|

काठमाडौं : नेपाल पत्रकार महासंघको आइतबारदेखि सुरु हुने महाधिवेशनमा अध्यक्षका उम्मेदवारले एउटै मञ्चबाट आफ्नो उम्मेदवारीको औचित्यमाथि बहस गरे।

अनलाइन पत्रकार संघले शनिबार गरेको अन्तर्क्रियामा अध्यक्षका प्रत्यासीहरूले सदस्यता शुद्धिकरण, महासंघको निर्वाचन प्रणाली र एसोसिएट संस्थाहरूसँगको सम्बन्ध लगायतका विषयमा आआफ्नो धारणा राखे।

अध्यक्षका प्रत्यासी तीर्थ कोइरालाले पत्रकारलाई पत्रकारिताबाटै जिविकोपार्जन हुन सक्ने वातावरण बनाए महासंघको सदस्यता शुद्धिकरण प्रभावकारी हुन सक्ने धारणा राखे। यसको लागि महासंघले पत्रकारको क्षमता बढाउन पहल गर्नुपर्ने कोइरालाको भनाइ छ।

अर्का प्रत्यासी गोविन्द आचार्यले महासंघको सदस्य शुद्धिकरणको लागि प्रत्यक्ष निर्वाचन प्रणालीमा जानुपर्ने विकल्प सुझाए। महासंघको नयाँ सदस्यता दिँदा वा पुरानो सदस्यता नवीकरणको लागि सार्वजनिक सुनुवाइ गरेर सो व्यक्ति अहिले पत्रकारितामा छ/छैन भन्ने यकिन गर्ने अर्को विकल्पमा जान सकिने पनि उनको भनाइ छ।

अध्यक्ष पदका अर्का प्रत्यासी उजिर मगरले महासंघमा आफू जानुको पहिलो उद्देश्य सदस्यता शुद्धिकरण नै भएपनि त्यही काम गर्न नसकेको स्वीकार गरे। आफूले महासंघको महासचिवको रुपमा अन्य काममा सफलता पाए पनि सदस्यता शुद्धिकरणमा आफू २० प्रतिशत मात्रै सफल भएको मगरको भनाइ छ। निर्वाचनको बेलामा आएर सदस्यता शुद्धिकरणको कुरा उठाउनका लागि मात्रै उठाइएको मगरको टिप्पणी छ।

अध्यक्ष पदका उम्मेदवार आचार्यले महासंघको निर्वाचन प्रणालीमा सुधार गरेर प्रत्यक्ष निर्वाचन प्रणालीमा जानुपर्ने बताए। अर्का प्रत्यासी मगरले आफू पनि प्रत्यक्ष निर्वाचन प्रणालीको पक्षमा रहेको भन्दै महासंघलाई अब संघीय संरचनामा लानुपर्ने धारणा राखे।

अर्का प्रत्यासी कोइरालाले निर्वाचन प्रणालीको विषयमा अहिले नै टुंगोमा पुग्नुभन्दा यसको बारेमा अध्ययन जरुरी भएको बताए। निर्वाचन प्रणालीमा पार्षद प्रक्रिया अबलम्बन गर्नुका पछाडि कुनै कारण भएको हुन सक्ने भन्दै उनले किन यस्तो गरिएको थियो भन्ने जानकारी पाएपछि मात्रै प्रत्यक्षमा जाने वा अहिलेकै व्यवस्थामा रहने भन्ने निर्क्यौल गर्नु उपयुक्त हुने बताए।

महासंघमा एसोसिएट संस्थालाई ओझेलमा पारिन नहुने र एसोसिएटले छोडे महासंघ महासंघको रुपमा नरहने भन्दै अध्यक्ष पदका तीनै जना प्रत्यासीले महासंघमा एसोसिएटको सहभागितालाई थप महत्व दिनुपर्ने बताए। यस्तै अध्यक्ष पदका तीनै जना प्रत्यासीले महासंघमा राजनीति हावी भएको स्वीकार गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.