पारिश्रमिक करिब १० हजार अमेरिकी डलर

|
तस्वीर सौजन्य : म्याट रसको लिंक्डइन

काठमाडौँ : अष्ट्रेलियाका म्याट रस नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको प्रशिक्षक नियुक्त भएका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रशिक्षकका लागि आवेदन दिएका विभिन्न देशका प्रशिक्षकहरूमध्ये रसलाई छनोट गरेको हो। अहिले सपरिवार नेपालमा रहेका रस आज (बिहीवार) कांग्रेस सभापति कप नकआउट फुटबल हेर्न दशरथ रंगशाला गएका थिए। 

मुख्य प्रशिक्षकका लागि ४ सय जनाले दिएको आवेदनमध्ये एन्फाले २० जनालाई पहिलो चरणमा शर्टलिस्ट गरेको थियो। तिनै २० जनामध्येबाट अन्तिम ५ जना एन्फाले छानेको थियो र ति ५ जनामध्ये रसलाई नियुक्त गरिएको हो।

नेपाली टोलीको प्रशिक्षक बन्ने दौडको अन्तिम सूचीमा रहेका स्पेनी युयान्डे रामोस, अर्का स्पेनी युलियन गुइएरो, फ्रान्सेली रेने लोबेलो र इङ्ल्याण्डका जेमी डेलाई रसले उछिनेका हुन्।

औपचारिक तवरमा रसको नियुक्तिको घोषणा एन्फाले गरेको भने छैन। राष्ट्रिय खेलकुद परिषदबाट नियुक्तिका लागि स्वीकृति आइनसकेकाले घोषणा गर्न बाँकी रहेको एन्फा स्रोतले जनाएको छ। 

मुख्य प्रशिक्षक रसको मासिक पारिश्रमिक करिब १० हजार अमेरिकी डलर हुने जनाइएको छ।

यूईएफए प्रो लाइसेन्स मान्यताप्राप्त रस यसअघि सन् २०२० देखि सन् २०२३ सम्म दक्षिण कोरियाली राष्ट्रिय महिला टोलीको सहायक प्रशिक्षक रहेका थिए। 

उनले यूएईको फर्स्ट डिभिजन फुटबल क्लब युनाइटेड एफसी दुबईको सहायक प्रशिक्षकको जिम्मेवारी पनि सम्हालिसकेका छन् भने चिनियाँ यू-१५ राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकका रुपमा १ वर्ष प्रशिक्षण दिएका थिए।

नेपाली टोलीका पूर्वप्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको कार्यकाल सकिएपछि नेपाली पुरुष फुटबल टोली प्रशिक्षकविहीन थियो। एनेसको कार्यकाल ८ महिनाअघि सकिएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.