|

काठमाडौँ : अनेरास्ववियुले अखिलको इतिहास, अग्रजको रगत, पसिना र विवेकको अवमूल्यन नगर्न सार्वजनिक यातायात सञ्चालकहरूलाई चेतावनी दिएको छ। अनेरास्ववियुले विज्ञप्ति जारी गर्दै सार्वजनिक बसमा विद्यार्थी, फरक क्षमता र ज्येष्ठ नागरिकहरूलाई छुट नदिएपछि यस्तो चेतावनी दिएको हो। 

अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज धर्मराज तिमिल्सिना पहिलाका उपलब्धिको कार्यान्वयन गर्न आनाकानी भएमा आफैँले अनुगमन गरेर त्यसप्रकारका गैरजिम्मेवार सार्वजनिक यातायात सञ्चालकहरूलाई कानूनी राज्यको पाठ सिकाउन पछि नहट्ने बताए।

‘विद्यार्थीलाई सार्वजनिक यातायात यात्रामा दिइने छुट तथा सहुलियतसम्बन्धी कार्यविधि नै निर्माण गरि विद्यार्थी आन्दोलनबाट प्राप्त यस प्रकारका उपलब्धिलाई संरक्षण गर्नु राज्यको पनि दायित्व हुन आउँछ,’ उनले भने, ‘राज्यले प्रदान गरेको सार्वजनिक यातायातमा सहुलियत सुविधा सार्वजनिक यातायात सञ्चालकले शनिवार, राति, सार्वजनिक बिदा तथा विभिन्न अवसरका दिन छुट दिँदैनन् भन्ने चरम गुनासो आएको छ।’

उनका अनुसार विद्यार्थीलाई मात्रै हैन अपाङ्गता, जनआन्दोलनका अशक्त घाइते तथा ज्येष्ठ नागरिकलाई पनि सार्वजनिक सवारीसाधनमा छुट दिनुपर्ने भए पनि नदिएको उनको भनाइ छ।

‘यसको अनुगमन यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरीलगायत सरोकारवालाले गर्नुपर्छ र कारबाही गर्नुपर्छ, अनेरास्ववियुका तत्कालीन अध्यक्ष स्व. रवीन्द्र अधिकारीको नेतृत्वमा विद्यार्थी परिचय पत्रको आधारमा विद्यार्थीलाई सार्वजनिक यातायातमा ५० प्रतिशत सहुलियत माग गर्दै आन्दोलन भएको थियो, राज्यको दमनबाट आन्दोलनकै क्रममा स्याङ्जाका देवी पौडेलले आफ्नो ज्यानसमेत गुमाउन परेको इतिहास बिर्सेका छैनौँ,’ उनले भने।

उनका अनुसार २०५९ सालमा तत्कालीन सरकारको मध्यस्थतामा यातायात व्यवसायी र विद्यार्थी सङ्गठनबीच म्याद कायम रहेको विद्यार्थी परिचय पत्रको आधारमा विद्यार्थीलाई सार्वजनिक सवारीसाधनको भाडामा ३३ प्रतिशत छुट दिने सहमति भएको थियो।

स्व‍.रवीन्द्र अधिकारीको सक्रियतामा भएको विद्यार्थी सङ्गठनको लगातारको आन्दोलनपश्चात २०६५ सालमा सरकारले विद्यार्थीलाई गाडी भाडामा ४५ प्रतिशत छुट दिने निर्णय गरेको उनले बताए।

‘सार्वजनिक यातायात सञ्चालकहरूलाई भाडामा सहुलियत दिनुपर्ने उल्लेखित वर्गलाई सहुलियत दिँदा निश्चित रूट, कोटा संख्या, दिन र समय नतोकी यस व्यवस्थाको पूर्ण रूपमा परिपालना गर्न र सहुलियत पाउने विद्यार्थीलगायत अन्य वर्गले पनि आफ्नो सक्कल परिचयपत्र देखाइ सहुलियत लिन अनुरोध गर्दछु,’ उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.