काठमाडौं : धुलिखेल – काठमाडौं- सिन्धुली– बर्दिबास भएर गुड्ने सवारी साधनका अधिकांश यात्रुको यति बेलाको मुख्य कोसेली नै जुनार र सुन्तला बनेको छ। बिपी राजमार्गमा यात्रा गर्ने सवारी साधनका यात्रुहरु जुनार किन्नैका लागि भए पनि केही समय खनियाँखर्कमा विश्राम गर्ने गर्दछन्।
यहाँको जुनारले छिमेकी जिल्लालगायत काठमाडौं र भारतका विभिन्न सहरसम्म लोकप्रियता पाएको छ। राजमार्गमा जुनारको कारोबार समेत राम्रो हुँदा त्यस क्षेत्रका किसान र व्यापारीहरूको जीवन स्तर समेत उकासिएको छ।
पूर्वी तराईका विभिन्न जिल्लाबाट यही राजमार्ग हुँदै काठमाडौं आवतजावत गर्ने दैनिक हजारौँ साना ठूला सवारीका यात्रु नै जुनारको मुख्य ग्राहक हुन्।
बिपी राजमार्गको खनियाँखर्क आसपासमा जस्ताका टहरा बनाएर जुनार बिक्रीका लागि राखेपछि खनियाँखर्क बजार नै जुनारले उज्यालिएको स्थानीय बताउँछन्। खनियाँखर्क बजार आसपासमा मात्रै दुई दर्जनबढी जुनार व्यवसायी छन्। किसानको बोटबाट जुनार किनेर बजारमा ल्याएर बेच्ने व्यापारीसमेत बढेको स्थानीय बताउँछन्। अहिले भने जुनारको सिजन सकिन लागेकाले खनियाँखर्कमा १२० देखि १४० रुपैयाँप्रति किलोसम्ममा जुनारको कारोबार भइरहेको छ।
केही तस्वीर झलक :
तपाईंको ईमेल गोप्य राखिनेछ ।