काठमाडौँ : सांसदहरूले समितिमा आएका विधेयकहरूका बारेमा विज्ञहरूसँग छलफल गर्नुपर्नेमा जोड दिएका छन्। बुधवार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा सांसदहरूले यस्तो गुनासो गरेका हुन्।
उनीहरूले विधेयक वर्षौंसम्म अड्काएर राख्न नहुने स्पष्ट पारेका छन्। समितिको बैठकमा बोल्दै नेकपा एमाले सांसद महेश बस्नेतले अर्थतन्त्रलाई गतिशील बनाउन पूर्वाधार विकास समितिको भूमिका महत्त्वपूर्ण रहेको बताए। उनले सरकारले आफ्नो क्रय शक्तिलाई सञ्चालन गर्न नसक्दा स्रोतसाधन जनस्तरमा जान नसकेको बताए।
बस्नेतले भने, ‘विधेयकलाई समय सान्दर्भिक बनाउन विज्ञहरूसँग छलफल गर्नुपर्छ। छलफल कहाँ भए भन्दा पनि छलफलको निचोड के आयो भन्ने महत्त्वपूर्ण हुन्छ। एउटा विधेयक वर्षौंसम्म अड्काएर समितिमा राख्ने परम्परालाई अन्त्य गरेर समितिको प्रभावकारितालाई हामी पुष्टि गरौँ।’
समितिको बैठकमा बोल्दै नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले सरकारलाई दबाव दिएर भए पनि समितिमा आएका विधेयकहरू छिटो टुंग्याउनुपर्ने बताए।
बैठकमा नेकपा (माओवादी केन्द्र)का सांसद शक्तिबहादुर बस्नेतले समिति सदनप्रति जवाफदेही हुन नसकेको आरोप लगाए। उनले समिति समिति र संसद्प्रति बढी जवाफदेही हुनुपर्नेमा सरकारप्रति बढी जवाफदेही बन्ने गरी अघि बढिरहेको बताए।
रास्वपाका सांसद शिव नेपालीले पूर्वाधार विकाससम्बन्धी महत्त्वपूर्ण काम अघि बढिरहेको बताए। उनले मुग्लिङ–पोखरा सडकखण्डको समितिले स्थलगत अनुगमन गर्नुपर्ने माग गरे।
तपाईंको ईमेल गोप्य राखिनेछ ।