ललितपुर : नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान राष्ट्रिय चुनौतीहरू राजनीतिक अस्थिरताका कारण सिर्जना भएको बताएका छन्।
नेकपा एमाले ललितपुर जिल्ला कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै पोखरेलले पार्टीका सबै कमिटीहरूलाई सुद्धृढ गराउने उदेश्यअनुरूप जरा केन्द्रित अभियान सुरू गरिएको बताए।
यो अभियानले सबै तहका पार्टी कार्यकर्ता र जनतालाई पार्टीसँग जोड्न मद्दत पुर्याउने बताए। एमाले निर्णायक शक्तिका रूपमा स्थापित हुन २०८४ सालमा एमालेले बहुमत ल्याउनुपर्ने बताउँदै उनले त्यसका निम्ति जरा केन्द्रित अभियान फलदायी हुने बताए।
एमालेले बहुमत ल्याए एमालेकै नीति राज्यको नीति हुने र यसले एमालेको जनताको बहुदलीय जनबाद स्थापित हुने तर्क गरे।
उनले जनमत वामपन्थी भए पनि सबल संगठनको अभाव हुँदा पार्टीले सोचेअनुरूप परिणाम ल्याउन नसकेको बताए। देशमा लगानीको वातावरण बन्दै गएको बताउँदै महासचिव पोखरेलले नयाँ पुस्तालाई रचनात्मक कार्यक्रममार्फत पार्टीभित्र आकर्षण बढाउनुपर्ने उल्लेख गरे।
विस्तारित बैठकका क्रममा जिल्ला कमिटी प्रचार विभागले प्रकाशनमा ल्याएको सूर्य पत्रिका तथा संगठन डायरीको विमोचन गरिएको थियो।
जरा केन्द्रित अभियानकोसमेत शुभारम्भ गरिएको कार्यक्रममा सूर्य पत्रिका प्रकाशनमा योगदान दिने जिल्ला प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र न्यौपाने , प्रेस चौतारी ललितपुरका निवर्तमान अध्यक्ष बिएम आचार्य, वर्तमान अध्यक्ष नवीन लुइँटेल, दिलिप तिमल्सिना र समीर थापालाई एमाले महासचिव पोखरेलले प्रशंसा पत्रसहित सम्मान गरे।
तपाईंको ईमेल गोप्य राखिनेछ ।