काठमाडौँ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस सुनसरीका पूर्वसभापति रामबहादुर बस्नेतको निधनमा दुःख व्यक्त गरेका छन्।
सभपति देउवाले आज शोक वक्तव्य जारी गर्दै बस्नेतको निधनको खबरले आफूलाई दुःखित र मर्माहत बनाएको उल्लेख गरेका छन्।
“बस्नेतले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गरेको नेतृत्वदायी भूमिका पार्टीमा सदा स्मरणीय रहिरहनेछ”, शोक वक्तव्यमा उल्लेख छ। सभापति शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्।
अठहत्तर वर्षीय बस्नेतको काठमाडौँस्थित आफ्नै निवासमा आज बिहान निधन भएको हो। उनले नेपालको प्रजातान्त्रिक आन्दोलनका क्रममा पटक–पटक जेल जीवन व्यतीत गरेका थिए।
प्रजातन्त्र पुनःस्थापनापछि २०४९ सालको स्थानीय तहको निर्वाचनमा बस्नेत कांग्रेसको तर्फबाट जिविस सुनसरीको सभापतिमा निर्वाचित भएका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।