इजिप्टले फेब्रुअरी २७ मा प्यालेस्टिनी मुद्दामा आपतकालीन अरब शिखर सम्मेलन आयोजना गर्ने भएको छ। इजिप्टको विदेश मन्त्रालयले प्यालेस्टिनी मुद्दा र गाजा पट्टीसम्बन्धी पछिल्लो घटनाक्रमलाई सम्बोधन गर्न कायरोले फेब्रुअरी २७ मा आपतकालीन अरब शिखर सम्मेलन आयोजना गर्ने घोषणा गरेको हो।
इजिप्टले प्यालेस्टाइनलगायत अरब राष्ट्रहरूसँग उच्चस्तरीय परामर्श गरेपछि र अरब लिग (एएल) शिखर सम्मेलनको वर्तमान अध्यक्ष बहराइन र एएल सचिवालयसँग समन्वय गरेपछि शिखर सम्मेलन आयोजना गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाबाट प्यालेस्टिनीहरूलाई इजिप्ट र जोर्डनलगायत छिमेकी देशहरूमा स्थानान्तरण गर्ने सुझाव दिएको विवादास्पद टिप्पणीपछि यो घोषणा गरिएको हो। यो प्रश्तावलाई क्षेत्रीय र अन्तर्राष्ट्रिय रूपमा व्यापक रूपमा अस्वीकार गरिएको छ।
मंगलबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग वाशिंगटनमा संयुक्त पत्रकार सम्मेलनको क्रममा ट्रम्पले संयुक्त राज्य अमेरिकाले गाजाको नियन्त्रण लिने र प्यालेस्टिनी बासिन्दाहरूलाई स्थानान्तरण गरेपछि यसको पुनर्विकास गर्ने योजना बनाएको बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।