|

बेनी : चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फाखोलामा मोटरेबल पुल निर्माण भएको छ। 

बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालय मुस्ताङले १२० मिटर लामो मोटरेबल पुल निर्माण गरेको हो। आयोजना प्रमुख धु्रबकुमार झाले पुलको सबै संरचना र पहुँचमार्ग निर्माण सकेर सवारीसाधन सञ्चालन हुन थालेको जानकारी दिए। 

“चिसोका कारणले रोकिएको पुलको पहुँचमार्ग कालोपत्र गर्ने काम गर्मी शुरु भएपछि हुन्छ,” उनले भने “मार्फाखोलामा बाढी आउँदा बेनी–जोमसोम सडकमा यातायात अवरुद्ध हुने समस्या हटेको छ।” 

धौलागिरि दोस्रो र टुकुचेचुली हिमालको बीचमा पर्ने धम्पुसचुली हिमाल फेदमा पर्ने काशीघन क्षेत्रमा रहेको हिउँ दिउँसोको चर्को घामले पग्लदा मार्फाखोलामा चैत देखि असोज महिनासम्म दिउँसो र साँझपख मार्फाखोलामा बाढी आउने गर्छ। 

पक्की पुल सञ्चालन भएपछि कच्ची र अस्थायी पुल तथा खोलाबाट जोखिम मोलेर सवारी वारपार गर्नुपर्ने समस्या हटेको आयोजना प्रमुख झाले बताए। 

मार्फाखोला र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङको नरसिङखोलामा मोटरेबल पुल निर्माणका लागि ६ वर्षअघि हिमदुङ एण्ड थोकर इमोटल कन्ट्रक्सनले २१ करोड ६० लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। 

जोमसोमदेखि कागबेनी–छुसाङ –उपल्लो मुस्ताङ हुँदै चीनको सिमाना कोरला नाका जोड्ने सडक अन्तर्गत रहेको नरसिङ खोलाको ९० मिटर लामो मोटरेबल पुल गत भदौमा निर्माण सकिएको थियो। 

कोरोना महामारी, प्रतिकूल भूगोल, मौसम, प्राकृतिक विपद्, नदीजन्य निर्माण सामग्रीको अभावलगायत कारणले ढिलाई भएको निर्माण कम्पनीका प्रतिनिधि सुदिप खड्काले बताए।  

पर्वतको मालढुङ्गादेखि म्याग्दी हुदै मुस्ताङस्थित चीनको सिमाना कोरला नाका जोड्ने २०२ किलोमिटर दूरीको बेनी–जोमसोम कोरला सडकअन्तर्गत २४ मोटरेबल पुल निर्माण गर्नुपर्नेमा १९ वटाको ठेक्का लागेको, १२ को निर्माण सकिएको, दुई निर्माणाधीन रहेको, ५ वटाको ठेक्का तोडेको र ५ वटा पुल निर्माणको प्रक्रियामा छन्। ०७३/७४ देखि शुरु भएको योजनाको हालसम्म ८४ प्रतिशत भौतिक प्रगति भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.