काठमाडौँ : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र पहिलेभन्दा सुधारिँदै गएको र सुधारका प्रयासले नतिजा दिन थालेको दावी गरेका छन्।
अर्थ मन्त्रालयले आज काठमाडौँमा गरेको पत्रकार भेटघाट तथा अन्तरक्रियामा अर्थमन्त्री पौडेलले अर्थतन्त्र सुधारिँदै गएको सूचकहरुले नै देखाएको दावी गरे।
“हामीले आर्थिक सूचकहरुमा तलमाथि गरेका छैनौँ। सूचक हरियो छ भने हरियो र रातो छ भने रातो नै प्रस्तुत भएको छ। तथ्यले हाम्रो अर्थतन्त्र सुधार हुँदै गएको देखाउँछ”, उनले भने।
वर्तमान सरकार गठन भएपछि आर्थिक सूचकहरु सुध्रँदै गएको अर्थमन्त्री पौडेलले दावी गरे।
“आर्थिक परिसूचकहरु अहिलेको भन्दा पहिला नकारात्मक थिए। ती परिसूचकलाई सकारात्मक बनाउन समय लागेको छ र निकै बढी मेहनत गर्नुपरेको छ‚’ उनले भने‚ ‘ओरालो लागेको अर्थतन्त्रलाई अहिले सकारात्मक दिशामा डोर्याएका छौँ।”
सरकारले अध्यादेशमार्फत कानून संशोधन गरेलगत्तै निजी क्षेत्रका छाता सङ्गठनले त्यसको स्वागत गरेको र यसले निजी क्षेत्रलाई अघि बढाउन भूमिका खेलेको उनको भनाइ थियो।
“पुँजीगत खर्चमा गुणात्मक सुधार गर्न सरकारले काम गरिरहेको छ”, अर्थमन्त्री पौडेलले भने।
सम्पत्ति शुद्धिकरण अनुसन्धान मामलामा ‘नेपाल फाइनान्सिएल एक्सन टाक्सफोर्स’को सम्भावित जोखिम सूचीमा पर्न नदिन नेपाल चनाखो रहेको अर्थमन्त्री पौडेलले बताए।
“सम्पत्ति शुद्धिकरण निवारण मामलामा हामीले गर्नुपर्ने कामको सूची छ। केन्द्रीय कार्यसूची बनाएर काम भइरहेको छ। त्यसलाई हामीले गम्भीरताका साथ कार्यान्वयन गरिरहेका छौँ। आफ्नो प्रतिष्ठा जोगाउँदै जाने विषयमा नेपाल सचेत छ”, अर्थमन्त्री पौडेलले भने।
तपाईंको ईमेल गोप्य राखिनेछ ।