|

काठमाडौं : अनियन्त्रित खानपान र जीवनशैलीका कारण पछिल्लो समय धेरै मानिस उच्च रक्तचापबाट पीडित भएका छन्। उच्च रक्तचापकै कारण धेरैजना युवा अवस्थामानै मुटु रोगी भएका छन्।

उच्च रक्तचापले मानिसको धमनीमा रक्तचाप बढ्छ। जसका कारण मुटुले सामान्यभन्दा बढी काम गर्नुपर्ने हुन्छ। भुटेको, चिल्लो खानेकुरा खाँदा‚ धूमपान र मद्यपान धेरै गर्दा तथा शारीरिक व्यायम नगर्दा उच्च रक्तचापको समस्या आउँछ। उच्च रक्तचापबाट पीडितहरूले खानपानमा ध्यान दिनुपर्ने हुन्छ। खानपान ध्यान दिए स्वास्थ्य प्रतिकूल हुनबाट जोगाउँछ।  रक्तचाप न्यूनिकरण गर्न के गर्नुपर्ला? 

उच्च रक्तचापकाे अवस्था तथा यसमा गर्न हुने र गर्न नहुने कुराहरू:

सामान्य रुपमा रक्तचाप भन्नाले मुटुले शरीरमा रक्तप्रवाह गर्दा मुटुकाे भित्ता तथा धमनीगत रक्तनलीमा दिने अधिकतमदेखि न्यूनतम दबाबकाे अवस्था भन्ने बुझ्नुपर्छ। स्वस्थ वयस्क व्यक्तिमा हुने सरदर १२०/८० mm of Hg प्रेसरकाे रक्तचापभन्दा बढी वा अत्यधिक बढी हुने अवस्था उच्च रक्तचापकाे अवस्था हाे। यद्यपि, उमेर बढ्दै जाने क्रममा रक्तचापकाे सामान्य तह पनि बढ्दै जान्छ।

आधुनिक चिकित्सा विज्ञानमा उच्च रक्तचापलाई स्वतन्त्र तथा एकल राेग नमानेर मुटु तथा रक्तसञ्चार प्रणाली सम्बद्ध राेगकाे लक्षणका रूपमा लिइन्छ। आयुर्वेद चिकित्सा विज्ञानमा उच्च रक्तचापकाे अवस्थालाई हृदयागत राेग तथा अवस्था र लक्षणअनुसार समग्र शरीरकाे रक्तगत वात तथा पित्त र कफ दाेषसँग सम्बन्धित राेग मानिन्छ।

 कारण :

उच्चरक्तचाप सामान्यतया धमनीमा अत्यधिक रगतकाे दबाब, मुटुकाे अत्यधिक र अस्वाभाविक सक्रियता, बाह्य दबाब र विकृति एवं अत्यधिक श्रम तथा साहसका कारणले हुन जान्छ।

शरीरकाे माेटाेपना, मानसिक तनाव, रगतमा चिल्लाेपना तथा चिनी (ग्लुकाेज), लवण तत्वकाे अधिकता, मृगाैला सम्बद्ध राेग, क्याल्सियम तत्वकाे कमी, रक्तसञ्चारमा बाधा अवराेध तथा दबाब, रक्त नलीकाे संकुचन तथा कडापन जस्ता कारणहरू उच्च रक्तचापका प्रमुख कारणहरू मानिन्छन्। यसका साथै मानसिक तनाव, चिन्ता, भय, प्रज्ञापराध (आफूले जानाजान गलत गरेकाे महसुस) लगायत गलत आहार र विहार पनि प्रमुख कारण हुन्।

प्रकार/वर्गीकरण :

प्राथमिक अवस्था (अज्ञात कारकत्व उच्चरक्तचाप) : याे अवस्थामा रक्तचाप सदैव बढी देखिन्छ तर स्पष्ट कारण थाहा हुँदैन। लक्षण अनुसारकाे उपचारपछि रक्तचाप सामान्य अवस्थामा आउँछ।

माध्यमिक अवस्था (द्वितियक उच्चरक्तचाप) : यसमा शरीरका अंगहरूमा विकृति तथा अन्य माध्यमहरू कारणका रुपमा हुन्छन्, जुन प्रमुख रूपले निम्नानुसार छन् :

- हृदयराेग जन्य (मुटुकाे राेगका कारण)।

- मृगाैला तथा तत्सम्बन्धित राेगका कारण।

- अन्तश्रावि ग्रन्थीकाे विकार, विभिन्न हर्माेन्स तथा भिटामिनहरूकाे क्षय र वृद्धिका कारण।

- खानपान, बानी व्यवहार तथा अस्तव्यस्त र अनियमित दैनिकीका कारण।

- मानसिक अवस्था र मानस विकृतिका कारण।

- विभिन्न औषधि र भिटामिनलगायतकाे अनावश्यक प्रयाेग तथा दुष्परिणामका कारण।

- गर्भवती अवस्थाजन्य कारण।

- विभिन्न संक्रमण तथा कृमि (जुका)हरूका कारण।

- अति हर्ष र व्यायाम, तीव्र र धेरै उत्तेजना तथा रिस र अत्यधिक परिश्रम जन्य कारण।

लक्षण तथा चिन्ह :

रक्तभार (ब्लडप्रेसर) नाप्दा रक्तचाप बढी वा धेरै बढी देखिनुका अलावा निम्न लिखित लक्षणहरू पनि देखिन सक्छन्।

- टाउकाे पछाडिकाे भाग, गर्दन तथा छातीकाे मध्य र बायाँ भागमा दुखाइसहितकाे भारीपना।

- शरीर तथा छालामा रक्तता (राताेपनमा वृद्धि)।

- श्रम बिनाकाे थकान, कमजाेरी  र पुरै शरीरमा मन्द दु:खाइ।

- चक्कर तथा रिंगटा लाग्नु, कानमा फरक आवाज महसुस हुनु र आँखाका गेडीहरू भारी लाग्नु।

- पाचन विकार, स्मृतिमा ह्रास, आँखा अगाडि अधेराेपना, अनिद्रा, बेचैनी र शारीरिक याैन उत्तेजनामा सामान्य वृद्धि।

- शरीरकाे कुनै भाग सामान्य भन्दा भारी लाग्नु वा चलाउन गाराे हुनु, आँखाबाट आफै आँसु बगिरहनु।

- हात खुट्टामा सुजन, हात गाेडामा अनियन्त्रित कम्पन आदि।

- कुनै पनि काममा स्थिर रहन नसक्नु, शरीरबाट पसिना बढि मात्रामा निस्कनु।

- नाकबाट रगत बग्नु, दिसा कालाे रंगकाे हुनु।

- शरीरकाे एक भाग नचल्नु वा पक्षाघातकाे अवस्था आउनु।

उल्लेखित १० लक्षणहरू मध्ये ४ वटा वा साे भन्दा बढी लक्षण एकैसाथ देखिएमा तत्काल नजिककाे स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी वा चिकित्सककाे सल्लाह लिनुपर्छ।

उच्च रक्तचाप : खान र गर्न हुने काम कुरा

- पूर्ण निद्रामा सुत्ने (वयस्क व्यक्तिमा लगभग ७/८ घण्टा) तथा सुत्ने उठ्ने खानपान गर्ने  समयमा एकरूपता हुनुपर्छ।

- पारीजातकाे ताजा ५/६ वटा पातलाई सफा गरेर हल्का काटकुट गरी १५० मिलि. पानीमा उम्लने गरी पकाएर छानेपछि त्यसमा आधा चम्चा बेसार (लगभग २ग्राम) मिसाएर बिहान खाली पेटमा केही दिनसम्म लगातार पिउनाले राम्राे लाभ गर्छ।

- १/१ चम्चा ज्वानाे तथा बेसारलाई पानीमा पकाएर राती खानापछि नियमित रुपमा पिउनाले रगतमा चिल्लाे मात्रा बढेर हुन जाने उच्चरक्तचापकाे अवस्थालाई केही दिनमा सामान्य बनाउँछ।

- तरकारीमा नियमित रूपमा मसलाका रुपमा दालचिनी, तेजपात, जिरा, धनियाँ, बेसार, ज्वानाे, मेथी तथा लसुन र प्याजकाे प्रयाेग बढाउने।

- पर्याप्त माैसम अनुसारका फलफूल, कागती, केरा, लाैका, अमला एवं अमलाका परिकारहरू, ताजा तरकारी आदिको प्रयाेग बढाउने।

- दूध पिउँदा तर हटाएकाे दूधमा बेसार राखेर पिउने।

- अश्वगन्धा, अर्नजु (काउलाे)काे बाेक्रा, सर्पगन्धा (चाँदमरुवा)काे जरालाइ घरेलु औषधिकाे रुपमा प्रयाेग गर्न सकिन्छ।

- राताे पुनर्नवाकाे कलीलाे मुन्टाहरूलाइ सागकाे रुपमा पकाएर खानाले फाइदा गर्छ।

- विहानकाे घाममा १०/१५ मिनेट बस्नाले शरीरका बाह्य रक्तनलीमा रहेकाे चिल्लाे तत्व र छालामा भएकाे बाेसाे तत्वकाे पाचन भइ रक्तचाप कम गर्न मद्दत गर्छ। पारीलाे घाममा बस्नाले तत्काल रुपमा पनि रक्तचाप केही कम हुन जान्छ।

- स्वस्थ व्यक्तिले पनि हरेक २/२ महिनामा रक्तचाप (ब्लड प्रेसर)काे नियमित जाँच गराउनु उपयुक्त हुन्छ।

उच्च रक्तचाप : खान र गर्न नहुने काम कुरा

- अनावश्यक रुपमा तनाव, झै झगडा, तथा अव्यवस्थित खानपान र अनियमित जीवन शैली त्याग्नुपर्छ।

- हाल नेपालमा प्रचलित आयाेडिनयुक्त पाेका नुनसमेत मानव स्वास्थ्यका लागि घातक रहेकाे तथ्य उजागर भएका छन्, अत्यधिक आयाेडिन र प्लाष्टिक तत्व बढी पाइएका यस्ता नुन विषाक्त हुन्छन्। तसर्थ नुनकाे सही छनोट गर्ने वा ढिका नुन नै प्रयाेग गर्नु उचित हुन्छ। नियमित खानपानका लागि सिधेनुन पनि उचित हुँदैन।

- बजारमा सूर्यमुखी तेलकाका नाममा पाइने प्रशोधित तथा अन्य तेल प्रयाेग गर्नु हुँदैन यसकाे साटाे ताेरीकाे तेल र गाई भैंसीकाे शुद्ध घ्यू प्रयाेग गर्नुपर्छ।

- नेपालमा हाल मासुका रूपमा प्रयाेग हुने ब्राेइलर कुखुराकाे नियमित र धेरै प्रयाेग पनि हानिकारक छ, यसकाे खानपानमा चनाखाे हुनु र अखाद्य कुरा प्रयाेग भए नभएकाे यकिन हुनु जरुरी छ। विभिन्न तथ्य र व्यवहार हेर्दा ब्राेइलर कुखुरालाइ अत्यधिक स्टेराेइड तथा एन्टिवायाेटिक दिने र स्त्री हर्माेनसमेत प्रयाेग गरी छिटाे ताैल बढाउने गरिएकाे पाइन्छ।  नुन तेल र मासुमा मिसाइने यस्ता गैर खाद्य तत्वकाे मात्रा अधिक भएमा मुटु र समग्र शरीरकाे स्वास्थ्य लगायत हाम्राे प्रतिजैविक प्रणाली र प्रजजन स्वास्थ्यमा समेत हानि गर्दछ।

- चिनीकाे प्रयाेग कम गर्दै जानु पर्छ। यसकाे साटाे गुलियाे र ग्लुकाेजकालागि गुड(भेली), सख्खर, खुदाे, मिश्री र मह आदिकाे प्रयाेग गर्नुपर्छ। बेमाैसमी फलफूल तथा तरकारीहरू सकेसम्म प्रयाेग गर्नु हुँदैन।

- जथाभावि औषधिकाे प्रयाेग, सुर्ती, चुराेट,जाँड, रक्सि तथा अन्य कुलत, प्लाष्टिकका भाँडा र प्रसाधनकाे प्रयाेग गर्नु हुँदैन। बरु विषादी र भिटामिन प्रयाेग गरिएका फलफूल तरकारी मन्दताताे पानीमा पखालेर घाममा सुकाएर मात्र प्रयाेग गर्नुपर्छ।

- धेरै चिल्लाे, पहिल्यै तयार गरिएका प्राेसेस्ड फुड, तयार गरेर वा पकाएर फ्रिजमा राखिएका तथा बासी भाेजन गर्नु हुँदैन। आधुनिक शैलीका भाेज भतेरमा आफूलाई निरुत्साहित गर्नुपर्छ।

बेलुकाकाे खानामा गरिष्ठ र पच्ने गाह्राे हुने खाना, दही, मही, मास, फर्सी, पनिर, विशेष गरी रगत मिसिएका मासुका परिकार, तेलमा तारेका- भुटेका खानाहरू र फलाम(iron) तत्व भएका खाना भिटामीनहरू खानु हुँदैन। यस्ता खानालाई बिहानकाे खानामा समावेश गर्नु उचित हुन्छ।

- शरीरकाे ताैललाई अस्वाभाविक रुपमा बढ्न दिनु हुँदैन। नियमित शारीरिक कामकाज र सकृयता , व्यायाम र सक्दाे पैदल हिँड्नु उचित हुन्छ।

- लामाे समय उभिइरहने, दिउँसोमा सुत्ने, टाउकाेभन्दा अग्लाे उचाइमा खुट्टा राखेर बस्ने तथा आराम गर्ने गर्नु हुँदैन। खाना खाएलगत्तै आराम गर्ने, खाली समयमा बस्नुकाे साटाे पल्टिएर माेबाइल चलाउने तथा आराम गरिरहने गर्नु हुँदैन। सम्भव भएसम्म दैनिक एक आधा घण्टा  हुने गरी उट्केरी (टुक्रुक्क/दिसा बसे जस्ताे) गरी बस्नु समग्र रक्त संचारकाे लागि लाभकारी हुन्छ।

- अति मैथुन, अत्यधिक साहस, तथा निश्चित उमेर पुगेपछि न्यूनतम् शारीरिक बल, आधारभूत कला र ज्ञानबिना नै कसरत र तन्दुरुस्तीको नाममा गरिने खेलकुद र अति परिश्रम पनि घातक हुन्छ। यसका लागि पूर्ण ज्ञान भएका व्यक्तिकाे प्रत्यक्ष निगरानीमा खेल्नु जरुरी हुन्छ।

दश उपयाेगी याेगासन तथा ध्यान

- उत्कटासन

- ताडासन

- पवनमुक्तासन

- शलभासन

- याेगनिद्रा

- भ्रामरी

- अनुलाेभ- विलाेम

- मन्त्रजप

- ध्यान तथा पूजा आरधना

-  पूर्ण श्वासकाे ॐकार जप तथा नाकबाट श्वास तानेर विस्तारै मुखबाट श्वास छाेड्ने गर्नुपर्छ।

माथि उल्लेखित याेगासनहरू दक्षव्यक्तिकाे नियम र निर्देशनमा रहेर गर्नु उचित हुन्छ।

नाेट: माथि उल्लेखित जानकारीहरू सामान्य रूपमा रक्तचाप उच्च भएका तथा स्वस्थ व्यक्तिहरूले पालना गर्नुपर्ने र अपनाउनुपर्ने सल्लाह हुन्। उच्च रक्तचापकाे मिल्दाेजुल्दाे लक्षण देखिएमा वा सम्भावनाकाे आभाष भएमा तत्काल नजिककाे स्वास्थ्यकर्मी र चिकित्सककाे परामर्श लिनु आवश्यक हुन्छ।

लेखक डा. गौतम माता मनकामना आराेग्य केन्द्र, बुटवलमा सेवारत हुनुहुन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.