अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनिया समकक्षी सी जिनपिङबीच टेलिफोन वार्ता भएको छ।
नयाँ राष्ट्रपतिका रुपमा ट्रम्पले शपथ ग्रहण गर्नुअघि चिनिया समकक्षीसँग टेलिफोन वार्ता गरेका हुन्। ट्रम्पले २० जनवरीमा राष्ट्रपति पदको शपथ लिनेछन्। दुई राष्ट्रपतिबीच विभिन्न समसामयिक मुद्दामा छलफल भएको बताइएको छ।
ट्रम्पको शपथ ग्रहण समारोहमा चीनका तर्फबाट उपराष्ट्रपति हान झेङ सहभागी हुने तय भइसकेको छ। ट्रम्पले चिनिया समकक्षी सीसँग वार्ता भएको र यो कुराकानी दुवै देशको हितमा रहेको सामाजिक सञ्जाल ट्रुथमा उल्लेख गरेका छन्।
‘मलाई विश्वास छ, हामी मिलेर कैयौँ समस्याहरुको समाधान गर्ने छौँ र त्यसको शुरुवात तत्काल गर्नेछौँ’, ट्रम्पले लखेका छन्। ट्रम्पले दुई देशबीचको व्यापार, टिकटकमाथिको प्रतिबन्ध लगायतका कैयौँ विषयमा छलफल भएको उनको भनाइ छ। ट्रम्पले राष्ट्रपति शी र आफू मिलेर विश्वलाई अझै शान्तिपूर्ण र सुरक्षित बनाउनका लागि हरसम्भव प्रयास गर्ने उल्लेख गरेको छ। पछिल्ला केही वर्षयता अमेरिका र चीनबीच व्यापारद्वन्द्व चलिरहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।