काठमाडौँ : नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले हामीले ऋणको भारी बोकिसकेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
बुधवार नेपाली काँग्रेसको आर्थिक नीति तथा योजना विभागले आयोजना गरेको नेपालमा वैदेशिक सहयोगको अर्थ राजनीति विषयक संवाद गोष्ठीमा बोल्दै उनले यस्तो चिन्ता व्यक्त गरेका हुन्।
उनले ऋण लिने तर ऋणको सही ढंगबाट सदुपयोग नगर्ने प्रवृत्ति रहेको बताउँदै त्यसलाई अन्त्य गर्न जरुरी रहेको बताए।
यसैगरी उनले नेपालमा राजनीतिका लागि मात्रै राजनीति गरिरहेको अवस्थाले देश बन्न नसकेको पनि बताए। उनले नेपालको राजनीतिमा अहिले एकातिरबाट सरकार ढल्यो भन्ने भ्रम फैलाउने र अर्कोतर्फबाट ढल्दैन भनेर स्पष्टीकरण दिइरहनुपरेको बताए।
उपसभापति गुरुङले भने, ‘अहिले वास्तवमा नेपालको राजनीतिमा एउटा कुनामा सरकार ढल्छ, ढल्छ, ढल्छ भनेर समाचार बनिरहने र अर्को कुनाबाट त्यसको प्रतिउत्तरका लागि सरकार ढल्दैन, ढल्दैन, ढल्दैन भन्ने समाचार मात्रै सुन्नुपर्ने, पढ्नुपर्ने अवस्था छ। राजनीति राजनीतिका लागि मात्रै गरिरहेको अवस्थाले गर्दा अवस्था परिवर्तन गर्न सकेनौँ। ऋण लिने अनि ऋणको सही ढंगबाट सदुपयोग नगर्ने हामी नै हौँ। हामीले प्रशस्त ऋणको भारी बोकिसक्यौँ।’
उपसभापति गुरुङले पोखरा-मुग्लिङ सडक फोर लेन र मुग्लिङ-काठमाडौं डेडिकेटेड डबल लेन मात्रै बनाउने कुरा अव्यावहारिक रहेको बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।