|

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङले डकैतीको शैली अपनाएको आरोप लगाएका छन्।

बुधवार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले मन्त्री र राज्यमन्त्रीले ४५४ मेगावाटको किमाथांका अरुण परियोजननमा नियम मिचेर डकैतीको शैलीमा निर्णय गर्ने प्रयत्न गरेको आरोप लगाएका हुन्। उनले जगदुल्ला हाइड्रोपावरको विषयमा मन्त्री खड्काले प्रतिस्पर्धी अन्य सात कम्पनीलाई पछि हट्न लगाई एउटा कम्पनीले मात्रै छनोट गर्ने काम गरेको भन्दै आपत्ति जनाए।

उनले १९०२ मेगावाटको मुगु कर्णाली जलविद्युत् परियोजनामा पनि नियम मिचिएको आरोप लगाए। उनले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग प्रतिशोध साँधेर प्राधिकरणमै मन्त्रीले कार्यकक्ष स्थापना गर्नु देशको बेइज्जती भएको बताए। सरकार र मन्त्रीलाई उत्तरदायी बनाउने काम समितिले गर्नुपर्ने बताए।

सापकोटाले भने‚ ‘ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीले जगदुल्ला हाइड्रोपावर कम्पनीका सिइओलाई पनि बोलाउनु भयो र सातवटा कम्पनी ब्याक हुने र एउटा कम्पनीले मात्रै क्वालिफाइ बनाउनुपर्‍यो भनेर भन्नुभयो। १९०२ मेगावाटको मुगु कर्णाली जलविद्युत परियोजना र ४५४ मेगावाटको किमाथांका अरुण परियोजनजा जसरी नियम मिचेर ठाडै त्यो त डकैतीकै शैलीमा एउटा निर्णय गरेर दिने प्रयत्न गर्नुभयो। देशव्यापी रूपमा दबाव परिसकेपछि त्यो अहिले एउटा हिसाबले क्यान्सिल भएको छ। यसबीचमा राज्यको इज्जतै जानेगरी मन्त्रीले कुलमानजीसँग निहुँ खोज्दा खोज्दा विद्युत् प्राधिकरणमै लगेर मन्त्री कार्यकक्ष खडा गर्नुभएको छ।’

सांसद सापकोटाले कुनै छलफल र परामर्श नगरी होटलमा समितिको बैठक बोलाइएकोप्रति आपत्ति जनाए। सरकारले ल्याएको विधेयकमा छलफल गर्न होटल गइरहनु नपर्ने उल्लेख गरे। होटलमा बसेर जलस्रोत विधेयक पुनर्लेखनको निर्णय गर्नु आपत्तिजनक रहेको बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.