|
सांकेतिक तस्विर

रूकुम पश्चिम : रूकुम-पश्चिमको त्रिवेणी गाउँपालिकामा यो वर्ष अदुवा उत्पादन वृद्धि भएको छ। यहाँ अदुवाखेती गर्ने किसानको सङ्ख्या घटे पनि उत्पादन वृद्धि भएको हो । 

यो वर्ष यहाँबाट करिब ६ करोड रुपैयाँको अदुवा बिक्री भएको त्रिवेणी गाउँपालिकाका कृषि शाखा प्रमुख रमेश पुनले जानकारी दिए। उनका अनुसार अदुवा बिक्रीबाट किसानले पाँच करोड ९२ लाख आम्दानी गरेका छन्। १० वडा रहेको त्रिवेणीमा एक हजार ९५० परिवारले अदुवाखेती गर्दै आएका छन् । 

प्रत्येक किसानले दुई रोपनीभन्दा बढी जग्गामा अदुवाखेती गर्दै आएका पुनले बताए। पालिकाभर हाल १९५ हेक्टर जग्गामा अदुवा उत्पादन भइरहेको उनले जानकारी दिए।

कृषि शाखा प्रमुख पुनका अनुसार एक रोपनी क्षेत्रफलमा चार क्विन्टलभन्दा बढी अदुवा उत्पादन हुने गरेको छ। पालिकाभर यस वर्ष १५ हजार ६०० क्विन्टल अर्थात् १५.६ मेट्रिक टन अदुवा उत्पादन भएको छ। किसानले प्रतिक्विन्टल रू तीन हजार ८०० भन्दा बढी मूल्यमा अदुवा बिक्री गरेका उनले जानकारी दिए। 

गत आर्थिक वर्षमा पालिकामा दुुई हजार ६०० परिवारले अदुवाखेती गर्दै आएकोमा यो वर्ष उक्त सङ्ख्या ६५० ले घटेको प्रमुख पुनले बताए। व्यापारी गाउँमा पुगेर अदुवा खरिद गर्ने गरेकाले बजारको समस्या नरहेको गाउँपालिकाको कृषि शाखाले जनाएको छ ।

व्यावसायिक रूपमा अदुवाखेती गर्दै आएका त्रिवेणी–४ खुम्चेरीका नरबहादुर खड्काले यस वर्ष अदुवा बिक्रीबाट एक लाख आम्दानी गरेको बताए। २० वर्षदेखि अदुवाखेतीमा लाग्नुभएका उहाँले निरन्तर खेती गर्दा मौसममा रू दुई लाखसम्म आम्दानी हुने जानकारी दिनुभयो । 

त्रिवेणी-६ बाँठाकोटका कृषक कमलप्रसाद घर्तीले यो वर्ष अदुवा उत्पादन र मूल्य दुवै राम्रो पाएको बताए। अदुवा गाउँबाटै प्रतिक्विन्टल पाँच हजार र बीउका लागि प्रयोग हुने अदुवा प्रतिक्विन्टल १२ हजारसम्ममा बिक्री हुने गरेको जानकारी दिए। 

‘पहिले एक क्विन्टल अदुवाबाट पाँच क्विन्टलसम्म उत्पादन हुन्थ्यो, अहिले उत्पदान घटेर तीन क्विन्टलसम्म हुन्छ। मौसममा आएको परिवर्तन, मल अभावलगायत कारणले उत्पादन घटेको हुनसक्छ’, उहाँले भन्नुभयो । घर्तीले अदुवाका साथै सुन्तला र किभीको पनि खेती गर्दै आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.