|

काठमाडौँ : हिजो(आइतवार) काठमाडौँको दक्षिणकाली नगरपालिका–३ फर्पिङमा जुनकिरी इङ्लिस स्कुलको बा १ क ५६६४ नम्बरको विद्यार्थी बोकेको बस दुर्घटना हुँदा घटनास्थलमै २ जनाको मृत्यु भयो।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार मृत्यु हुनेमा गाडीका चालक राधाकृष्ण मगर र ८ वर्षका बालक विपिन श्रेष्ठ छन्। घाइते भएका ३९ जना अस्पतालमा उपचाररत छन्। ती बसमा ५० जना विद्यार्थीहरू सवार थिए।

२०८१ साउन १४ गते पोखराको राम्दीबाट विद्यार्थी लिएर पोखरा–१७ बिरौटामा रहेको एलपी देवकोटा मेमोरियल इङलिस स्कुल जाँदै गर्दा ग १ क ६२१९ नम्बरको स्कुल बस पोखरा महानगरपालिका–२१ फुस्रेखोलाको घुम्तीमा दुर्घटना भयो। दुर्घटनामा सोही विद्यालयकी कर्मचारी ३३ वर्षीया आरती विक र उनकै छोरा अन्दाजी पाँच वर्षीय प्रिन्स विकको मृत्यु भयो।

यसरी स्कुल बस दुर्घटना हुँदा अकालमै विद्यार्थीहरू अस्ताएको यी दुई प्रतिनिधिमूलक घटना मात्रै हुन्। पछिल्लो समय स्कुल बस दुर्घटना बढ्दो छ। जसकारण भविष्य कोर्नका लागि विद्यालय जाँदै गर्दा बीच बाटोमै मरण भइरहेको छ। यता अभिभावकहरूले आफ्नो सन्तान गुमाइरहेका छन्। 

गत साउन २४ गते बाँकेको कोहलपुरबाट ढकेरीतर्फ जाँदै गरेको कोहलपुर नगरपालिका–१२ स्थित ज्ञानकुञ्ज बोर्डिङ स्कुलको ना ४ ख ४५७० नम्बरको स्कुल बसले ढकेरी पुल नजिकै बाख्रागोठालालाई ठक्कर दिँदा एकजनाको मृत्यु भयो।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बसले ठक्कर दिँदा राप्ती सोनारी गाउँपालिका–९ का २६ वर्षीय गोविन्द वलीको घटनास्थलमै मृत्यु भयो। बसले ठक्कर दिँदा उनीसँगै १३ वटा खसीबाख्रा मरे भने अन्य केही खसीबाख्रा घाइते भए। 

किन भइरहेको छ स्कुल बस दुर्घटना?

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता शेखर खनाल हिजो दक्षिणकालीमा भएको स्कुल बस दुर्घटना कारण अझै यकिन खुल्न नसकेको बताउँछन्। ब्रेकफेल भएर दुर्घटना भएको हुनसक्ने उनको अनुमान छ। ‘दुर्घटना कारण अझै खुलेको छैन, किन भने चालककै मृत्यु भयो,’उनले थाहाखबरसँग भने,‘हामीले चाहिँ ब्रेकफेल भएर दुर्घटना भयो की भन्ने अनुमान गरेका छौँ, यस विषयमा अनुसन्धान भइरहेको छ।’

उनले पनि पछिल्लो समय अन्य सवारीसाधनसँगै स्कुल बस दुर्घटना बढिरहेको अनुमान गरेका छन्। यसको कारणबारे उनी भन्छन्,‘अधिकांश निजी र सामुदायिक स्कुलका आफ्नै बस छैन, त्यसैले बढी निजी स्कुलले बस भाडामा लिएर बिहान विद्यार्थी बालबालिकाहरू पुर्‍याउने र बेलुका ल्याउने गर्दा रहेछन्, त्यसो हुँदा छिटो स्कुल पुर्‍याएर आफ्नै टिपको काम गर्ने भन्ने चालहकलाई हतारो हुँदोरहेछ अनि तीव्र गतिमा बस चलाउँदा दुर्घटना भएका छन्।’

उनले अरू कारणहरूमा चालकको लापरबाही,सडक अवस्थालगायत रहेको सुनाए। ‘विद्यालयले पुरानो गाडीहरू भाडामा लिन्छन्, त्यसो हुँदा ती सवारीसाधनमा मेकानिकल समस्याहरूले पनि दुर्घटना भएको हुनसक्छ,’उनले भने।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता संजयबहादुर राउत पछिल्लो समय बढी स्कुल बसका चालकहरू मापसे गरेर चलाउने गरेको पाइएको र त्यसकारण पनि स्कुल बस दुर्घटना भएको बताउँछन्। ‘चेकिङ गर्दा आजकल स्कुल चालकहरूमा मापसे गरेको भेटिन्छ,’उनले थाहाखबरसँग भने,‘यसले पनि दुर्घटना हुन्छ, अर्को ओभरस्पिडले पनि दुर्घटना भएको छ।’

स्कुल प्रशासनको पनि यसमा ठूलो कमजोरी रहेको उनले सुनाए। ‘शिक्षकहरू भनेको त पढेलेखेको मान्छे होनी तर तीनै स्कुलले सस्तोमा भाडामा गाडी लिने, किन्ने र विद्यार्थीहरूलाई आउजाउ गराउने देखियो, चालकलाई सचेत गराउनुपर्‍यो, तीव्र गतिमा बस चलाएका बेला नियन्त्रणमा लिएर भन्नुपर्‍यो, वेलावेला स्कुल बसको मर्मत गर्नुपर्‍यो तर यसतर्फ उहाँहरूको ध्यान पुगेको देखिएन,’उनले भने।

उनका अनुसार सिट क्षमताभन्दा बढी विद्यार्थीहरू पनि स्कुल बसले बोक्ने गरेका छन्। त्यस्ता स्कुल बसलाई ट्राफिक प्रहरीले कारबाही गर्ने गरेको उनको दावी छ। ‘मापसेमा परेकालाई पनि कारबाही गरिरहेका छौँ,’ उनले भने।

निर्देशिका छ, कार्यान्वयनमा छैन

विद्यार्थीहरूको आवतजावत सुरक्षित,आरामदायी र भरपर्दो बनाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सैद्धान्तिक सहमतिमा ‘स्कुल बस निर्देशिका २०७४’ जारी गरिएको छ। जसमा स्कुल बस चलेको अवस्थामा सबै आपतकालीन ढोका बन्द गरी विद्यार्थीको यात्रा सुरक्षित बनाउनुपर्ने व्यवस्था छ।

त्यस्तै, स्कुल बसको झ्यालमा ३ वटा होरिजेन्टल राउण्ड मेटल राउण्ड आल्मुनियम ट्युबको ग्रील दुवै साइडमा लगाउनुपर्ने र सहचालकको व्यवस्था हुनुपर्ने निर्देशिकामा उल्लेख छ तर यो निर्देशिकाले व्यवस्था गरेअनुसार अहिले निजी विद्यालयले बस चलाएका छैनन्। बसबाहेक अन्य सवारीसाधनमा सहचालकको व्यवस्था भएको पनि देखिँदैन।

बसको झ्याल बन्द नगरिएकै कारण विद्यार्थीको ज्यान समेत गइसकेको छ। ०७९ कात्तिक १६ गते लाजिम्पाटस्थित बेष्ट एलिमेन्ट्री मन्टेसरी स्कुलमा अध्ययनरत १३ वर्षीय आयुष्मान दाहालको झ्यालबाट टाउको बाहिर निकाल्दा ठोक्किएर निधन भयो।

बा १ क ४६४२ नम्बरको बसमा चढेका उनी सिटको झ्यालबाट टाउको बाहिर निकाल्दा गेट नजिकको रूखमा ठोकिन पुग्यो र उनको टाउकोमा गम्भीर चोट लागेपछि उनको उपचार क्रममा निधन भयो। प्रहरी वृत्त दरबारमार्गले अनुसन्धानबाट चालक र सहचालकले झ्यालको सिसा नलगाउनु ठूलो गल्ती देखिएको निष्कर्ष निकालेको थियो।

नियम अनुसार स्कुल बस प्रतिघण्टा अधिकतम ४० किलोमिटरभन्दा बढी गतिमा चलाउन पाइँदैन। उक्त निर्देशिकाको बुँदा ७ मा भनिएको छ, ‘स्कुल बस कुनै पनि किसिमले अधिकतम ४० किलोमिटर प्रतिघण्टाभन्दा बढी गतिमा चलाउन पाइने छैन।’ तर बस चालकले स्कुल बस तीव्र गतिमा चलाएकै कारण दुर्घटना भइरहेको छ।

पोखरामा भएको उक्त दुर्घटनामा ओभरस्पिड’का कारण दुर्घटना भएको बसमा सवार विद्यार्थीले त्यसबेला नै जानकारी दिएका थिए। सिट संख्या र बसको क्षमतामा १२ वर्षभन्दा मुनिका विद्यार्थीलाई बसको सिट क्षमताभन्दा डेढ गुणा विद्यार्थी राखेर ओसारपसार गर्न सकिने व्यवस्था छ।

१२ वर्षभन्दा माथिका विद्यार्थीहरूको हकमा सिट क्षमता बराबरको संख्यामा मात्र विद्यार्थी राख्नुपर्ने पनि उल्लेख छ। मापसे गरेर बस चलाउन पाइँदैन। तर अहिले यो निर्देशिका लत्याएर विद्यार्थीहरू राखिन्छ। मापसे गरेर बस चलाइन्छ। तैपनि सम्बन्धित निकायले न त अनुगमन गर्छ न कुनै कारबाही नै।

‘स्कुल व्यवस्थापनकै लापरबाहीले दुर्घटना भइरह्यो’ 

अभिभावकहरू आफ्ना सन्तान सुरक्षित र सहज हुने भएकाले स्कुल बस रोज्छन् र खर्च गरेर स्कुल पढाउन पठाउँछन् तर स्कुल बस नै सुरक्षित नभएपछि अभिभावकहरू चिन्तित छन्।

नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी पहिला त स्कुल व्यवस्थापनको लापरबाही, त्यसपछि चालकको लापरबाही र नियमक निकायको कमजोरीले यस्ता दुर्घटना हुने गरेको बताउँछन्।

‘हिजो भएको घटनामा हामी निकै दुखित छौँ, यस्ता दुर्घटना बढिरहेको छ, यसलाई सुरक्षित बनाउन सरकारले निर्देशिका ल्यायो, स्कुल चालक र सहचालकलाई चिनिने गरी छुट्टै पोसाकको व्यवस्था गरियो तर त्यसको कार्यान्वयन भएन,’उनले भने।

उनका अनुसार स्कुल बसभित्र झनै दर्दनाक पीडा दिएर विद्यार्थीहरू ओसारपसार गरिन्छन्। ‘नियममा नपाउने व्यवस्था भएपनि अहिले बिहान हेर्‍यो भने मन्टेसरी,अन्य स्कुलका बसमा खाँदेर विद्यार्थीहरू लगेको देखिन्छ तर ट्राफिक प्रहरी होस् या अरू सम्बन्धित निकायलाई वास्ता छैन,’ उनले भने।

सुरक्षित ढंगले स्कुलसम्म पुर्‍याउनुपर्ने र ल्याउनुपर्ने स्कुल प्रशासन र चालकको ठूलो जिम्मेवारी रहेको उनले बताए।

‘बालबालिका संवेदनशील हुन, अरू नागरिक जस्तो हुँदैन, चञ्चले स्वभावका हुन्छन्, महत्त्व दिएर उनीहरूको स्कुलभित्र होस् या बाहिर होस् रेखदेख गरिनुपर्छ, यसका लागि मान्छे राख्नुपर्छ, सुरक्षामा कमी हुनुभएन, चालकलाई चेतना दिनुपर्छ,’उनले भने।

महासंघले पनि यस्ता घटना नदोहोर्‍याउन अनुगमन र ध्यानाकर्षण गराउने योजना बनाएको उनले सुनाए। ‘स्कुल बसमा के कस्तो अवस्था छ भनेर अभिभावकहरू पनि सचेत हुनुपर्छ, त्यहाँ कोच्याएको छ भने स्कुललाई भन्नु पर्‍यो,चुप बस्नु भएन, हामीले पनि अनुगमन गर्ने छौँ, चालक, स्कुललाई सचेतसँगै ध्यानाकर्षण गराउनेदेखि कारबाही गराउने अवस्थासम्म पुर्‍याउने छौँ, केन्द्र, प्रदेश, स्थानीय तह, प्रहरीहरू पनि यसमा केन्द्रित हुनुपर्छ,’उनले भने।

प्याब्सन भन्छ : स्कुल र बस चालकलाई निर्देशन दिइरहेका छौँ

यसरी स्कुल बस दुर्घटना भइरहँदा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) भने समय समयमा सबै स्कुल प्रशासनलाई सुरक्षित ढंगले स्कुल बस चलाउन निर्देशन दिइरहेको दावी गर्दै आएको छ।

प्याब्सनका केन्द्रीय अध्यक्ष डिके ढुंगाना भन्छन्,‘समय समयमा सबै स्कुललाई सुरक्षित ढंगले विद्यार्थी ओसारपसार गर्न निर्देशन दिइरहेका छौँ, यो विद्यालयसँग विद्यार्थीको जोडिएको सुरक्षाको संवेदनशील विषय हो, त्यसैले चालकहरूलाई सचेतना दिइरहेका छौँ।’

उनले यसमा आफूहरू सचेत र संवेदनशील हुँदा पनि बेलाबखत यस्ता दु:खद घटना घट्ने गरेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.