काठमाडौँ : अर्थ मन्त्रालयका सचिव डा.रामप्रसाद घिमिरेले सरकार र निजी क्षेत्रसँगै मिलेर आर्थिक सुधारमा लाग्नुपर्ने बताएका छन्।
बुधवार काठमाडौँमा ७३औँ भन्सार दिवसको अवसरमा नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको अन्तरक्रियामा सचिव घिमिरेले यस्तो बताएका हो। उनले सरकारले निजी क्षेत्रका मागहरुलाई सम्बोधनका लागि नीतिगत अफ्ठ्याराहरु सहज बनाउँदै लगिने बताए।
उनले सरकारले आर्थिक क्षेत्रमा देखिएका जटिलता अन्त्य गर्न विभिन्न अध्यादेश ल्याएको बताए। उनले सरकारले निजी क्षेत्रको मनोबल उकासिने गरी काम गरिरहेको बताए।
उनले सुधार भएका ऐनहरुको कार्यविधि चाँडै बनाउने गरी काम भइरहेको बताए। सरकारले ऐनमात्रै बनाउनेभन्दा पनि कार्यान्वयनमा लैजाने गरी काम गरिरहेको बताए।
उनले भन्सारमा देखिएका समस्याहरुलाई पनि समाधान गर्ने गरी काम गरिरहेको बताए।
चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवालले भन्सार प्रशासन सुधारमार्फत व्यापार सहजीकरण गरिनुपर्ने बताए। उनले भन्सार प्रशासन सुधार गर्दै सीमामा हुने चोरी पैठारीलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिए।
विश्व भन्सार संगठनबाट निर्धारित मूल्याङ्कन पद्धतिअनुसार भन्सारमा सन्दर्भ मूल्यलाई खारेज गरी कारोबार मूल्यलाई मान्यता दिनुपर्ने अध्यक्ष अग्रवालको माग छ।
सबै प्रकारका हार्मोनिक कोडहरुमा अध्ययन पुनरावलोकन गरी १० डिजिटको हार्मोनिक कोड कायम गरिनुपर्ने अध्यक्ष अग्रवालले माग गरे।
चेम्बर अफ कमर्सले ७३औँ अन्तरराष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार विभागका शाखा अधिकृत गोपालप्रसाद भट्टराईलाइ सम्मान गरेको छ।
भन्सार विभागमा उत्कृष्ट सेवा प्रवाह गरेकाले भट्टराईलाई ७३औँ अन्तरराष्ट्रिय भन्सार दिवसका अवसरमा सम्मान गरिएको चेम्बर अफ कमर्सले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।