१०/१५ पटकसम्म लाइसेन्स परीक्षा दिँदा पनि पास हुन सक्दैनन् विद्यार्थी

|

काठमाडौँ : हालै मात्र नेपाल मेडिकल काउन्सिलले लिएको ७१ औँ नाम दर्ता (लाइसेन्स) परीक्षामा सहभागी भएका झन्डै दुई तिहाइ विद्यार्थी फेल भए।

अघिल्लो हप्ता पुल्चोकस्थित नेपाल इन्जिनियरिङ अध्ययन संस्थानमा दुई दिन भएको एमबीबीएस र बीडीएस परीक्षाको लाइसेन्स परीक्षाको नतिजा अत्यन्त कमजोर भएको हो।

काउन्सिल अनुसार परीक्षामा एमबीबीएस र बीडीएसका गरी कुल ८४४ जना सहभागी भए पनि उत्तीर्ण २६२ जना (३१.०४ प्रतिशत) मात्रै भए। परीक्षामा सहभागी भएकामध्ये ५६२ जना अनुत्तीर्ण भए।

एमबीबीएसतर्फ ७७० जनाले परीक्षाका लागि फारम भरे पनि १७ जना अनुपस्थित रहेका थिए। परीक्षामा ७५३ जना सहभागी हुँदा २४१ जना (३२.०१ प्रतिशत) मात्रै उत्तीर्ण भए। यो समूहमा ७ जनाको नतिजा स्थगित भएको छ।

यस्तै बीडीएसतर्फ कुल ९५ जनाले फारम भरे पनि परीक्षामा ४ जना अनुपस्थित हुँदा ९१ जनाले मात्रै सहभागी भए। त्यसमध्ये २१ जना (२३.०८ प्रतिशत) मात्रै उत्तीर्ण भएका थिए।

लाइसेन्स परीक्षामा अनुत्तीर्णको संख्या दुई तिहाइभन्दा बढी हुँदा नेपालको मेडिकल तथा डेन्टल कलेजको पढाइको गुणस्तरमा समेत प्रश्न उठ्न थालेको छ।

किन धेरै अनुत्तीर्ण हुन्छन् लाइसेन्स परीक्षामा

हाल लाइसेन्स परीक्षामा फेल हुनेमध्ये अधिकांश परीक्षार्थी चीन र बंगलादेशमा अध्ययन गरेर आएका रहेको चिकित्सा शिक्षा क्षेत्रका विज्ञहरूले बताउँदै आएका छन्।

काउन्सिल एक पदाधिकारीका अनुसार एमबीबीएसतर्फ ४६ प्रतिशतसम्म लाइसेन्स परीक्षामा पास हुनु राम्रो मानिन्छ तर यो पटकको परीक्षाको नतिजाले कलेजहरूको पढाइको गुणस्तरको बारेमा प्रश्न उठाउने ठाउँ दिएको बताए।  

उनका अनुसार एमबीबीएस उत्तीर्ण भए पनि लाइसेन्स परीक्षा पास नहुँदासम्म विरामी परीक्षण गर्न नपाउने हुँदा उत्तीर्ण नहुन्जेलसम्म परीक्षार्थीले जाँच दिइरहने हुँदा धेरै फेल भएको देखिने गर्छ।

‘विद्यार्थीले ५ वर्षसम्म पढेरै आएको विषयवस्तुको आधारमा परीक्षा लिने गरिन्छ तर परीक्षामा पटक पटक सहभागी हुँदासमेत पास हुन सक्दैनन्, लाइसेन्स पास नहुँदासम्म विरामी हेर्न नपाउने हुँदा परीक्षार्थीले पटक पटक परीक्षा दिइरहन्छन्। त्यही खालका विद्यार्थीले गर्दा फेल हुने दर धेरै भएको देखिने एक प्रमुख कारण हो भने अर्कोतर्फ विदेशी कलेजहरूमा एमबीबीएस पढेर आउने विद्यार्थीहरू प्रायः लाइसेन्स परीक्षामा फेल हुने गरेका छन्’‚ ती पदाधिकारीले भने।

काउन्सिलका ती पदाधिकारीका अनुसार चीन र बंगलादेशका केही कलेजहरूमा अध्ययन गर्ने विद्यार्थीको शैक्षिक गुणस्तर निकै कमजोर हुने भएकाले उनीहरूले १० पटकसम्म पनि लाइसेन्स परीक्षा पास गर्न नसक्ने र हरेक पटक यस्ता परीक्षार्थीको संख्या बढ्दै जाने हुँदा लाइसेन्स परीक्षामा फेल हुनेको संख्या बढ्न पुगेको हो।

‘चीन तथा बंगलादेशका केही मेडिकल कलेजबाट पढेर आएका विद्यार्थीको शैक्षिक गुणस्तर यति कमजोर हुन्छ कि उनीहरूले एमबीबीएस पढ्दा जान्नुपर्ने बेसिक कुरा पनि जानेको पाइँदैन‚ यस्ता विद्यार्थी १०/१५ पटकसम्म लाइसेन्स परीक्षा दिँदा पनि पास हुन सक्दैनन्, अहिले फेल भएका प्राय विद्यार्थी पनि भर्खरै विश्व विद्यालयबाट एमबीबीएस र बीडीएस पास भएर आएका भन्दा पटक-पटक परीक्षा दिँदा पनि लाइसेन्स पास हुन नसकेका विद्यार्थीहरू हुन्’‚ काउन्सिलका ती सदस्यले भने।

 पढाइको गुणस्तरमा कन्जुस्याइँ गरेका छैनौँ : निजी मेडिकल कलेज

नेपाली कलेजहरूले पढाइको गुणस्तरमा कन्जुस्याइँ नगरेको बताउँछन् एशोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेण्टल कलेज अफ नेपालका उपाध्यक्ष तथा  कान्तिपुर डेण्टल कलेजका अध्यक्ष समेत रहेका डा. बुद्धिमान श्रेष्ठ। नेपाली कलेजहरूले एमबीबीएस​/बीडीएस पढाइका लागि आवश्यक फ्याकल्टी तथा विषयविज्ञहरू समयअनुकूल पर्याप्त मात्रामा राखेर नेपाली कलेजहरूले विद्यार्थीलाई अध्ययन गराउँदै आएको हुँदा नेपाली कलेजहरूको  चिकित्सा शिक्षामा प्रश्न गर्ने ठाउँ नभएको डा. श्रेष्ठको भनाइ छ। कान्तिपुर डेण्टल कलेजका अध्यक्ष तथा निजी मेडिकल एशोसिएसनका उपाध्यक्ष डा. श्रेष्ठले भने‚ ‘हाम्रा नेपाली मेडिकल कलेजहरूको एमबीबीएस/बीडीएस पढाइको गुणस्तरमा प्रश्न गर्ने ठावै छैन किनकि आवश्यक फ्याकल्टी तथा विषयविज्ञहरू हाम्रा कलेजमा पर्याप्त छन्, अब काउन्सिलको परीक्षामा फेल हुने संख्या बढ्नुमा चाहिँ फ्रेस विद्यार्थी नभएर बाहिरबाट पढेर आएका विद्यार्थी हुनसक्छ।’

यता चिकित्सा शिक्षामा खस्किँदै गएको शैक्षिक गुणस्तरमा अब विस्तारै सुधार हुने बताउँछन् चिकित्सा शिक्षा आयोगमा पूर्व उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरी।

उनका अनुसार आयोग आएपछि नेपालका मेडिकल कलेजहरूको शैक्षिक गुणस्तरमा सुधार आएका कारण वार्षिक परीक्षामा विद्यार्थी फेल हुने दर एकदमै घटेकाले अब ती विद्यार्थी एमबीबीएस उत्तीर्ण भएर आएपछि काउन्सिलको लाइसेन्स परीक्षामा पास हुने दर बढ्न सक्नेछ।

प्राडा गिरीले भने‚ ‘मेडिकल शिक्षामा शैक्षिक गुणस्तर खस्किएकै हो तर आयोग स्थापना भएपछि मेडिकल कलेजमा अध्ययन गरिरहेका विद्यार्थीहरूको भने अध्ययनको स्तर सुधारिएको छ, आयोग स्थापना भएपछि एमबीबीएस अध्ययन गर्न थालेका विद्यार्थी अहिले अन्तिम वर्षमा पढिरहेका छन्। अब यी विद्यार्थी एमबीबीएस उत्तीर्ण भएपछि चिकित्सकको लाइसेन्स परीक्षा दिँदा पास हुने दर पक्कै बढ्छ।‘

काउन्सिलले लिने चिकित्सक लाइसेन्स परीक्षामा सैद्धान्तिक ज्ञानको मात्रै नभएर विद्यार्थीको सीपको समेत जाँच लिनुपर्ने अवस्था आएको बताए।

पेपरलेस हुन्छ चिकित्सक लाइसेन्स परीक्षा

एमबीबीएस पढाइ पूरा गरिसकेपछि क्लिनिकल प्राक्टिस गर्नका लागि काउन्सिलबाट लाइसेन्स परीक्षामा पास हुनैपर्छ। यसका लागि काउन्सिलले हरेक ४/४ महिनामा परीक्षा लिने गर्छ।

यसरी लिने परीक्षा सबै पेपरलेस हुने हुँदै आएको छ। परीक्षामा सहभागी हुन परीक्षार्थीले अनलाइनबाट आफूले एमबीबीएस पूरा गरेको प्रमाणपत्रसहित फाराम भर्नुपर्छ।

यसरी भरेको फारामलाई काउन्सिलले अनलाइनबाटै कागजपत्र जाँच गरी भेरिफाइ गर्छ र परीक्षाका लागि योग्य भए इ-मेलबाट प्रवेशपत्र पठाइदिन्छ। परीक्षार्थीले लाइसेन्स परीक्षा दिन आउँदा त्यो प्रवेशपत्र प्रिन्ट गरेर प्रवेशपत्रसहित परिचय खुल्ने आफ्नो अरू कुनै कागजपत्र पनि साथमै ल्याउनुपर्छ।

परीक्षार्थीलाई परीक्षा हलभित्र छिर्नुभन्दा अगाडि तीन ठाउँमा जाँच (चेक) गरिन्छ। पहिलो चेकमा परीक्षार्थीको प्रवेशपत्र जाँच गरिन्छ। विद्यार्थीलाई प्रवेशपत्र दिँदा बारकोड राखिएको हुन्छ। यसरी प्रवेशपत्र चेक गर्दा उक्त बारकोड र प्रवेशपत्रमा भएको फोटो र प्रत्यक्ष रूपमा सहभागी भएको मानिससँग दाँजेर चेक गरिन्छ।

दोस्रो र तेस्रो चेकमा परीक्षार्थीको झोला, मोबाइल चेक गरिन्छ। परीक्षार्थीले प्रवेशपत्रबाहेक केही लैजान पाउँदैन। १५ जना परीक्षार्थी बराबर एकजना निरीक्षक खटिएका हुन्छन्।

अर्को महत्त्वपूर्ण कुरा यो परीक्षामा एकपटक सोधिएको प्रश्न अर्को पटक सोधिँदैन। तर प्रश्नहरू भने सबै मेडिकल कलेजमा चिकित्सा शिक्षा अध्यापन गराइरहने ५० जना चिकित्सकले नै बनाउँछन्।

परीक्षामा २३ वटा विषयमा प्रश्न बनाइएका हुन्छन्। जुन विद्यार्थीहरूले एमबीबीएस अध्ययन गर्दा नै समेटिएका विषयवस्तुमा आधारित हुन्छन्। ​कम्प्युटर प्रणालीबाट लिने परीक्षा काउन्सिलले प्रायः पुल्चोकस्थित इन्जिनियरिङ कलेजमा लिने गर्छ।

परीक्षाको सम्पूर्ण नतिजा नआएसम्म त्यहाँ रहेका र अनुगमन गर्न गएका स्वास्थ्य र शिक्षा मन्त्रालय, प्रतिष्ठान, स्वास्थ्य व्यवसायी परिषद्लगायतका अधिकारी तथा परीक्षा गराउन सहभागी भएकाहरूलाई बाहिर जान दिइँदैन।

काउन्सिलले परीक्षामा मोबाइललगायतका उपकरणको उपयोग गर्न नदिन र परीक्षामा चोरी र अनियमितता हुन नदिन 'जामर'को समेत प्रयोग गर्छ। एकपटक परीक्षामा फेल भएकाहरूले ४ महिनापछि पुन: परीक्षा दिन पाउने व्यवस्था भने काउन्सिलले गरेको छ। पास नहुन्जेलसम्म चिकित्सकहरूले लाइसेन्स परीक्षा दिइरहन पाउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.