित जोडिएको पूरक अभियोजनपत्र सरकारी वकिल कार्यालयले तयारी अवस्थामा राखेको छ।

थप र पूरक अभियोजनमा ४२ जनाबाट १ अर्ब १२ करोड रुपैयाँ बिगो बराबरको रकम उठाउनुपर्ने गरी प्रतिवेदन तयार भएको छ। रवि लामिछानेमाथि  व्यक्तिगत रूपमा गएको २ करोड  र गोर्खा मिडियाका नाममा गएको सामूहिक २ करोड १५ लाख २८ हजार गरी ४ करोड १५ लाख २८ हजार रुपैयाँको बिगो माग दावी गरिएको छ।

लामिछाने कास्कीमा ६५ लाख र काठमाडौँ अदालतमा ६० लाख बैंक ग्यारेण्टी धरौटीमा रिहा भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.