काठमाडौँ : जमलस्थित राष्ट्रिय नाचघरमा जारी नेपाल–भारत रंग महोत्सवअन्तर्गत आज भारतीय नाटक ‘माई री मैं का से कहूँ’ प्रदर्शन भएको छ।
आज साँझ ५ बजे प्रदर्शन गरिएको नाटक विजय दन देथाले लेखेका हुन् भने निर्देशन अजय कुमारले गरेका हुन्। नाटक प्रदर्शनका लागि हिजो २८ जनाको टोली भारतबाट काठमाडौँ आइपुगेको थियो।
महोत्सवअन्तर्गत भोलि बेलुकी ५ बजे भारतीय लेखक मिथिलेश्वरले लेखेको र विभांशु वैभव निर्देशित नाटक ‘बाबूजी’ मञ्चन हुनेछ।
आयोजक नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका अनुसार महोत्सवअन्तर्गत राष्ट्रिय नाचघरमा नै पर्सि (बुधवार) बेलुकी ५ बजे अजय शुक्लाको लेखन र चित्तरञ्जन त्रिपाठीको निर्देशन रहेको ‘ताजमहल का टेन्डर’ प्रदर्शन हुनेछ।
माघ २३ गते शुरु भएको महोत्सवको आज चौथो दिन हो। यसअघि ३ नेपाली नाटक प्रदर्शन गरिएको थियो।
माघ २३ मा सिके लालको लेखन रहेको नाटक ‘गच्छामी’ को निर्देशन सुनील पोखरेलले गरेका थिए भने माघ २४ गते नयनराज पाण्डेको लेखन रहेको नाटक ‘कथा कस्तुरी’को निर्देशन दीया मास्केले गरेकी थिइन्।
तेस्रो दिन माघ २७ गते आइतवार संयोग गुरागाईंले लेखेको नाटक ‘जुन परीकथा मात्र होइन’ नम्रता केसीको निर्देशनमा नाचघरमा प्रदर्शन भएको थियो।
नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानले भारतको राष्ट्रिय नाट्य विद्यालयसँगको सहकार्यमा महोत्सव आयोजना गरेको हो। महोत्सवकै लागि नयाँ दिल्लीस्थित राष्ट्रिय नाट्य विद्यालयका निर्देशक राजेशकुमार सिंह आज काठमाडौँ आइपुगेको संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानकी कुलपति निशा शर्माले बताइन्।
महोत्सवअन्तर्गत तेस्रो दिन हिजो (आइतवार) ‘जूनः परिकथा मात्र होइन’ नेपाली नाटक प्रदर्शन भएको थियो। संयोग गुरागाईंको लेखन रहेको नाटकलाई नम्रता के.सी.ले निर्देशन गरेकी थिइन्। नाटकमा विश्वविख्यात बाल लोककथा सिन्ड्रेलाको पुनर्कथनको प्रयास गरिएको थियो।
नाटकमा वाल्यावस्थामा नै आमा गुमाएकी जूनले बुबा, सौतेनी आमा र दुई दिदीबहिनीका नितान्त फरक चाहना र आकांक्षाले परिवारमा निम्त्याउने असहजता र चुनौतीबीच बुद्धिमत्ताले आफूले रोजेको जीवन बाँच्न मुख्य पात्रले गरेको सङ्घर्ष देखाइएको थियो।
नाटकका लेखक गुरागाईंले परीकथाका रुपमा सुनेका कथाको समीक्षा गर्ने र मानवीय दृष्टिकोणका ती कथाको पुनर्कथन नाटकमा गर्न खोजेको बताए।
निर्देशक नम्रता केसीका अनुसार नाटकले समाजलाई अझ समावेशी र समानताउन्मुख बनाउने, समकालीन कथा कथनको परम्परा र महिला पात्रप्रतिका हाम्रा धारणा सृमद्ध बनाउन सघाउँछ। एस्थेटिक डान्स स्टुडियो काठमाडौँको प्रस्तुति रहेको नाटक कथक नृत्य शैलीमा प्रस्तुत गरिएको थियो।
नाटकमा मृणल श्रेष्ठ, प्रणेश श्रेष्ठ, मनिषा बस्नेत, मेलिशा घिमिरे, दिपिका खतिवडा, गणेश श्रेष्ठ, रोज महर्जन, सरस्वती थापा, रिज्वन थापा, रिजन केसी, अनमी बोहोरा, प्रियंका चम्लागाईँ, दिलशा गुरुङ, सुजाता दास, दीक्षा थापा, मनिषा श्रेष्ठ, दृष्टि दाहाल र सरु जोशीले विभिन्न भूमिकामा चरित्र निर्वाह गरेका थिए।
नाटक प्रदर्शनपछि लेखक, निर्देशक र कलाकारहरुलाई प्रज्ञा-प्रतिष्ठानकी कुलपति निशा शर्मा पोखरेल, उपकुलपति शम्भू राई, सदस्यसचिव कुश्मा महरा र राष्ट्रिय नाट्य विद्यालय नयाँ दिल्ली भारतका महोत्सव संयोजक दौलत भोइटले सम्मान एवम् मायाको चिनो प्रदान गरेका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।