काठमाडौं : गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी जवानलाई १६ वर्षमा अवकाश पाउने प्रावधान सशस्त्र प्रहरी बल, नेपाल को कानुनमा समावेश हुने बताएका छन्।
बुधबार काठमाडौंस्थित सशस्त्र प्रहरी बल, नेपालको मुख्यालयमा २४ औं सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
गृहमन्त्री लेखकले केही दिनमा लामो समयदेखि सशस्त्र प्रहरी जवानहरुले उठाइरहेको १६ वर्षमा अवकाश जान पाउने प्रावधानलाई कानुनमा समावेश गर्ने घोषणा गरे।
उनले सम्पूर्ण अधिकृतदेखि जवानहरु समेतको आवाजलाई समेटेर कानुनको तर्जुमा गरिएको उल्लेख गरे। उनले आफू गृहमन्त्री बनिसकेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई नीतिगत तथा कानुनी स्थिरतामार्फत थप प्रभावकारी, व्यावसायिक र वृत्ति विकासलाई सुनिश्चितता प्रदान गर्ने कुरामा जोड दिइरहेको बताए।
सशस्त्र प्रहरी बल नेपालको कानुनलाई केही दिनमै विधेयकका रूपमा संसदमा दर्ता गर्ने बताए।
गृहमन्त्री लेखकले भने, ‘म गृहमन्त्रीको जिम्मेवारीमा आइसकेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई नीतिगत तथा कानूनी स्थिरतामार्फत थप प्रभावकारी, व्यवसायिक र वृत्ति विकासलाई सुनिश्चितता प्रदान गर्ने कुरालाई जोड दिँदै आएको छु। सशस्त्र प्रहरी बल नेपालको कानूनलाई केही दिनमै विधेयकका रुपमा संसदमा दर्ता गर्ने सबै तयारी भइ अन्तिम रुप हामीले दिइसकेका छौँ। सम्पूर्ण अधिकृतदेखि जवानहरु समेतको आवाजलाई समेटेर कानूनको तर्जुमा गरिएको छ। लामो समयदेखि सशस्त्र प्रहरी जवानहरुले उठाइरहेको १६ वर्षमा अवकाश जान पाउने प्रावधानलाई कानूनमा समावेश गरिनेछ।'
कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी बल, नेपालका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले अन्तर्राष्ट्रिय सीमालाई सुरक्षित राख्न सशस्त्र प्रहरी बलले काम गरिरहेको बताए। सीमा क्षेत्रमा हुने चोरीपैठारी तथा सीमापार अपराध नियन्त्रणको कार्यलाई संगठनले प्राथमिकतामा राखी कार्य सञ्चालन गरिरहेको बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।