काठमाडौं : न्यायाधीश समाज, नेपालले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको भौतिक आक्रमणप्रति आपत्ति जनाएको छ।
समाजका महासचिव टेकनारायण कुँवरले एक सातापछि बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै काठमाडौं जिल्ला अदालत बाहिर त्रिपाठीमाथि भएको भौतिक आक्रमणको निन्दा गरेको हो।
गत माघ २ गते काठमाडौं जिल्ला अदालतमा सहकारी पीडितका तर्फबाट बहस गरेर निस्किएका त्रिपाठीमाथि रास्वपा सभापति रवि लामिछानेका समर्थकले आक्रमण गरेका थिए।
‘न्याय सम्पादन प्रकृयाको अभिन्न अंगको रुपमा रहेको नेपाल बार र त्यसका कुनै पनि सदस्यमाथि भौतिक आक्रमण गरिनु निन्दनीय कार्य हो।’ विज्ञप्तिमा भनिएको छ, ‘उक्त दिन काठमाडौं जिल्ला अदालत परिसर बाहिर वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको भौतिक आक्रमणको यो समाज निन्दा गर्दै त्यस्तो अवाञ्छित कार्यमा संलग्न रहेका व्यक्तिलाई आवश्यक कानुनी कारबाही गर्नका लगि माग गर्दछ।’
वरिष्ठ अधिवक्ता त्रिपाठीले विभिन्न सञ्चारमाध्यममा सहकारी ठगीसम्बन्धी मुद्दामा आदेश गर्ने न्यायाधीशका सम्बन्धमा बदनियतपूर्वक कार्य गरेको भनी न्यायपालिकाप्रति भ्रम र अनास्था फैलाउने गरी अन्तर्वार्ता दिएको विषयमा समेत समाजले ध्यानाकर्षण भएको उल्लेख गरेको छ।
‘कुनै न्यायाधीश विशेषबाट कानुनबमोजिम न्यायिक प्रक्रिया अवलम्बन गरी भएको कुनै आदेश वा काम कारबाही कानुन विपरीत भएको भन्ने लागेमा सो सम्बन्धमा सम्बन्धित निकायमा कानुन बमोजिमकै प्रक्रिया अवलम्बन गरी उपचार खोज्नु स्वाभाविक हुन जान्छ।’ विज्ञप्तिमा भनिएको छ, ‘तर त्यसतर्फ नलागी वरिष्ठ अधिवक्ता जस्तो जिम्मेवार व्यक्तिले आफूले बहस गरे बमोजिमको परिणाम नआएको भन्ने आधारमा कानुन व्यवसायीको आचरण विपरीत हुने गरी आदेश गर्ने न्यायाधीश उपर नै बदनियतपूर्वक कार्य गरेको भनी सार्वजनिक सञ्चारमाध्यममा अन्तर्वार्ता दिनु खेदजन्य कार्य हो।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।