काठमाडौँ : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नेपाल भ्रमणको निम्तो दिएका छन्। नेपालको लैङ्गिक विविधता र तेस्रोलिंगी पहिचानको अस्तित्व बुझ्न ट्रम्पलाई समुदायले निम्तो दिएको हो।
अमेरिकी राष्ट्रपतिको दोस्रो कार्यकाल सुरु गरेका ट्रम्पको महिला वा पुरुष दुई लिङ्गमात्रै हुने कार्यकारी आदेश दुराशयपूर्ण रहेको उनीहरूले बताए।
मायाको पहिचान नेपालको कार्यालय काठमाडौँमा समुदायको अधिकारमा क्रियाशील संस्थाहरूले सामूहिक छलफल गर्दै भने, ‘हामी हाम्रो समावेशी सम्पदाबाट सिक्न नेपाल भ्रमण गर्न निमन्त्रणा दिन्छौँ। सँगै, हामी हाम्रो पहिचान मेटाउने प्रतिरोध गर्छौँ, हाम्रो अस्तित्व मनाउँछौँ र चुनौतीहरूको बाबजुद अगाडि बढाउन प्रतिबद्ध छौँ।’
नेपालको लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायहरू, तेस्रोलिङ्गी, ट्रान्सजेन्डर र नन-बाइनरी लिङ्गहरूलाई लक्षित गर्ने ट्रम्पको कार्यकारी आदेशको उनीहरूले कडा निन्दा गरे। ट्रम्पको भेदभावपूर्ण नीतिको सम्भावित विश्वव्यापी परिणामहरूमा उनीहरूले गम्भीर चिन्ता व्यक्त गरे।
ट्रम्पको घोषणासँगै एचआइभीसँग बाँचिरहेका समलिङ्गी, तेस्रोलिंगी व्यक्तिहरूको लागि जीवन बचाउने एआरटी औषधिहरूसहित लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक अधिकारका लागि सञ्चालित कार्यक्रमहरूको कोष फिर्ता हुने चिन्ता उनीहरूको छ।
यो कोष फिर्ता लिएर विश्वव्यापी रूपमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक विरोधी समूहहरूलाई प्रोत्साहित गर्न सक्ने चिन्ता उनीहरूले गरे।
शक्तिशाली राष्ट्रका नेताका यस्ता दुराशय नीतिहरूले अन्य देशहरूमा विध्वंस निम्त्याउन सक्ने संविधानसभाका सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले बताए।
ट्रम्पको यो नीतिले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले कडा सङ्घर्ष गरेर प्राप्त गरेका अधिकार र सुरक्षालाई खतरामा पार्ने पन्तले उल्लेख गरे।
‘नेपालको लैङ्गिक विविधतालाई मान्यता दिने इतिहास छ, ६ लिङ्गको ऐतिहासिक सन्दर्भ र तेस्रोलिङ्गीको वर्तमान कानुनी मान्यता छ,’ पन्तले भने, ‘हामी हाम्रो पहिचान र अधिकार मेटाउने अनुमति दिन अस्वीकार गर्छौँ।’
उनले अमेरिकी कूटनीतिक नियोगहरूलाई ट्रम्पको भेदभावपूर्ण नीतिहरू प्रवर्द्धन गर्नबाट टाढा रहन भनेका छन्। अन्तरराष्ट्रिय सहयोगी सरकारहरू (जस्तै युरोपियन युनियन, बेलायत, क्यानडा, अस्ट्रेलिया)लाई विश्वव्यापी रूपमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको अधिकारका कार्यक्रमहरूमा आफ्नो समर्थन र कोष बढाउन आग्रह गरेका छन्।
ट्रम्पको महिला वा पुरुष दुई लिङ्गलाई मात्र मान्यता दिने कार्यकारी आदेशको असर इन्टरनेटबाट देखिन सकिने अभियन्ता विवेक सुसलिङ मगरले बताए।
फेसबुक, ट्विटर, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जालमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक असुरक्षित हुने खतरा देखिएको उनले बताए।
नेपालमा रहेको अमेरिकी दूतावासमा राखिएको इन्द्रेणी झन्डा हेरेर गर्व गर्दै आएको समुदायलाई ट्रम्पको घोषणाले चिन्तित बनाएको उनले उल्लेख गरे। सपोर्ट गर्ने व्यक्तिहरूलाई भ्रममा पार्ने ट्रम्पको अभिव्यक्तिको उनले आलोचना गरे।
अभियन्ता एवं मायाको पहिचान नेपालका उपाध्यक्ष मधु केसीले ट्रम्पको घोषणा विध्वंस मच्चाउने खालको भएको बताए। उनले समुदाय चिन्तित भएको सुनाए।
समुदायको अधिकारका लागि चलिरहेका अभियानलाई विरोधी अभियान चलाएर विध्वंस मच्चाउन सक्नेतर्फ सचेत र होसियार हुनुपर्ने अवस्था आएको उनले बताए।
समानताका लागि आवाज नेपालकी रोजी पुनले ट्रम्पको घोषणाको सामूहिक प्रतिवाद गर्नुपर्ने बताइन्। लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकारका लागि सामूहिक दबाब दिनका लागि आफूहरू तयार रहेको सुनाइन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।