बैतडी : धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि सुदूरपश्चिम प्रदेश र एपिएफ क्लब भिड्ने भएका छन्।
आज भएको सुपर ४ को अन्तिम खेलमा बागमती प्रदेशलाई ३० रनले हराएर सुदूरपश्चिमले फाइनलको यात्रा तय गरेको हो।
सुदूरपश्चिमको जितमा रितु कनौजियाले अलराउन्ड प्रदर्शन गरिन्।
फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ११२ रन बनायो।
जसमा रितुले अविजित ३४ रन र मनिषा बोहराले १६ रन जोडिन्। सुदूरका अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।
बलिङमा बागमतीका लागि मनिषा उपाध्याय र सोनु खड्काले ३/३ विकेट र विपिशा शाहीले एक विकेट हात पारिन्।
जितका लागि पाएको ११३ रनको लक्ष्य पछ्याएको बागमती १९ ओभर ४ बलमा ८२ रनमा अलआउट भयो।
बागमतीका यशोदा विष्टले ३० रन र हिलिसा गुरुङले २३ रन बनाए पनि टोलीलाई जिताउन सकेनन्।
बलिङतर्फ सुदूरपश्चिमका कविता कुँवर र करिष्मा थापाले २/२ र रितु कनौजिया र आशिका महराले १/१ विकेट लिए। रितु प्लेयर अफ द म्याच भइन्।
हारसँगै बागमती प्रतियोगिताबाट बाहिरिएको छ। फाइनलमा पुगेको सुदूरपश्चिमले एपिएफसँग फाइनलमा प्रतिष्पर्धा गर्नेछ।
यसअघि आजै भएको सुपर ४ को अर्को खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई ६९ रनले पराजित गर्दै फाइनलमा पुगेको हो।
फाइनल खेल शनिवार विहान १० बजे हुनेछ।
यही माघ १ गते शुरु भएको प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको थियो। राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रमअनुसार नेपाल क्रिकेट सङ्घको आयोजना र सुदूरपश्चिम प्रदेश क्रिकेट सङ्घको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन भइरहेको छ।
प्रतियोगिताको उपाधि विजेताले नगद ५ लाख रुपैयाँ, उपविजेताले नगद ३ लाख रुपैयाँ, प्लेयर अफ द सिरिजलाई नगद ५० हजार रुपैयाँ, बेस्ट ब्याटर र बेस्ट बलरले जनही नगद २५/२५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।