साउनदेखि कार्तिकसम्म ३६ करोड भुक्तानी
साउनदेखि कार्तिकसम्म ३६ करोड भुक्तानी
काठमाडौँ : सरकारले कृषि तथा पशुपन्छी बीमा प्रिमियममा अनुदान दिन सुरु गरेयता प्रत्येक वर्ष कृषि तथा पशुपन्छी बीमामा आबद्ध किसानको संख्या बढेको छ।
नेपाल बीमा प्राधिकरणका निर्देशक सुशील देव सुवेदी पशु धन बीमाको तुलनामा निकै सानो परिमाणमा भए पनि कृषि बीमातर्फ किसानको आकर्षण बढ्दो अवस्थामा रहेको बताउँछन्। ‘पशुपन्छी बीमा धेरै राम्रो मानिन्छ। तुलनात्मक रुपमा एकदमै सानो पोषणमा रहे पनि कृषि बीमातर्फ पनि किसानको आबद्धता बढिरहेको छ’, उनले भने।
सरकारले अनुदान दिन थालेपछि बीमा कम्पनीहरूलाई केही राहत मिले पनि समस्या पूर्ण रुपमा समाधान भइ नसकेको प्रवक्तासमेत रहेका सुवेदीले बताए।
‘सरकारले पर्याप्त पैसा नछुट्याउने, समयमा नदिँदा, बीमा कम्पनीहरूले किसानलाई पनि समयमै बीमा भुक्तानी गर्न नसक्ने समस्या पहिलेदेखि नै छ', उनले थपे, 'यद्यपि पहिले भन्दा सुध्रिएको छ।’
सरकारले उपलब्ध गराउने अनुदान पशुपन्छीतर्फ भन्दा कृषितर्फ कम छ। बीमा गराउनेहरू पनि कृषिमा भन्दा पशु धनमा धेरै छन्।
बीमाङ्क रकम
सरकारले आर्थिक वर्ष २०७०/७१ मा अनुदान उपलब्ध गराउन सुरु गरेको थियो। त्यस वर्ष कृषि तथा पशुपन्छी बीमाअन्तर्गत करिब ६२ करोड ५४ लाख रूपैँया बराबरको जोखिम रक्षाबरण भएको नेपाल बीमा प्राधिकरणले उल्लेख गरेको छ।
प्राधिकरणका सूचना अधिकारी (उप–निर्देशक) निर्मल अधिकारीका अनुसार, आव २०७९/८० मा करिब ५१ अर्ब बीमाङ्क रकम रहेकोमा कृषितर्फ करिब ४ अर्ब ८४ करोड, पशुपन्छीतर्फ ४६ अर्ब ३० करोड रहेको छ। बीमा शुल्क कृषिमा २९ करोड र पशुपन्छीतर्फ करिब २ अर्ब गरी कुल २ अर्ब २९ करोड रहेको छ।
यस्तैगरी आव २०८०/८१ मा विमाङ्क रकम ४२ अर्ब १३ करोड ५४ लाख रहेकोमा कृषितर्फ ६ अर्ब ६० करोड र पशुपन्छीतर्फ ३५ अर्ब ५४ करोड थियो। यस अवधिमा कृषितर्फ ४२ करोड र पशुपन्छीतर्फ करिब १ अर्ब ६० करोड गरी कुल २ अर्ब २ करोड बीमा शुल्क रहेको अधिकारीले जानकारी दिए।
चालु आव २०८१/८२ को कार्तिकसम्मको बीमाङ्क रकम १४ अर्ब रहेको अधिकारीले बताए। कुल बीमा लेख संख्या ६१ हजार जारी भई १४ अर्ब रुपैयाँ बराबरको जोखिम रक्षाबरण भएको प्राधिकरणको विवरणमा उल्लेख छ। यस अवधिमा कृषि तर्फको ७ करोड र पशुपन्छी तर्फ ५९ करोड गरी कुल ६६ करोड बीमा शुल्क रहेको छ।
सरकारी अनुदान
आव २०७०/७१ मा कुल अनुदान रकम करिब १ करोड ७० लाख थियो। उक्त रकम बढेर आव २०७९/८० मा कृषितर्फ २२ करोड र पशुपन्छीतर्फ १ अर्ब ६२ करोड गरी कुल १ अर्ब ८४ करोड पुगेको थियो।
गत आवमा सरकारले कृषि तथा पशुपन्छी बीमा अनुदानअन्तर्गत १ अर्ब ६१ करोड (कृषितर्फ ३३ करोड र पशुपन्छीतर्फ १ अर्ब २८ करोड) रुपैयाँ बराबरको अनुदान उपलब्ध गराएको थियो।
चालु आव २०८१/८२ को साउनदेखि कार्तिकसम्म सरकारी अनुदान कृषिमा ५ करोड र पशुपन्छीका लागि ४७ करोड गरी कुल ५३ करोड रूपैँया रहेको छ।
बीमा भुक्तानी
कृषि तथा पशुपन्छी बीमाअन्तर्गत आव २०७९/८० मा करिब १ अर्ब ७३ करोड रूपैँया बीमा कम्पनीहरूले कृषकलाई भुक्तानी दिएका थिए।
गत वर्ष १ अर्ब ५८ करोड भुक्तानी गरिएको बीमा दावीमध्ये कृषि बीमा २४ करोड मात्र रहेको छ। पशुपन्छीतर्फ १ अर्ब ३३ करोड रूपैयाँ कृषकलाई भुक्तानी गरिएको छ।
सरकारबाट समयमै बीमा अनुदान प्राप्त नभएको भन्दै बीमा कम्पनीहरूले गत चैत १ देखि जेठ १७ सम्म अनुदानको कृषि तथा पशुपन्छी बीमा स्थगन गरेपछि चालु आवमा कृषि तथा पशुपन्छी बीमा घटेको छ।
बीमा कम्पनीहरूले चालु आवको कार्तिकसम्म कृषि बीमा ३ करोड र पशुधन बीमा ३३ करोड गरी ३६ करोड रूपैयाँ भुक्तानी गरेका छन्।
जारी बीमालेख
नेपाल बीमा प्राधिकरणबाट कृषि तथा पशुपन्छी तथा जडिबुटी बीमाअन्तर्गत कृषि बालीतर्फ खाद्यान्न बाली, दलहन बाली, तरकारी खेती, फलफूल खेतीलगायत २१ वटा बीमा लेख तयार भई बीमा कम्पनीबाट जारी भएका छन्।
पशुपन्छी तथा माछातर्फ पशुधन, बाख्रा, पन्छी तथा माछा पालनका ७ वटा बीमालेख जारी भएका प्राधिकरणले जनाएको छ । यस्तैगरी जडिबुटीतर्फ टिमुर र मेन्थाको बीमा लेख जारी भएको छ।
बीमा कम्पनीले जारी गरेको कुल बीमालेखमा कृषि बालीको हिस्सा ६.२४ प्रतिशत रहेको छ भने पशुपन्छी तथा माछाको हिस्सा ९३.७६ प्रतिशत रहेको छ।
विपद्बाट क्षतिको दावी
गत असोजमा आएको अविरल वर्षाका कारण भएको क्षतिमा कृषि बाली बीमातर्फ ३ हजार ५ सय २९ वटा बीमा दावी परेकोमा १ हजार २ सय १५ वटा भुक्तान भएका थिए।
१२ अर्ब २६ करोड रूपैँयाभन्दा बढी दावी गरिएकोमा ७८ करोड ९३ लाख रूपैँया भुक्तानी गरिएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ।
सबैभन्दा धेरै बागमती प्रदेशमा १० अर्ब ८९ करोड रूपैँया बढीको बीमा दावी गरिएकोमा बीमा कम्पनीहरूले ७४ करोड ९८ लाख भुक्तानी गरेका प्राधिकरणले उल्लेख गरेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।