'हामी जुट्न र फुट्न कत्ति पनि समय लाग्दैन'

|

काठमाडौं : २०६२/६३ को जनआन्दोलनपछि नेपाली राजनीतिमा स्थापित उपेन्द्र यादव अहिले सत्ता राजनीतिभन्दा टाढा छन्।  पछिल्ला आम निर्वाचनबाट झन् खुम्चिएको यादवको पार्टी माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको अघिल्लो सरकारको पालामा विभाजित भएपछि मधेश प्रदेश विपक्षमा बस्न बाध्य भएको छ। छोटो समयमा सबैभन्दा धेरै मन्त्री हुनेमा पर्छन् यादव। सरकारमा जानु र बाहिरिनु जस्तै देखिन्छ।

उनी नेतृत्वको जसपा विभाजित हुनु र एकतामा जानु। अहिले कांग्रेस एमालेको सरकार बनेको छ महिना नाघेको छ। यसबीचमा माओवादी अध्यक्ष प्रचण्डले विपक्षमा रहेका दललाई एक ठाउँमा ल्याउन लागिपरेका छन्। तर, यसअघि समाजवादी मोर्चामा रहेको यादव नेतृत्वको जसपा नेपाल सामेल भएको छैन। किन? आज हामी यसै प्रश्नको पेरिफेरीमा केन्द्रित रहेर यादवसँग गरेको कुराकानीको सम्पादित अंश :

पछिल्लो समयमा एमाले कांग्रेसको नेतृत्वमा बनेको सरकारको ६ महिना पुगेको छ। यसैबीच प्रचण्डले विपक्ष दलका ७ दललाई लिएर बलियो बनाउन लाग्नुभएको छ। तपाईं चाहिँ समाजवादी मोर्चामा पनि आउनुभएको छैन। विपक्ष मोर्चामा पनि सामेल हुनुभएको छैन, किन? 

समाजवादी मोर्चाको निर्माणको क्रममा त्यसका दस्तावेज गर्न त्यसको विचार तयार गर्न मेरो महत्वपूर्ण भूमिका रहेको थियो। तर त्यो मोर्चाको स्थापनाको मुख्य लक्ष्य के थियो भने कांग्रेस र कम्युनिष्टको विकल्पमा तेस्रो शक्तिको निर्माण गर्ने मुलुक राजनीतिक तथा आर्थिक परिवर्तनलाई गति दिनका लागि त्यो मोर्चा निर्माण गरिएको हो। त्यो मोर्चा निर्माण भइसकेपछि  प्रचण्डजी मोर्चाको तर्फबाट प्रधानमन्त्री बन्नुभयो।

हामीले समर्थन गरेका थियौँ। तर मोर्चामा हुँदाहुँदै सहकार्य गर्दै प्रचण्ड जीले जसपालाई फुटाउने काम गर्नुभयो। हामीले आरोप लगाएका होइनौँ। उहाँले नै भाषण गरेर जसपा फुटाएँ भनेर भन्नुभयो। सँगै सहयात्रा गरेको पार्टीलाई उहाँले पिठ्युमा छुरा हान्नुभयो। त्यो कारण विश्वासघात भयो। यो अविश्वास रहुन्झेल कसरी सहयात्रा हुनसक्छ? सहयात्रा त परस्पर विश्वास हुनुपर्‍यो। हामीले कसरी विश्वास गर्ने? विश्वासको संकट परेको कारण नै म नगएको हो।

जब आफूलाई संकट पर्दा मोर्चा सम्झिने र पदमा पुगेपछि मोर्चालाई मृत बनाउने। अब यो मोर्चाले गति लिन्छ, सहयोग गर्छ भन्ने आधार कसरी तय गर्ने? विश्वासको संकटकै कारण हामी गएका छैनौँ।

प्रचण्डले सत्तामा हुँदा पनि समाजवादी मोर्चालाई सौदावाजी गर्नुभयो। त्यस्तो प्रवृति छ भन्न खोज्नुभएको हो?

हजुर। शेरबहादुरजीलाई छोडेर उहाँ केपी ओलीकोमा जानुभयो। तर हामीलाई थाहा नै दिनुभएन। पछि मैले खबर थाहा पाएपछि माधवजीलाई खबर गरेको थिएँ। आफ्नै सहकर्मीलाई धोका दिने? उहाँले देउवाजीलाई पनि धोका दिनुभयो। ओलीजीलाई नेपालजीलाई पनि धोका दिनुभयो। हामीप्रति त विश्वासघात नै गर्नुभयो। यस्तो अवस्थामा कुनै मोर्चाले लक्ष्य लिन सक्छ? 

तपाईं सरकारमै भएको बेला तपाईंको पार्टी फुटाउने षडयन्त्र भएको हो भन्न खोज्नुभएको हो? 

म सरकारको प्रतिनिधित्व गरेर विदेश गएको बेला प्लेनमा चढ्दै गर्दा यता षडयन्त्र भयो। यो अनैतिक काम भयो। 

तर ओली प्रधानमन्त्री हुँदा त तपाईंको मन्त्रालय नै फेरिएको थियो नि?

मन्त्रालय फेरेको कुरा अलग हो। तर यो मन्त्रालय फेर्नुभन्दा पार्टी फुटाउन षडयन्त्र गर्नु त पिठ्युँमा छुरा खोपेको हो नि। 

अब अफ्ठ्यारो पर्दा खोज्ने, सजिलो हुँदा घात भएको भन्ने नै तपाईंको आशय हो?

हो नि। मित्रघात गर्ने। प्रचण्डजीको बानी नै त्यस्तै हो। यस्तो कुराहरू छिनोफानो नभईकन विश्वस्त नभई सहयात्रा हुन सक्दैन। 

आखिर किन बनेको समाजवादी मोर्चा? यसको उद्देश्य के हो?

यसको उद्देश्य भनेको अवसर र न्यायबाट वञ्जित समुदायको हक अधिकार र न्यायका लागि संघर्ष गर्ने परिवर्तनका लागि अगाडि बढाउने र सुशासन विकास र समृद्धिलाई गति दिने र वैकल्पिक शक्तिको रूपमा उभ्याउने थियो। घोषणापत्रमा यस्तो छ। 

तपाईं अहिले सत्तामा पनि हुनुहुन्न, विपक्षमा पनि हुनुहुन्न। आखिर कहाँ हुनुहुन्छ तपाईंहरू?

हामी अहिले असंग्लन जस्तो छौँ। हामीले सरकार संविधान संशोधन गर्छु भनेको छ। जनताको हितमा काम गर्छु भनेको छ। र सहयोग गर्नुस् भनेको छ। हामीले बाहिरबाट समर्थन गर्छौं भनेका छौँ। त्यही पोजिसनमा हामी छौँ। 

सरकारले संविधान संशोधन गर्ने भन्दै छ। अहिले तपाईंको पार्टी कमजोर अवस्थामा छ। यतिखेर तपाईंहरूका एजेण्डा कसरी स्थापित गर्ने तयारीमा हुनुहुन्छ? 

हामीले उठाएका मुद्दाहरू राष्ट्रिय मुद्दाहरू छन्। जतिबेला संविधान जारी भयो। मधेशमा जनताले कालो दिन मनाए। सुरक्षाकर्मीले गोली बर्सायो। त्यो बेला संविधान घोषणा गरेको हो। 

त्यहाँ ३७६ भन्दा बढी संशोधन प्रस्ताव दर्ता भएका थिए। तर छलफल भएनन्। सोझै लेखेर ल्याए। घोषणा गरे। उहाँहरूले पछि संशोधन गर्ने भनेकै हो। हामीले पनि यो संविधान अस्वीकार गरेका हौँ। यो संविधान सबै समुदायलाई स्विकार गर्ने बनाउने कि सिमित व्यक्तिहरूले स्विकार गरेर उनीहरूको मात्र संविधान बनाउने? अहिलेसम्म यो संविधान सर्वस्वीकार्य छैन।

त्यसकारण यसलाई स्वीकार्य गर्न संशोधन परिमार्जन पुनर्लेखन गरौँ भनेर हामीले मुद्दा उठाएका छौँ। ठूला दलले हामीसँग सम्झौता गरेका छन्। हामीले उठाउँदै मधेशका मुद्दा भन्ने हैन। यो समग्र देशको मुद्दा हो।

पटक-पटक सरकारमा पुग्नुभयो। सरकारमा पुग्दा तपाईंहरूको एजेण्डा स्थापित किन हुन सकेनन्? तपाईंहरूको  संख्या कम भएर हो वा अन्य कुनै कारण छन्?

हामी बलियो भएको भए त लागू गरिहालिन्थ्यो नि। त्यो अवस्था छैन। कांग्रेस एमाले माओवादी संविधान संसोधन गर्ने भन्दै सम्झौता गर्दै आएका हुन्। उहाँहरूले गरेको प्रतिबद्धता गर्नुभएन। उहाँहरूको पुरानो मानसिकता परिवर्तन नहुनु र परिवर्तनकारी शक्ति कमजोर भएकाले मुलुकको यो दुर्दशा भएको हो। 

अहिले ६ वटा अध्यादेश ल्याएको छ। संसद् बोलाएन। सुशासन र संविधान संसोधन जुन एजेण्डामा बनेको थियो। त्यस अनुसारको काम गरेन भनेर ७ विपक्ष दलहरू एक ठाउँमा उभिएर मोर्चामन्दी कसेका छन्। यो बेला तपाईंहरू कता उभिनुहुन्छ?

हामी आफ्नै ठाउँमा उभिएका छौँ।  जहाँसम्म अध्यादेशबाट देश चलाउनुहुन्न। अध्यादेश त इमर्जेन्सीको बेलामा मात्र हो। तर संसद् चल्ने बेलामा अध्यादेश ल्याउनु र देश चलाउनु भनेको कानुनको दुरूपयोग गर्नु हो। संसद् तुरून्त बोलाउनुपर्छ। विपक्ष मोर्चा वार्तामा छन्। ती पनि कुन चाहिँ गतिला छन् र? तीनले पनि हिजो त्यस्तै गरेर आएका हुन्। 

अहिले ७ बुँदे सहमतिअनुसार काम गरेको देखिन्छ?

७ बुँदै दुई पार्टीको हो कि दुई व्यक्तिको हो? सक्कल कपी न एमालेको साथीबाट पाइएको छ न कांग्रेसका साथीहरूले दिनुभएको छ।  यो हाउगुजी जस्तो भएको छ।  सरकार त्यही बुँदाअनुरूप पनि चलेको जस्तो लाग्दैन। 

तपाईंको पार्टी फुट्दै जुट्दै फुट्दै आएको छ। आगामी चुनावका लागि पार्टी बलियो बनाउन के के गर्दै हुनुहुन्छ?

६ महिनादेखि जनताबीच जसपा भनेर घरदैलो कार्यक्रम भइरहेका छन्। शक्ति विस्तारमा हामी लागेका छौँ। हाम्रो विश्वास भनेको जनता हो। जनतामा संगठन गर्नु र विस्तार गर्नु नै शक्ति हो। कुन मान्छे कता आयो कता गयो भन्ने कु्राले खास महत्वपूर्ण छैन। 

 पार्टी एकताको कुरा पनि छ कि

नेपालमा पार्टी जुट्न र फुट्न समय लाग्दैन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.