काठमाडौँ : सहकारी ठगीसम्बन्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको थुनछेक बहस आज पनि सकिएन।
आज जाहेरवालाका तर्फबाट बहस सकिएको र प्रतिवादीका पक्षबाट बहस सुरु भएको रुपन्देही जिल्ला अदालतले जनाएको छ। बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको छ।
आज जाहेरवालापक्षका २ जना वकिल र प्रतिवादीपक्षका ३ जना वकिलले बहस गरेका छन्। अझै प्रतिवादीतर्फका ६ जना वकिलको बहस बाँकी रहेको रुपन्देही जिल्ला अदालतका स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले थाहाखबरलाई जानकारी दिए।
उनले भने, 'आइतवार बाँकी रहेका प्रतिवादी पक्षका वकिलहरूले बहस गर्ने छन्, त्यसपछि जवाफी बहसलगायत अन्य प्रक्रिया पूरा गरी सोही दिन आदेश आउनसक्छ।'
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि लामिछाने गत बुधवार रुपन्देही जिल्ला अदालतमा उपस्थित भएका थिए। बुधवार नै रवि लामिछानेसँग बयान लिइएको थियो। न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा बिहीवारबाट थुनछेक बहस थालिएको थियो।
बिहीवार ८ जना सरकारी वकिलहरूले बहस गरेका थिए। त्यसपछि जाहेरवालाका तर्फबाट बहस सुरु भएकोमा आज जाहेरवाला पक्षका वकिलले बहस सकेका र आजै प्रतिवादीका तर्फबाट बहस थालिएको हो।
सहकारी ठगी र संगठित अपराधमा सरकारी वकिल कार्यालयले रवि लामिछानेसहितलाई अभियुक्त बनाएर आइतवार पुरक मुद्दा दर्ता गरेको थियो। सहकारी ठगी प्रकरणमै लामिछाने कास्की जिल्ला अदालतबाट ६५ लाख र काठमाडौँ जिल्ला अदालतबाट ६० लाख धरौटीमा रिहा भएका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।