काठमाडौं : एन्फा महिला लिग अन्तर्गत प्लेअफ चरणका खेलहरू आजबाट शुरू हुँदै छ।
आज हुने एलिमिनेटर खेलमा सुपर लिग चरणमा तेस्रो स्थानको नेपाल पुलिस क्लबले चौथो स्थानको बागमती युथ क्लबसँग खेल्ने तालिका रहेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज यो खेल दिउँसो पौने तीन बजेबाट हुनेछ।
यसअघिका तीन खेलमध्ये दुई खेल गोलरहित बरबरीमा रोकिएका थिए भने एक खेल पुलिसले जितेको थियो।
लिग चरणको आफ्नो पहिलो खेलमा नेपाल पुलिस क्लब र बागमती युवा क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका थिए। लिग चरणको खेलमा तुलनात्मक रूपमा त्यसअघिका खेलभन्दा बागमतीले डिफेन्समा राम्रो प्रदर्शन गरेको थियो।
यी दुई टोलीबीचको सुपर लिग चरणको पहिलो खेलमा भने पुलिसले २–० ले जितेको थियो। गत साता भएको सुपर लिग चरणकै दोस्रो खेलमा भने बागमतीले फेरि पुलिसलाई बराबरीमा रोकेको थियो।
लिग चरणका आठ खेलमध्ये पुलिसले तीन जित र एक बराबरीसँगै १० अंक बनाएर तेस्रो हुँदै प्लेअफमा पुगेको हो। त्यसैगरी बागमतीले भने ८ खेलबाट चार अंक जोडेर प्लेअफमा स्थान बनाएको हो।
पुलिससँग निरु थापा, पूजा राना, अमृता जैशी जस्ता राष्ट्रिय टोलीको समेत अनुभव बटुलिसकेका खेलाडी रहेका छन्। यता बागमतीसँग स्टार खेलाडी नभए पनि उसले राम्रो टिम खेलिरहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।