पोखरा : उपप्रधानमन्त्री तथा अर्थमन्त्री एवं नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले वर्तमान सरकार कुनै पनि बहानामा नढल्ने स्पष्ट पारेका छन्।
नेकपा (एमाले) कास्कीद्वारा आज पोखरामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सरकार टिकाउने मात्रै कर्तव्य नभई यसलाई सफल र परिणाममुखी बनाउनु आजको मुख्य जिम्मेवारी भएको बताए। मुलुकमा बढेको अस्थिरता र बेथितिको अन्त्य गरी राष्ट्र र जनताका पक्षमा परिणाममुखी काम गर्ने लक्ष्यका सरकार अघि बढेको बताउँदै उनले विषम परिस्थितिमा नेपाली कांग्रेस र एमालेबीच सातबुँदे सहमतिका साथ गठबन्धन भएको स्पष्ट पारे।
यो सरकारप्रति नागरिकले गरेको आशा र भरोसालाई छिटोछरितो पूरा गर्न अध्यादेश ल्याएको बताउँदै उनले संसद्बाट अध्यादेश पारित हुने विश्वास व्यक्त गरे। सरकार सुशासन र विकासप्रति प्रतिबद्ध भएको बताउँदै अर्थमन्त्री पौडेलले जनताका अपेक्षालाई सम्बोधन गर्ने गरी सरकार अघि बढिरहेको बताए।
एमालेप्रति जनताको बढेको विश्वासलाई आत्मसात गर्दै मुलुकको निर्णायक शक्ति बनाउने अभियानमा जुट्न कार्यकर्तालाई उनले निर्देशन दिए। उपाध्यक्ष पौडेलले पार्टीको नीति र नेतृत्वप्रति अफवाह फैलाउनेविरुद्ध संगठित भएर प्रतीकार गर्न आग्रह गरे। एमाले स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले राष्ट्रिय एकता, स्वाधीनता, संविधान र लोकतन्त्रको रक्षाका लागि यो सरकार चट्टान हुने बताए।
जनताको घरदैलोमा पार्टी पुर्याउने लक्ष्यका साथ तीनमहिने वडा केन्द्रित अभियान सञ्चालन गर्न लागेको बताउँदै उनले यसका लागि सम्पूर्ण कार्यकर्ता संगठित भएर लाग्नुपर्ने आवश्यकता औँल्याए। एमाले कास्कीका उपाध्यक्ष भेषराज बराल‚ अध्यक्ष वैनबहादुर क्षेत्री अधिकारी‚ सचिव दर्शन लामा लगायतले बोलेका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।