काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको शब्दमा ‘क्षितिजबाट घाम’ शीर्षकको गीत सार्वजनिक भएको छ।
देशभक्तिको भावनामा रचिएको उक्त गीतको म्युजिक भिडियो पनि निर्माण गरिएको छ। उक्त भिडियोको निर्देशन वासु दुलालले गरेका छन् भने गीतमा गायिका तारा दुलाल र परेश राईले स्वर दिएका छन्।
सामाजिक परिवर्तन, आर्थिक विकासका विषय समेटिएको गीतमा सङ्गीत तोरेम्पा हाङ र सङ्गीत संयोजन राजु कार्कीले गरेका छन्। बढ्दो महँगी, बेरोजगारी अन्त्य गर्न सुशासन कायम गर्नुपर्नेमा जोड दिइएको गीतमा पार्टीको दशौँ महाधिवेशनका दृष्य समावेश गरिएका छन्।
नेता खनालले समाजवादी अर्थ व्यवस्थाका लागि आवश्यक वातावरण बनाउन साहित्य सृजना गरेकाले गीतमा प्रगतिशील शब्दहरू चयन गरिएको बताए।
गीत सबै दर्शक र श्रोताको निम्ति महत्वपूर्ण हुने बताउँदै उनले हामी सबैको बाटो समाजवाद हो भन्ने मूल उद्देश्यका साथ यो गीत रचना गरेको उल्लेख गरे। यसअघि उनका केही पुस्तक र गीत पनि प्रकाशन भएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।