|

जनकपुरधाम : मधेश प्रदेशसभाका महिला सदस्यहरुले महिला भएकै कारण विभेद भइरहेको खुलासा गरेका छन्।

लैङ्गिक सम्वेदनशील संसदीय रिपोर्टिङ्गसम्बन्धी ३ दिवसीय कार्यशालाको समापनमा बुधवार जनकपुरधाममा महिला प्रदेशसभा सदस्यहरुले सदनबाहिर तथा सदनभित्र समेत आफूहरुमाथि विभेद हुने गरेको दुखेसो गरे।

समापनमा मधेश प्रदेशसभाकी उपसभामुख बबिता राउत इसरले आफूले लामो संघर्षपश्चात राजनीतिमा अवसर पाएको बताइन्।

महिलाहरुको राजनीतिमा उपस्थिति बढे पनि त्यसलाई गुणात्मक उपस्थितिमा बदल्नका लागि संचार जगतको साथ र सहयोग आवश्यक रहेको उपसभामुख इसरले बताइन्। उनले यो अवसरलाई आफूले महिलाहरुको हकहितका लागि सदुपयोग गर्ने बताइन्।

प्रदेशसभा सदस्य एवं नेपाली कांग्रेसकी सचेतक जिवछी यादवले महिला प्रदेशसभा सदस्यहरुलाई बजेट विनियोजन तथा निर्णय प्रकृयामा सहभागिता, महिला राजनीतिकर्मीले उठाउने समस्यालाई गम्भिरतापूर्वक लिन आग्रह गरिन्। 

उनले महिला प्रदेशसभा सदस्यहरुले सरकारलाई दिने सुझावको कुनै सुनुवाई नभएको आरोपसमेत लगाइन्।

कार्यक्रममा प्रदेशसभा सदस्य किरण साहले प्रदेशसभा सदस्य शाहिदा खातुनमाथि भएको आक्रमणको विषयमा महिला प्रदेशसभा सदस्यहरुलाई एकसाथ आवाज उठाउनु पर्ने बताइन्।

त्यस्तै, प्रदेशसभाकी अर्की सदस्य अनिताकुमारी साहले महिला प्रदेशसभा सदस्यहरुको आवाज सरकारले नसुनेको र   यसको जिम्मेवार मिडिया नै रहेको आरोप लगाइन्।

उनले महिला राजनीतिकर्मीले गर्दै आइरहेको काम समाजसम्म पुग्न नसकिरहेकोमा चिन्ता व्यक्त गरिन्।

कार्यक्रममा भावुक हुँदै प्रदेशसभा सदस्य शाहिदा खातुनले आफूमाथि भएको आक्रमणबारे जानकारी गराउँदै सरकारले न्यायका लागि कुनै पहल नगरेको बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.