|

पर्वत : जिल्लाको जलजला गाउँपालिकाले स्थानीय गाई गोरु पालन प्रोत्साहन तथा हल गोरु पालक कृषक प्रोत्साहनका लागि १३ लाख अनुदान दिने भएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलका अनुसार गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक कार्यक्रमअनुसार दुईवटा कार्यक्रमको लागि उक्त रकम लगानी गर्न लागिएको हो।

अघिल्ला वर्षहरूमा पनि स्थानीय जातका गाई पाल्ने तथा मिनी टिलरको सट्टा गोरुले नै खेत जोत्ने कृषकहरूलाई प्रोत्साहन दिँदै आइरहेकोमा यस वर्ष पनि कार्यक्रमलाई निरन्तरता दिइएको उनको भनाइ छ।

स्थानीय गाई/गोरु पालन प्रोत्साहन अनुदान कार्यक्रमअन्तर्गत पाँच सय ३७ वटा पशुलाई दिने गरी १० लाख ७५ हजार रुपैयाँ अनुदान दिइने छ। ‘स्थानीय गाई/गोरु संरक्षण कार्यक्रम कार्यान्वयन मापदण्ड’ अनुसार यो कार्यक्रम सञ्चालन हुनेछ।

यस्तै, हल गोरु पालक कृषक प्रोत्साहन कार्यक्रमअन्तर्गत १५ हल गोरुका लागि दुई लाख २५ हजार रुपैयाँ अनुदान राखिएको छ। ‘हल गोरु पालन प्रोत्साहन अनुदान कार्यक्रम कार्यान्वयन कार्यविधि’ अनुसार यो कार्यक्रम सञ्चालन हुनेछ।

यो कार्यक्रममा समावेश हुन चाहने कृषकहरूले स्थानीय जातका गाई र गोरुको बिमा अनिवार्य रूपमा गरेको हुनुपर्ने, गाई, गोरु र कृषक संयुक्त रूपमा देखिएको फोटो बुझाउनुपर्ने लगायतका सर्तहरू गाउँपालिकाले राखेको छ।

गोरु पाल्ने कृषकलाई प्रोत्साहन गर्दै खेतीपातीलाई बढवा दिन तथा जग्गा बाँझो रहन नदिनको लागि यो कार्यक्रम महत्त्वपूर्ण रहेको गाउँपालिकाका अध्यक्ष राजु आचार्यले बताए। ‘मिनी टिल’ ले खेत जोत्ने क्रम बढ्दै जाँदा गोरु लोप हुन लागेको र यसलाई सामान्य आर्थिक अवस्था भएका कृषकलाई मारमा पारेको भन्दै गाउँपालिकाले यो योजना लागू गरेको हो। ‘मिनी टिलर’ किन्न नसक्ने तथा किनेकाहरूका घरमा पनि जनशक्ति अभावले चलाउन नसक्ने समस्याले कृषकले खेती लगाउनै छोड्ने जोखिम बढेपछि गोरु पाल्ने कृषकहरूलाई प्रोत्साहन गर्न लागिएको हो।

स्थानीय जातका गाई पाल्ने क्रम हराउँदै जाँदा गाई नै लोप हुने अवस्था रहेको तथा स्थानीय गाई नै नपालेपछि गोरु उत्पादनसमेत हुन छाडेकाले यो कार्यक्रम सुरु गरिएको अध्यक्ष आचार्यले बताए। व्यावसायिक किसानलाई गाउँपालिकाले नै ‘मिनी टिलर’ बाँडेको भए पनि पहाडी क्षेत्रका भिराला र बाटोको सुविधा नभएका ठाउँमा ‘मिनी टिलर’ लैजान नसक्दा पाखा, छेउछाउ र भीर नजिकका जग्गा बाँझो रहन थालेको उनको भनाइ छ।

‘गोरु पालेपछि प्राङ्गारिक मल उत्पादन हुन्छ र त उत्पादन पनि बढी हुन्छ। गाई गोरु जमिनसँग जोडिएका छन्। यीबिना खेतबारी पनि राम्रो हुँदैन। खेतबारीको घाँस गाई गोरुले खाए पो घाँसले बालीलाई असर गर्दैन’, अध्यक्ष आचार्य भन्छन्, ‘एउटा टोलमा एकनाले एक हल गोरु पालेर बस्यो भने खेती लगाउनेलाई पनि सस्तो, जग्गा बाँझो पनि नरहने, गोरु पाल्नेले पनि रोजगारी पाउने अवस्था हुन्छ।’

‘मिनी टिलर’मा निर्भर हुँदा नेपालको धन बाहिरिएकाले पनि यसमा सबैको ध्यान जानुपर्ने उनको सुझाव छ। गाउँपालिकामा कम्तीमा पनि ५० हल गोरु भएमा सबै जमिन गोरुले जोतिँदा पाखापखेरामा रहेका कुनै पनि जग्गा बाँझो रहने स्थिति नआउने अध्यक्ष आचार्यले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.