|

बैतडी : प्रधानमन्त्री कप टी-२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो सुपर ४ को खेलमा एपिएफ क्लब विजयी भएको छ।

धनगढीस्थित फाप्ला मैदानमा भएको खेलमा एपिएफले बागमती प्रदेशलाई १० विकेटले पराजित गर्‍यो। जितसँगै एपिएफ फाइनलनजिक पुगेको छ।

जितका लागि पाएको ४३ रनको लक्ष्य एपिएफले ६ ओभर ५ बलमा कुनै विकेट नगुमाइ पूरा गर्‍यो। जसमा ममता चौधरीले अविजित २३ र राजमती ऐरी १४ रनमा नटआउट रहिन्। 

यसअघि टस हारेर ब्याटिङ गरेको बागमतीले १८ ओभरमा ८ विकेटको क्षतिमा ४२ रनमात्र जोड्न सक्यो।

हुस्सुका कारण १८ ओभरमा झारिएको खेलमा बागमतीका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

बलिङमा एपिएफका सुमन विष्टले ३ विकेट, रेखा रावल र विनु बुढाले २/२ विकेट हात पारे।

सुमन प्लेयर अफ द म्याच भइन्।

माघ १ गते सुरू भएको प्रतियोगिता माघ १२ गते सकिनेछ।

राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रमअनुसार नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रदेश क्रिकेट संघको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन भइरहेको हो।

प्रतियोगिताको उपाधि जित्नेले नगद ५ लाख रुपैयाँ, दोस्रो हुनेले नगद ३ लाख रुपैयाँ, प्लेयर अफ द सिरिजलाई नगद ५० हजार रुपैयाँ, बेस्ट ब्याटर र बेस्ट बलरलाई जनही नगद २५/२५ हजार रुपैयाँ पुरस्कार दिइनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.