समय निरन्तर बगिरहन्छ। हामी समयसँगै बगिरहन्छौँ। बितेको समय फर्केर नआए पनि विगतका कुरा सधैँ स्मरणमा बल्झिरहन्छन्। मानिसले प्राय मन्दिरको गजुर देख्छन्। म सधैँ गजुर अड्याउने मन्दिरको जग सम्झन्छु। विष्णुकट्ठा स्कुल (श्री सिंहदेवी आधारभूत विद्यालय) मेरो लागि यही एउटा जग हो। म पढ्दाका भवन फेरिए, शिक्षक फेरिनुभयो, पढाइको तरिका फेरियो, समग्रमा समय फेरियो तर आधारको सम्झना कहिल्यै फेरिन सकेन।
कुरा उहिल्यैको हो। स्कुल १२ वर्षको थियो। म केवल पाँच वर्षको। बुबाले सरहरूसँग कुरा गर्नुभएको थियो होला। मलाई १० रुपियाँ दिँदै स्कुल गएर सरलाई म पढ्न आएको भन्नु भनेर अह्राउनुभयो। विष्णुकट्ठा स्कुल मेरो घरनजिकको एक मात्र स्कुल थियो। दुरीका हिसाबले नजिक भएको विद्यालय नै हाम्रो निर्विकल्प गन्तव्य थियो। अभिभावकको उपस्थितिबिना प्रारम्भ भएको मेरो विद्यालयीय जीवन अहिले पनि म आफूले पढाउने कक्षामा चर्चाको विषय बनाइरहन्छु।
दशैँमा किन्दिएको सेतो सर्ट र निलो हाप्पाइन्ट अनि बाक्ला(भुक्के) चप्पल हाम्रा दिनचर्या थिए। एक काँधमा भिर्न मिल्ने कपडाको घरैमा सिलाएको झोला अनि त्यसभित्र राखिने र प्राय नफेरिने किताब र कापी सारथी बन्थे।
लालीगुराँस कापीको वास्ना, मोनामी र रेन्को डटपेनका सुन्दर धर्का हामीलाई पढाइप्रति लोभ्याउने आधार थिए। गर्मी मौसममा बिहानी कक्षा अनि जाडो मौसममा दिवा कक्षा पढ्दाका सम्झना मानसपटलमा अझै ताजा छन्।
बिहानको कक्षा पढ्न जान अलि अल्छी पनि लाग्थ्यो। बिहान आमाबुबाले बोलाउँदा निदाए जस्तो गर्यो। स्कुल जाने समय सकिएपछि उठ्यो। स्कुल जानै नपर्ने मजाका तरिका पनि अपनाइन्थ्यो। कहिलेकाहीँ स्कुल नजाँदा पनि घरमा फोन गएन। अभिभावकले थाहा पाउनु भएन। किनभने हाम्रा घरमा फोन पनि हुँदैनथे। अनि अभिभावक विद्यालयमा सन्तानका बारेमा बुझ्न जाने चलन पनि थिएन। हामीलाई होमवर्कको चिन्ता थिएन। सरहरूले हाम्रो कापी जाँच गरिदिने चलन पनि थिएन। हामीले लेखेका कापीले रातो मसी नदेखीकन नै वर्ष बित्थे।
पटपट डमरु बजाउँदै बेच्न ल्याएको बरफ र मामफुली, मञ्जनका बिर्कामा भरेर किन्न पाइने कटुस र सतीबयर, मुख बटार्दै खानुपर्ने मेल हाम्रा लागि आजका बर्गर र पिज्जाभन्दा धेरै माथि थिए। कुइनाबाट पानी चुहाउँदै खाएको बरफ, राता, हरिया र पहेँला रङ्गीन बरफ खाएर मुख रङ्गीन बनाएको, सेतो (दुध) बरफ खान पाउँदा स्वर्ग पुगेको अनुभूति पनि कहाँ बिर्सन सकिन्छ र ! बरफमा किरा पार्न नुन हालेको कुरा, आकाशमा चरा उडाउन निधार घोटेर घाउ पारेको कुरा, बाटामा बर्राका दिउल फुटाएर खाएका कुरा, कलमा झुन्डिएर पानी पिएको कुरा अहिले सम्झदा आश्चार्य लाग्छ।
बर्रो र अमला खाएर खाएको पानीको स्वाद आज पनि उति नै मिठो लाग्छ। रातीगेडी मिठाइ, चार आनाको दुधचकलेट, सुन्तले मिठाइ, घुर्रा चकलेट अनि बाह्र आनामा पाइने फोटोसहितका बबलगम हाम्रा सान थिए। पछि पछि हामीले मसी तान्ने र मसी भर्ने टेको कलम पनि पायौँ।
चाइनिज फुलटिन हामीले हेर्न मात्र पाएका थियौँ। लेख्न पाएका थिएनौँ। नियमित खाजा हाम्रो तालिकामा पर्दैनथ्यो। यसरी कहिलेकाँही खान पाएका कुरा जसले किने पनि सबैको भागमा पर्दथ्यो। एउटा बयर, हर्रो, अमला जसले ल्याए पनि बाँडेर खान्थ्यौँ।
सर्टका छेउमा राखेर दाँतले टोक्थ्यौँ। दाँतले सर्ट छेडेर फुटाउँथ्यो तर हामीलाई जुठो हुँदैनथ्यो। सायद हामीलाई त्यही जुठोले मित्रवत् बनायो होला। हामी त्यही बेलादेखि सामाजिक भावनाको अभ्यासमा रहेछौँ।
आज आँगन हराएको सहरमा पढ्ने विद्यार्थीलाई हाम्रा विगत कथा कथा लाग्छन्। हिजो यही बाटो हिँडेर आज जीवन जिउने मानिसका लागि यी कुरा व्यथा हुन्छन्। तर, हाम्रा लागि यी व्यथा नयाँ नयाँ उपायको आविष्कार गर्ने अवसर थिए। हामी साथी साथी मिलेर खेल्थ्यौँ। एउटा साथी रिसाए हाम्रो आसपास बन्द हुन्थ्यो। झुम्राका गोलको पार्टी फुट्थ्यो। पौडी खेल्न जानेको समूह दुब्लाउँथ्यो। टोपीलुकाइ लुक्थ्यो। चोरपुलिस थुनिन्थ्यो। आसपास प्रवास पुग्थ्यो। चुङ्गी चल्दैनथ्यो। भागी डुम भाग्थ्यो। छोइ छुम छुट्थ्यो। छुर छरिन्थ्यो।
सुइटर बुन्ने धागाको डल्लो फाटेको मोजामा हालेर भकुण्डो बनाउथ्यौँ। साइकलका ट्युब काटेर चुङ्गी बनाउँथ्यौँ। थोत्रा चप्पलका चक्का बनाएर गाडी कुदाउँथ्यौँ।
छाताका करङ भाँचेर बल्छी खेल्थ्यौँ। केराका थम्बा जोडेर खोलामा डुङ्गा चलाउँथ्यौँ। सन्ठीमा सुइरो हालेर डट बनाउँथ्यौँ। कागजका हवाइजहाज र पानीजहाज निर्माण गथ्र्यौँ। प्लास्टिकमा माटो पोको पारेर घुँएत्रो हान्थ्यौँ। यी हाम्रा तत्कालीन तमासा थिए तर वर्तमानबाट हेर्दा प्राचिन आविश्कार पनि थिए।
कुनै कुराको पोल खुल्नु हुन्नथियो। साथी सधै खुसी हुनुपर्थ्यो। त्यही भएर साथी नरिसाओस् भन्ने हाम्रो चाहना हुन्थ्यो। हाम्रो समाज त्यहीँबाट बनेको थियो। आजसम्म पनि मान्छेसँग मिल्नुपर्छ भन्ने भावना जीवनमा यही स्कुलले हुर्काएको छ।
त्यो मोहन अधिकारी मेरो कक्षामा पढ्दैन थियो भने म सधैँ प्रथम हुन्थेँ। उसका कारण मैले कहिलेकाहीँ दोस्रो हुनुपर्यो। मैले जीवनमा जम्मा एक पटक विद्यालय प्रथम हुन पाएँ त्यो पनि यही स्कुलमा नै हो। एक कक्षामा विद्यालय प्रथम गरेर पाएको लामो फुलिस्केप, सरसफाइमा उत्कृष्ट हुँदा पाएको नुहाउने साबुनको डल्लो, हाजिरीमा प्रथम भएर पाएको इगल बुक (कापी) मैले जीवनमा पाएका अमूल्य पुरस्कार हुन्।
विद्यालयको प्रार्थनामा गाइएका हट्ने होइन डटी लड्ने जस्ता गीत र श्रीमान् गम्भीर (त्यो बेलाको राष्ट्रगान) ले मन अहिले पनि उतिकै चञ्चल बनाउँछ। कक्षा चारमा गएर पढेको संस्कृतले कक्षा सातभन्दा माथि जान पाएन। त्यो बेला संस्कृत छोड्न पाउँदा सबैभन्दा खुसी भएको म आज त्यही संस्कृत पढ्न नपाएर पछुतो लागिरहेको छ।
कक्षा चारमै अङ्ग्रेजी सुरु भएको थियो। ए, बी, सी, डी. बाट शुरु भएको त्यो अङ्ग्रेजी त्यही कक्षामै गीता इज अ नर्स, रामसिंह इज अ पाइलट, रामबहादुर इज अ कार्पेन्टर भनेको सम्झना ताजै छ। यस अर्थमा विष्णुकट्ठा स्कुल जहाँ मैले सग्ला अक्षर, केही शब्द र सरल वाक्य बनाउन सिकेँ। आज तिनै अक्षर, शब्द र वाक्यको संयोजनले देशविदेशका मञ्चमा बोल्न र विभिन्न पुस्तक पत्रिकामा लेख्न पाएको छु। यो देशका सबै खाले विशिष्ट नागरिकका अगाडि उभिएर नडराईकन दुईचार कुरा राख्न पाएको छु। मैले बालापनमा देखेको सबैभन्दा ठूलो व्यक्ति शिक्षक थियो।
मैले जीवनमा शिक्षक बन्न पाए हुने भन्ने सोचेको थिएँ। आज त्यही शिक्षक भएर धेरै कुरा सिक्न र सिकाउन पाएको छु। यस अर्थमा पनि विष्णुकट्ठा स्कुल मेरो जीवनरूपी सिँढीको पहिलो र दर्बिलो खुड्किलो हो।
हरि सर हेडसर हुनुहुन्थ्यो। मेरो सानो दिमागले हेडसर हुन त नाम पनि ‘ह’ बाट नै बन्नुपर्ने रहेछ भनेर सोचेको थियो। मलाई लाग्थ्यो म जीवनमा हेडसर हुन नपाउने भएँ। मेरो नाम सरोज किन राख्या होला ? सरोजको ठाउँमा हरोज राख्या भए पनि हुने नि।
पछि गोहाबारी स्कुल पढ्न गएपछि थाहा भयो त्यहाँको हेडसर त दिलिप सर हुनुहुन्थ्यो। मैले बल्ल कुरा बुझेँ। जो पनि हेडसर हुन सक्ने रहेछ। हेडसर बन्न नामको केही भूमिका रैनछ। हेडसर बन्न केटा नै चाहिन्छ भन्ने पनि लागेको थियो। पछि अरु स्कुलमा हेडमिस पनि हुन्छन् भन्ने जानेपछि त्यो भ्रम पनि च्यातियो।
मैले एक पटक फलामको डटपेन पाएको थिएँ। लिएर स्कुल गएँ। मलाई बाटामा त्यो डटपेनको खुब माया लाग्यो। मैले सोचेँ मेरो डटपेन कसैले माग्यो भने के गर्ने ? कसैले लगिदियो भने ? ऋषि दाइका घरछेउमा काठको एउटा पुल थियो।
मैले त्यो डटपेन त्यही पुलमुनि लुकाएर गएँ। पछि फर्केर खोज्दा गायब थियो। कसैले लग्यो या मैले नै लुकाएको ठाउँ बिर्सेँ ? आजसम्म पत्ता लगाउन सकेको छैन।
भुक्के चप्पललाई उत्तानो पारेर लोती खुट्टामा छिराउँथ्यौँ। सयदेखि पाँच सयसम्म चुङ्गी उफार्ने प्रतियोगिता हुन्थ्यो। गोजीमा पैसा जस्तै गरेर कापीका पाना र चकलेटका खोल पट्याएर राख्थ्यौँ। हाम्रो कारोबारमा त्यही पाना र खोल लेनदेन हुन्थ्यो।
गोजीभरि बोकेका गुच्चा हामी दौडदा टिङटिङ बज्थे। त्यो आवाज आज पनि कानमा गुन्जिन्छ। चोरी औँला र माझी औँलामा गुच्चा अड्याएर प्याट्ट हान्ने हाम्रो अर्को प्रतियोगिता थियो। अर्काको गुच्चा छुवाउन सके त्यो गुच्चा पनि मारिन्थ्यो।
गुच्चा पिलाउने (पिकाउने) भनिन्थ्यो। परको खाल्टोमा छिराउनुपर्थ्यो। खाट वा मुढो पाए हामी गाडी कुदाउँथ्यौँ। एउटाले अगाडि बसेर भुरुङरूङ भन्थ्यो। अर्काले भाडा उठाउँथ्यो। हामी तिनै चकलेटका खोल र कापीका पाना तिथ्र्यौँ। अलि फटाहा केटाहरू बाटामा अल्मलिएर खोपी खेल्थे। डण्डीबियो अर्को प्रतियोगिता थियो हाम्रो। साथीसँग कापीका पानामा खेलेको गुच्चा र चुङ्गी, सखरमा पकाएका भुजाका डल्ला, उल्टी र सुल्टी जम्प हाम्रा बालापनका शोभा थिए। कुनै कुनै दिन त हाम्रो सिन्को लुकाइमा हराएको सिन्को खोज्दै पनि बित्थ्यो। बाटामा ढुङ्गाले ढुङ्गा हान्दै मार्दै आवतजावत हुन्थ्यो। आउँदाजाँदा बाटाका पसलमा अरुले खेलेको क्यारेमबोर्ड पनि देखेका थियौँ। यो हामीलाई बर्जित थियो र हाम्रो पहुँचबाहिर पनि थियो।
हार्नेले दुई रुपियाँ तिर्नुपर्थ्यो। हामीसँग सधैँ दुई रुपियाँ कहाँ हुनु ?
एक दिनको कुरा हो, सुरेन्द्र सरले हामीलाई पढाइरहनुभएको थियो। पढ्दै गर्दा मैले मेरा खुट्टामा हेरेँ। चप्पल थिएनन्। भर्खर किन्दिएका राता भुक्के चप्पलको मलाई साह्रै माया लाग्यो। सरलाई केही नभनी कक्षाबाट निस्केर दौडदै अघि खेलेका ठाउँमा आएँ। चप्पल हेरेँ। चप्पल त्यहाँ पनि थिएनन्। फेरि निराश हुँदै कक्षामा गएँ। सरले नसोधीकन किन गएको भनेर कन्सिरीका रौँ उखेल्नुभयो। आँखामा आँसु आयो। आँसुको इन्दे्रणी बन्यो। दिमागमा आगो बल्यो। हृदयमा झिल्को चम्क्यो। क्या गजब थियो सजाय पनि।
मैले बुझेँ कक्षाबाट त्यसै निस्कन हुँदो रहेनछ। हरि सर (हेड सर) ऋषि सर, खिन्द्र सर (कान्छा हजुरबा), टङ्क सर, निलमणि सर, सुरेन्द्र सर, चौधरी सर, खुमनाथ सर र पिउन सर (यज्ञ दाइ) सधैँ सम्मानका साथ सम्झनामा हुनुहुन्छ।
यस्तै हरि सरको नरम बोलीले हृदय पगाल्थ्यो। निलमणि सरले कान बटार्दा हामी खुट्टाउचालेर संसार देख्थ्यौँ। चौधरी सरको भाषामा हामी रन्थनिन्थ्यौँ। टङ्क सरको सालिनताले हामीलाई बाटो देखाउँथ्यो। खिन्द्र सर घर र विद्यालय दुवैतिरको अभिभावक भइहाल्नुभयो। अझ पिउन सर अलराउन्डर। जो शिक्षक नआए पनि उहाँ फिट, जे काम गर्नुपरे पनि उहाँ ठिक। पिउन सरबाटै हामीले जिन्दगीको संघर्ष सिक्न पायौँ।
एक पटकको कुरा हो। मैले श्रुतिलेखनमा प्रथम गरेँ। अर्को प्रतियोगितामा भाग लिन विराटनगर जानुपर्ने भयो। मैले थाहापाईकन पहिलो पटक विराटनगर जाने मौका पाएँ। खिन्द्र सरले मलाई लिएर जानुभयो। विराटनगरका ढुङ्गेल थरका एक आफन्तकामा बास बस्ने भइयो।
मैले पहिलो पटक बिजुली त्यहाँ देखेँ। झुलका छेउमा एउटा तारमा झुन्ड्याइएको एउटा सेतो डल्लो थियो। त्यही डल्लो थिच्दा बत्ती बल्थ्यो। त्यही डल्लो थिच्दा बत्ती निभ्थ्यो। बिजुलीको उज्यालो त राति पनि दिउँसो जस्तै झलल। म अचम्ममा परेँ। क्या गजब। त्यो थिचेको डल्लो त स्विच रहेछ।
हाम्रा घरमा आरा काट्ने मानिसहरू आएका थिए। उनीहरूको एउटा डफेदार थियो। ऊ नलेखी मुखैले हिसाब गर्न सिपालु थियो। कति फिट काठको कति रुपियाँ हुन्छ फ्याटफ्याट भन्न सक्थ्यो। मैले एक दिन उसलाई कति पढ्नुभएको छ भनेर सोधेको थिएँ उसले दुई कक्षा भनेको थियो।
मलाई लाग्यो दुई कक्षा जिन्दगीको ठुलो कक्षा रहेछ। मैले पनि दुई कक्षा पास गरेँ भने डफेदान हुन पाउने रैछु। नभन्दै मैले दुई कक्षा पास गरेर तिन कक्षामा गएँ। घर गएर आमालाई अब म पढ्न छोडिदिन्छु भनेँ। आमाले किन भनेर सोध्नुभयो। मैले सबै कुरा भनेँ। आमाले डफेदारभन्दा पनि ठूलो मान्छे बन्न अझै पढ्नुपर्छ भन्नुभयो। त्यसपछि मैले चुप लागेर तीन कक्षा पनि पढ्न थालेँ।
हामी सानो कक्षामा पढ्दा पाँचमा पढ्ने मानिस क्या ठुला लाग्थे। हामी कहिले पाँचमा पुग्ने भन्ने लाग्थ्यो। नभन्दै हामी पाँचमा पनि पुग्यौँ। अब त अरु विद्यार्थी फुच्चाफुच्ची लाग्न थाले। पाँच पास गरेर छ कक्षा पढ्न गोहाबारी स्कुल गयौँ। गोहाबारी स्कुलमा धेरै तिरका प्राथमिक विद्यालयका विद्यार्थी आउँदा रहेछन्। हामी ठुलो भिडमा हरायौँ। त्यहाँ त हामी फेरि फुच्चे पो भयौँ।
हाम्रा जम्मा दुईओटा जाँच थिए। एउटा सानो जाँच अनि अर्को ठुलो जाँच। सानो जाँज कस्तो भयो ?कसले सोध्थ्यो र ? ठुलो जाँच सकिएपछि कक्षा उक्लिने पालो आउँथ्यो। आफूभन्दा ठुला विद्यार्थीका पुराना किताब आधा मूल्यमा किनेर परालका कुन्युमा बसेर पढ्दा क्या मजा आउँथ्यो। गहुँमा रुप्पी रुङ्ने जिम्मा पनि केटाकेटीकै हुन्थ्यो। हामी त्यहाँ पनि आलीमा जुटको बोरा ओछ्याएर खुब पढ्थ्यौँ। हाम्रा लागि अगाडिको गाता नभएका ती पुराना किताब पनि सधैँ नयाँ लाग्थे। ठूलो जाँचपछाडि जाडोको छुट्टी हुन्थ्यो।
जाडोको छुट्टीमा परेवा बोकेर खेतका गरामा वनभोज गइन्थ्यो। सानो जाँचपछाडि खेत रोप्ने समय हुन्थ्यो। त्यो बेला पनि लामो छुट्टी हुन्थ्यो। बर्खे छुट्टीका पछाडि स्कुल खुलेपछि पहिलो दिन पढाइ हुँदैनथ्यो। कुरो उखेल्ने र कक्षा सफा गर्ने हाम्रा काम हुन्थे। स्कुलबाट घर फर्किँदा लुगाभरि कुरो लागेको हुन्थ्यो। आधा घण्टाभन्दा धेरै समय त्यही कुरो उखेल्दा जान्थ्यो। आफ्नो काम आफैँ गर्नुपर्छ भन्ने कुराको बीजारोपण पनि त्यहीँबाट भएको हो।
पुष १४ गते हाम्रो अर्को दशैँ थियो। त्यो दिन हाम्रो पढाइ हुँदैनथ्यो। चारपाँच रुपियाँ खर्च घरबाट पाइन्थ्यो। हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ, पञ्चायती व्यवस्था अमर रहोस्, हाम्रा राजा चिरायु रहून् आदि भन्दै हामी नारा लगाउँथ्यौँ। लाइन लागेर जुलुसमा मिसिन्थ्यौँ र लखनपुर पञ्चायत पुग्थ्यौँ। त्यहाँ चटपटे, प्याजी, पापड आदि खान्थ्यौँ। के हो राजा थाहा थिएन तर त्यो दिन रमाइलो हुन्छ भन्ने थाहा थियो। त्यति धेरै मानिस मैले पहिलो पटक त्यहीँ देखेको हो।
खैरा लुगा लगाएका पुलिस पनि त्यहीँ देखेको हो। त्यहाँ ठूला-ठूला भुँडी भएका मानिस पनि आएका हुन्थे। ती मानिसलाई पञ्च भन्नुपर्छ भन्ने कुरा पनि थाहा पाएँ। त्यस अवसरमा चम्चा दौड, बिस्कुट दौड, हिसाब दौड जस्ता खेलमा पनि भाग लिन पाइन्थ्यो।
एउटा काले भन्ने साथी थियो। ऊ हामीभन्दा उमेरमा पनि दोब्बर थियो। ज्यानमा पनि त्यस्तै। उसले हामीलाई स्कुलभन्दा पर लान्थ्यो र बालुवामा उफाथ्र्यो। उसको खास नाम मलाई थाहा छैन। अहिले त अनुहार पनि बिर्सेँ। यही लोकमा छ कि विदेश वा परलोक थाहा भएन। तर ऊ हावामा फनफनी घुम्न सक्ने जादुगर झैँ लाग्थ्यो हामीलाई। साने अर्को दादा थियो। हाम्रो अभिमान थियो। उसको रिस र बलका कारण हामीलाई अरूले चलाउन सक्दैन थिए। उसलाई देखेपछि हामीलाई सुरक्षित छौँ जस्तो लाग्थ्यो।
दिनेश र मेरो मित्रता जुम्ल्याहा झैँ थियो। ठुलोभाइ (जनार्दन काका) र ठाने (दिपेन्द्र) मेरा अभिन्न साथी थिए। कमल, रोहित, तारा, प्रकाश, जीवन, साने, पवन, ध्रुव, सन्तोष, लिला, लक्ष्छु, तोया, गोविन, किस्न, केशव, सानु, पुण्डरी आदि हाम्रा बालसखा थिए। केटा र केटीको छुट्टै पार्टी थियो। हाम्रा केटी साथी पनि थिए। साने, तारा, ज्ञानु, उर्मिला, मन्दिरा, कविता, शुशिला आदि हाम्रा केटी साथीहरू थिए। बुना दिदीले हामीलाई लुकाएर लगेको पैसाबाट खाजा खुवाउनु हुन्थ्यो। हाम्रा लागि साथी नै संरक्षक थिए।
झगडा त पथ्र्यो तर मिल्थ्यौँ पनि। साथी नै हाम्रा लागि अदालत थिए। जसले जे ल्याए पनि बाँडी खान्थ्यौँ। साथी नै हाम्रा अभिभावक थिए। गल्ती काम एकापसमा लुकाउँथ्यौँ। साथी नै हाम्रालागि प्रेरणा थिए। साथीको यही साथ हाम्रो जमानाको व्यावहारिक शिक्षा थियो। साइकल कैँचे चलाउँथ्यौँ। लडेर चोट लागे धुलो दल्थ्यौँ। घरमा थाहा पाए जीवन जान्थ्यो। मनभरि पिडा लुकाएर ओठमा मुस्कान फुलाउँथ्यौँ।
हामीले पेन्सिल चिनेनौँ। सायद त्यही भएर हाम्रो मित्रता भाँचिएन। इरेजर पाएनौँ त्यसैले सम्झना मेटिएनन्। ज्यामिति बाकस नभएकाले नै होला सिर्जना थुनिएन। स्केल नभएकैले आफ्नो लक्ष्य आफैँ नाप्न पाइयो। क्यालकुलेटर त हामीले दोकानमा मात्र देख्यौँ। त्यो विद्यार्थीलाई चाहिन्छ भन्ने नै थाहा थिएन। हामीले आफ्नो जीवनको हिसाब आफैँ गर्नुपर्यो।
लालीगुराँस कापीमा खिटखिटे डटपेनले लेखेका अक्षर र हामीले आफैँ बनाएका जीवनका स्केच कहिल्यै मेटिएनन्। कसैका लालीगुराँस ओइलिए होलान् तर धेरैका लालीगुराँस फक्रिएकै छन्। त्यो फराकिलो चौरमा खालिखुट्टा टेक्दैखेरि माटोको माया मनमा सरेको हुनुपर्छ। फराकिलो मनमा रहरका अनेक कोपिला यही स्कुलले फुलाइदिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।