|

लहान : लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेडको गोदाममा रासायनिक मल मौज्दात हुँदा पनि यहाँका किसानले मल पाएका छैनन्।

मधेश प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट स्थानीय तहलाई वितरण गर्ने मलको मात्रा यकिन नगर्दा किसानले मल नपाएका हुन्। कृषि सामग्री कम्पनी लिमिटेड लहानका शाखा प्रबन्धक दीपराज पौडेलले मधेश प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट स्थानीय तहलाई वितरण गर्ने मलको मात्रा यकिन नगर्दा रासायनिक मल वितरणमा ढिलाइ भएको बताए।

‘प्रदेश सरकारबाट जग्गा क्षेत्रफलको अनुसार सम्बन्धित मन्त्रालयले स्थानीय तहलाई मल वितरण गर्ने रासायनिक मलको मात्रा लेखी पठाउनुपर्ने हुन्छ’, उनले भने, ‘मन्त्रालयबाट पत्र आउन ढिला भएको कारण समस्या परेको हो। पत्र प्राप्त हुनासाथ मल वितरणको प्रक्रिया अगाडि बढ्छ।’

लहानस्थित कृषि सामग्री कम्पनीले कोशी प्रदेशका खोटाङ, ओखलढुङ्गा, सोलु र मधेश प्रदेशको सिरहामा रासायनिक मल वितरण आएको छ। प्रबन्धक पौडेलका अनुसार कोशी प्रदेशले आफ्ना जिल्लामा पठाउनुपर्ने मलको मात्रा उल्लेख गरी पठाइसकिएकाले कोशी प्रदेशका ती जिल्लामा माघको पहिलो हप्ताभित्रै मल वितरण गरिसकिएको छ।

प्रक्रियागत त्रुटिका कारण गहुँमा रासायनिक मल हाल्ने ‘पिक’ समय हुँदासमेत कृषकले मल पाएका छैनन् तर सामग्री कम्पनीको गोदाममा हाल पाँच सय मेट्रिक टन डिएपी र सात सय मेट्रिक टन युरिया मल मौज्दात रहेको कार्यालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.