|

काठमाडौँ : शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पछिल्लो समय उपचारमा जाने विरामीको संख्या बढ्न थालेको छ।

अस्पतालका निर्देशक डा. युवानिधि बसौलाका अनुसार अस्पतालले पछिल्लो पाँच महिनामै ९३ हजारभन्दा बढी विरामीले सेवा लिएका छन्।

अस्पतालको ९१ औँ वार्षिकोत्सवका अवसरमा आज अस्पतालमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै निर्देशक डा. बसौलाले भने‚ ‘पछिल्लो समय अस्पतालमा सरुवा रोगसम्बन्धी मात्रै होइन‚ अन्य स्वास्थ्य समस्या भएकाहरू पनि परीक्षणका लागि आउनेको संख्या बढ्दो छ, हामीले अस्पतालको सीमित स्रोत साधनले भ्याएसम्म सेवा दिँदै आएका छौँ।’

डा. बसौलाका अनुसार अहिले टेकु अस्पतालमा दैनिक औसत बहिरंगमा ६ सय  र आकस्मिक उपचारका लागि ३० जनाभन्दा बढी आउने गरेका छन्।

यस्तै सो अवसरमा बोल्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अस्पतालको आवश्यकतानुसारको पूर्वाधार विकास गर्न नसकिए पनि सीमित स्रोतसाधनले उत्कृष्ट सेवा दिएको हुँदा भविष्यमा पनि यसरी नै सेवा दिनुपर्ने बताए। ‘मन्त्रीका हिसाबले म जानकार छु अस्पतालमा आवश्यक स्रोत, पूर्वाधार र जनशक्ति दिन सकिएको छैन तर यसको बाबजुद पनि अस्पतालले जनताको मन जित्ने गरी सेवा दिएको छ। भोलिका दिनमा पनि यस्तै सेवा निरन्तरता होस्।’

चिकित्सक, नर्सिङ, पारामेडिक्स‚ प्राविधिक तथा प्रशासनिक गरी २१८ जना कर्मचारी कार्यरत छन् तर जनशक्तिको अभावले अस्पतालले पूर्ण क्षमतामा काम गर्न सकेको छैन।

अस्पतालमा १०० शय्यामा ६६ वटा शय्या नि:शुल्क रहेका छन्। इमर्जेन्सी बेड २१, आईसीयु १०, आइसोलेसन १, जनरल बेड ४०, क्याबिन ८,  एचडीयु/स्पेशल वार्ड १६, साइलेन्स/टेटानस वार्ड ५ रहेका छन्।

नेपालमा भएका सरुवारोग र ट्रपिकल रोगहरूको केन्द्रीय अस्पतालको रूपमा उपचार गर्ने विशिष्टीकृत अस्पतालको रूपमा रहेको यो अस्पतालले समय समयमा हुने कोभिड-१९ जस्ता महामारीमा अतुलनीय योगदान गरेको छ। त्यसैगरी टाइफाइड, मलेरिया, कालाजार, जापानी इन्सेफ्लाइटिस‚ हैजा‚ भाइरल हेपाटाइटिस, इन्फ्लुएन्जा, टिटानस, रेबिज, सर्पदंश लगायतका समस्याको उपचारमा यो अस्पतालको विशेष योगदान रहेको छ।

बहिरंग सेवा, अन्तरंग सेवा तथा विशिष्टीकृत सेवा अर्थोपेडिक ओपीडी, पेडियाट्रिक सर्भिसेज, डर्माटोलोजी एन्ड भेनेरोलोजी, ल्याप्रोसी सर्विसेज, एआरटी क्लिनिक,  डट्स एन्ड लेप्रोसी क्लिनिक, इम्युनिजेसन क्लिनिकट एन्ड कोभिड- १९ भ्याक्सिन, ईपीएस सेवा,  सामाजिक सेवा युनिट एन्ड हेल्थ इन्स्योरेन्स सेवा, एन्टिरेबिज भ्याक्सिन सर्विसेज, ओसीएमसी सर्विस, फार्मेसी सेवा, ल्याब्रोटरी सेवा, हेमाटोलोजी, बायोकेमेस्ट्री, माइक्रोबाइलोजी, इम्युनोलोजी, भाइरल लोड, कोभिड १९ पीसीआर टेस्ट, रेडियोलोजी: एक्स-रे, युएसजी, सीटी स्क्यान, स्पेशल एक्स-रे सर्विस र ईसीजी रहेका छन्।

टेकु अस्पताल नेपालको स्वास्थ्य सेवाको इतिहास बोकेको अस्पताल पनि हो। अस्पतालमा रहेको विवरणअनुसार हैजाले मानिस मर्न थालेपछि हैजा रोक्न १९९० सालमा डाइरेक्टर अफ मेडिकल सर्भिसेज अन्तर्गत रोप–वे टर्मिनल (जहाँ हाल साल्ट ट्रेडिङको भवन रहेको छ) रहेको टेकुस्थित पाटीमा ‘कलेरा अस्पताल’ स्थापना भएको हो।

प्रारम्भिक चरणमा अस्पताल भवन हालको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाको भवनमा थियो। तत्कालीन समयमा प्रधानमन्त्री जुद्धशमशेर जंगबहादुर राणा थिए।

२००७ सालमा भने रोप–वे टर्मिनलको प्रांगणबाट टेकु अस्पताल अहिलेको प्रांगणमा सरेको हो तर त्यसअघि टेकु अस्पताल वीर अस्पतालको शाखाको रूपमा रहेको थियो।  

२०३४ सालमा टेकु अस्पताल स्वायत्त भएको हो। २०३४ सालदेखि वीर अस्पतालको शाखा नभएर देशकै केन्द्रीय सरुवा रोग अस्पतालको रूपमा अस्पतालले आफ्नो सेवा दिँदै आएको छ।

२०९० सालको हैजाले जन्माएको टेकु अस्पतालको नाम पटक-पटक फेरिएको छ। स्थापनाका वेला कोलेरा अस्पताल भनेर चिनिने यो अस्पताललाई २०३४ सालमा सरुवा रोग अस्पताल नामकरण गरियो।

त्यसपछि २०५३ जेठमा टेकु अस्पताल र २०५३ माघदेखि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल नामकरण भएको अस्पतालको इतिहासमा देख्न सकिन्छ। स्थापनाकालदेखि नै सरुवा रोगको मात्रै उपचार गर्दै ९ दशकको यात्रामा रहेको टेकु अस्पताल देशकै एक मात्रै सरुवा रोग अस्पताल मात्रै नभएर पुरानो अस्पतालमध्येको अस्पताल पनि हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.