|

कास्की :  आख्यानकार डा. देवी क्षेत्री दुलालद्वारा लेखिएको ‘चिफ कर्णेल गजराजसिंह थापा’ ऐतिहासिक उपन्यास सार्वजनिक भएको छ। सोमबार पोखरास्थित राष्ट्रिय मा.विमा उक्त उपन्यास सार्वजनिक गरिएको हो। 

यो उपन्यास वि.सं. २०८१ कार्तिकमा लेखक स्वयंले प्रकाशन गरेका थिए।  इन्द्रेणी थिएटरद्वारा आयोजित उक्त सार्वजनिक कार्यक्रममा उपन्यासको विश्लेषण कृष्ण उदासीले गरेका थिए।  प्रा.डा. रामचन्द्र पोखरेलले उपन्यासको अवधारणा पत्र तयार गरी उपन्यासको ऐतिहासिक तथ्य र काल्पनिक स्थितिबारे विस्तृत विश्लेषण गरेका थिए।

उपन्यासमा श्री ३ जङ्गबहादुर राणाकी छोरी ज्वाइँ इलामका बडाहाकिम गजराजसिंह थापाको सत्कर्म, त्यसले तत्कालीन समाजमा पारेको प्रभाव र ‘चिफ कर्णेल गजराजसिंह थापा’को इलाम गौडाको उत्कट प्रेमभावलाई आख्यानको रूपमा प्रस्तुत गरिएको छ। उपन्यास सत्र खण्डमा संरचित छ।

 उपन्यासले गजराजसिंहले दार्जिलिङबाट चियाका विरुवा ल्याई वि.सं. १९२० मा इलाममा चिया बगान बनाएको, वि.सं. १९३५ मा बेलायतबाट कारखानाका सामान ल्याएर इलाममा चिया कारखाना स्थापना गरेको, वि.सं. १९४० मा सोक्तिममा चिया प्रशोधन कारखाना स्थापना गरेको, १९३५ र १९४० मा स्थापना भएका कारखानाबाट चिया प्रशोधन भएको ऐतिहासिक तथ्यलाई केलाएको छ। 

पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकालले लोककवि अलि मियाँको गीतको अंश पनि सुनाएका थिए। प्रमुख अतिथि सरुभक्तले आफ्नो बाल्यकाल यही राष्ट्रिय मा.वि. मा अध्ययन गरी बिताएको पनि सम्झिए । कार्यक्रमको सञ्चालन रामहरि अधिकारीले गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.